१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

नेपालमा बुबाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी

नेपालमा बुबाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी
अ अ+ अ-

काठमाडौँ । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा. क्याट्रिन रोल्पा जाने तयारीमा हुनुहुन्थ्यो ।

यसपालि पनि उहाँको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उहाँ बर्सेनि नेपाल आउनुुहुन्छ, यहाँका कुनाकन्दरामा पुग्नुहुन्छ, स्वास्थ्य शिविर राख्नुहुन्छ र विशेषगरी उहाँको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिनुहुन्छ ।

नेपाल कति पटक आउनुभयो ? हाम्रो प्रश्नमा उहाँको जवाफ थियो, “गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला । यस वर्ष उहाँ नेपाल आएको यो तेस्रो पटक हो । पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु ।”

चार वर्षकी हुँदा सन् १९५२ मा उहाँ नेपाल आउनुभएको रहेछ, बुबासँग “तर धेरै सम्झना छैन, चार वर्षकि थिएँ । यति सम्झिन्छु कि त्यतिबेला नेपालमा विमानस्थल थिएन । कताकति मात्र शौचालय थिए, । बडो कठिन थियो यहाँको यातायात र नेपालीको जीवनशैली पनि ।”

उहाँका बुबा अर्थात् टोनी हेगन । नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला । टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रुपमा सन् १९५० मा यहाँ आउनुभएको थियो । नेपालमा विमानस्थल नभएकाले उहाँ कलकत्तासम्म जहाजमा आएर यहाँ आउनुभएको रहेछ । त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उहाँले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाउनुभएको छ । प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिनुहुने टोनीले औषत नेपालीले भन्दा धेरै नेपाल घुम्नुभएको छ । उहाँलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन ।

सन् १९५० मा स्वीस् सहयोग परियोजनाका क्रममा नेपाल आएका उहाँ नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहनुभयो । नेपालको करिब १४ हजार किलोमिटर पैदलैयात्रा गर्नुभएका उहाँले नेपाल सम्भवत सबै पर्यटकभन्दा बढी पैदलै हिँड्नुभएको छ । नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उहाँले नेपाल बाहिरसम्म पु-याइदिनुभएको छ ।

नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उहाँले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ । उहाँले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ । उहाँका यिनै योगदानका कारण नेपालले उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो ।

आधा जति बुबाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफैँ ले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउनुहुन्छ । हाडजोर्नीकी सर्जन उहाँले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगेन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ । “बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ”, क्याटरिनले भन्नुभयो । उहाँ नेपालका कैयौँ जिल्लामा स्वास्थ्य शिविर राख्ने, असहाय तथा स्वास्थ्योपचारको पहुँचसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउने गर्नुहुन्छ ।

नेपालका लागि बुबाले गरेका कामलाई पूर्णता दिने आफ्नो काम ठान्नुहुन्छ डा क्याट्रिन । “नेपालका बारेमा बुबाका धेरै अनुसन्धान छन् तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ । फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु । टोनीले नेपालमा खिचेका तस्बीरको प्रदर्शनी फाउन्डेसनले गत वर्ष नेपालमा गरेको थियो । नेपालमा उहाँका कामकारबाहीलाई उजागर गर्न यतिले मात्र पुग्दैन भन्ने लाग्छ । उहाँका सङ्ग्रह अध्ययन गर्दा नेपालको पर्यटकीय विकासका लागि भावी दिनमा धेरै सहयोग पुग्ने मलाई लाग्छ”, उहाँ भन्नुहुन्छ ।

नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्बीर एवं दृश्यहरु प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ । क्याट्रिन भन्नुहुन्छ, “महत्वपूर्ण तस्बरीहरु छन् नेपालको हिमाली तथा अन्य क्षेत्रका । ग्ल्यासिएरहरु पग्लिँदै गरेका कैयौँ महत्वपूर्ण तस्बीरहरु उहाँको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ । उबेलाका कतिपय हिमाली टाकुरा, हिमनदी तथा हिमताल अहिले पग्लिएर अर्कै स्वरुपमा परिवर्तन आएको पनि हुनसक्छ । यसबाट हिमालयन जैविक विविधताको अध्ययनमा सहयोग पुग्न सक्छ । यस्तै पक्षहरुलाई उजागर गर्ने काम हामीले गरिरहेका छौँ । उहाँले लिएका नेपालका विविध क्षेत्र र शैलीका तस्बीरहरुको प्रदर्शनी पनि नेपालमा गरेका थियौँ । यसबाट पनि नेपालका अनुसन्धानदातालाई उहिलेको नेपाल अध्ययनमा सहयोग पुग्नसक्छ ।”

बुबाजस्तै उहाँले पनि नेपालका अधिकांश पदमात्रामा यात्रा गर्नुभएको छ । नेपालको हिमाल, पहाड र तराईकै ज्ञान छ उहाँलाई । “पदयात्रा भनेको हिँडाइ मात्र नभएर त्यस क्षेत्रको समग्र अध्ययन हो । कुनै पनि पदमार्गबाट हामी हिँड्याँै भने हामीले त्यस क्षेत्रको खेतीबाली, मानिसको जीवनशैली तथा त्यहाँको बस्ती र उनीहरुका परम्पराको पनि अध्ययन गर्नसक्छौँ । साथै मानिसको खानपान र उनीहरुका दैनिकीको बारेमा अनुुसन्धान निकै चाखलाग्दो विषय हो । नेपालका विविध क्षेत्रको भ्रमणका क्रममा मलाई त यस्ता विषयको अनुसन्धान गर्न मनपर्छ”, उहाँ भन्नुहुन्छ ।

टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे । बुबासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उहाँले नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकापसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैँ प्रशंसा गर्ने गर्नुहुन्थ्यो भन्नुहुन्छ । क्याट्रिन भन्नुहुन्छ, त्यसैले मलाई पनि नेपालको यो पक्षको अध्ययन खुब मन पर्छ । म पदयात्रामा जाँदा होस् या स्वास्थ्य शिविरका क्रममा नेपालाका विभिन्न जिल्लामा जाँदा यस विषयमा जान्न मनपर्छ ।

उहाँ चिकित्सक भएर होला उहाँलाई अर्गानिक कृषि उत्पादन मनपर्छ । स्वीट्जरल्याण्ड आफ्नो घरमा पनि आफू अर्गानिक तरकारी खेती गर्ने बताउनुहुन्छ । अर्गानिक आलु उत्पादन फार्म रहेको उहाँ बताउनुहुन्छ । समय मिल्यो कि आफूलाई खेतीको काम मनपर्ने बताउने उहाँले धेरै उत्पादनका लागि विश्वमै पछिल्लो समयमा प्रयोग गरिने विषादीका कारण विविध खालका रोगको प्रकोप बढेकाले मौलिक र अर्गानिक उत्पादनमा सबैले ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । नेपालका विभिन्न क्षेत्रमा पदयात्रामा जाँदा पनि उहाँले त्यस क्षेत्रका अर्गानिक उत्पादन किन्ने गर्नुहुन्छ ।

“पदयात्रा शारीरिक तन्दुरुस्ती, नयाँ ठाउँको परिचय र मनोञ्जन हो तर त्यतिमात्र होइन पदयात्रा । पदयात्राभित्र लुकेको मेरो एउटा उद्देश्य त्यहाँका अर्गानिक कृषिउपज खाने र आफूले किनेर पनि ल्याउने हो । ती उत्पादन मैले किनीदिन्छु र किसानलाई अर्गानिक खानाको महत्वका बारेमा पनि भनिदिन्छु । त्यसपछि म अर्को पटक त्यही ठाउँमा पुग्दा त्यहाँ धेरै उत्पादन गरेको पाउँछु, त्यो देखेर निकै खुसी लाग्छ”, क्याट्रिन भन्नुहुन्छ ।

नेपालका हिमाल पहाडका स्वच्छ ठाउँमा समेत प्लास्टिक फालेको देख्दा उहाँलाई साह्रै नराम्रो लाग्छ । पदयात्राका क्रममा पनि कतै प्लास्टिकका बोटल, झोला आदि फालिएको देखिने बताउँदै उहाँले अर्गानिक उत्पादन गर्न सकिने माटोलाई प्लास्टिकले धेरै बिगार्नेहुँदा देशलाई प्लास्टिकमुक्त गराउनुपर्ने सुझाव दिनुहुन्छ ।

कुनै पदयात्रा होस् या पर्यटकीय क्षेत्र, त्यहाँका स्थानीयको संलग्नता होस र उनीहरुलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उहाँ चाहनुहुन्छ । “हुम्ला, मानसरोवरमा मैले एकपटक देखेँ कि विदेशी पर्यटक हेलिकप्टरमा आए र गए । स्थानीयले के पाए त ? यस्ता पर्यटक पुग्ने स्थानमा पूर्वाधार निर्माण होउन्, त्यहीँका स्थानीयको संलग्नता होस् र उनीहरुका स्थानीय उपज खपत हुन् । पर्यटनको दिगो विकास भनेको यही हो । स्थानीयको सहभागिता र उनीहरुले पाउन सक्ने लाभ बिना पर्यटनमात्र होइन कुनै पनि क्षेत्रको दिगो विकास सम्भव छैन । विकास त होला कुनै निश्चित समयावधिमा, तर त्यसको दिगोपना हुँदैन”, उहाँको भनाइ छ ।

नेपाल धेरै परिवर्तन भएको देख्दा आफूलाई निकै खुसी लाग्ने उहाँ बताउनुहुन्छ । पहिले बुबासँग नेपाल आउँदा देखेको नेपाल अहिले देख्दा अचम्म मान्नुहुन्छ उहाँ । “कति धेरै फरक भइसक्यो । उ बेला नेपालमा चर्पी थिएन, मलाई लाग्छ बनाउने चलन पनि थिएन होला । बालिका, महिला अहिले कति शिक्षित भइसके । राज्यका विभिन्न तथा महत्वपूर्ण निकायमा महिला पुगेका छन् । स्कूल कलेज गाउँगाउँमा छन् । सरसफाइ छ । बाटोघाटो पुगेको छ”, पचास वर्षअघिको नेपाल सम्झिँदै उहाँ भन्नुहुन्छ तर पनि कतिपय ग्रामीण क्षेत्रमा भने अझै पनि चेतनाको स्तरलाई बढाउनुपर्ने उहाँ महसुस गर्नुहुन्छ ।

तीन वर्षअघि दार्चुलाको घटना सम्झिँदै भन्नुयभो “एकजना चार वर्षीय बालकको खुट्टा पोलेको थियो र ठूलो घाउ थियो । मैले काठमाडौँ लैजान्छौँ, निःशुल्क उपचार पनि गर्छौंभन्दा पनि बुबाआमा र आफन्तले मानेनन् । घरायसी उपचारले नै ठीक हुन्छ भने । बालकको खुट्टा बिग्रिन्छभन्दा पनि मानेनन् । काठमाडौँ आउन जान टाढा हुने तथा घरमा गाईबस्तु हेर्ने मान्छे पनि कोही नहुने भनेर उनीहरु मानेनन् । यो घटनाले मलाई छोइरहन्छ । मानिसले आफ्नो स्वास्थ्यलाई महत्व दिउन् भन्ने लाग्छ ।”

आफ्नो जन्मघर स्वीट्जरल्याण्ड भए पनि बुबाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उहाँ बताउनुहुन्छ । हुन पनि उहाँ नेपाल जति अरु देश घुम्नुभएको छैन अनि टोनी हेगन फाउन्डेसनको कार्यक्रम पनि नेपालबाहेक अन्यत्र छैन । भन्नुहुन्छ “नेपाल त प्रकृतिले नै वरदानस्वरुप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन नयाँ लाग्छ ।” रासस