८ माघ २०८१, मंगलवार
,
Latest
आदिवासी, जनजाति समुदायका आदिकविहरुको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह आम्दानीको स्रोत बन्दै लप्सी प्रधानमन्त्री मोदी फेब्रुअरी ५ मा महाकुम्भमा जाने स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत माओवादी पदाधिकारी बैठक बस्दै पूर्वराष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई सबै राजनीतिक दलहरु मिलेर निर्माण क्षेत्रमा रहेका समस्याको समाधान खोज्न जरुरीः अध्यक्ष सिंह टेलिभिजनहरुको भ्युवरसिपका आधारमा विज्ञापन दिन बोर्डले थाल्यो तयारी दशौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय गन्तव्य बन्दै पामडाँडा



अ+ अ-

भरतपुर । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो ।

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ । मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ । मुग्लिनबाट त्यहाँ पुग्न बोलेरो जिप दैनिक सञ्चालनमा हुन्छन् भने मोटरसाइकलमार्फत पनि त्यहाँ पुग्न सकिन्छ ।

प्रशस्त सम्भावना बोकेको ठाउँ पामडाँडा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामना गाउँपालिका–५ का वडासदस्य तारा गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमशृङ्खलाको आकर्षक दृश्यसँगै यहाँबाट त्रिशूली नदीमाथि पामडाँडाबाट हेर्दा सिरकले ढाकेजस्तो, सिमलको भुवाजस्तो सेताम्मे कुहिरो देख्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ । कात्तिक, मङ्सिर, पुस र फागुनसम्मै पामडाँडाबाट तल कुहिरो देखिने उहाँले बताउनुभयो ।

“हिजोआज मध्याह्न १२ बजेसम्मै कुहिरो देखिन्छ”, उहाँले भन्नुभयो, “बिहानै सूर्योदय हेर्न र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौला घामले थप्ने सौन्दर्यले पामडाँडा बसिरहुँजस्तो लाग्ने भएको छ ।” यतिबेला यहाँ लटररम्म सुन्तला फलेका छन् । यसले पनि यहाँको दृश्य थप मनोरम बनाएको छ ।

यहाँबाट तीन किलोमिटरको यात्रामा इच्छाकामना मन्दिर पुग्न सकिने राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य यानबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार पामडाँडाबाट इच्छाकामना मन्दिरसँगै तनहुँको छिम्केश्वरी र गोरखाको मनकामना मन्दिर देख्न सकिन्छ । पामडाँडा नजिकै रहेको साठीमुरेमा होमस्टे छ । यहाँ पुग्नेका लागि १५–२० जना पाहुनालाई राख्न सक्ने क्षमता यहाँका घरवास९ होमस्टे०को व्यवस्था गरिएको छ ।

पामडाँडामा पनि गुरुङ समुदायको होमस्टे सञ्चालन गर्ने योजना बनाइएको छ । गुरुङ समुदायको खुलाल जातिमात्रै बसोबास गर्दै आएको पामडाँडामा गोरखाको सिरानचोक गाउँपालिका चित्रपामबाट पुर्खाहरू यहाँ आएर बसेको उहाँले बताउनुभयो । यहाँबाट नजिकै रहेको चेपाङ बस्ती पुगेर त्यहाँको रहनसहनबारे जानकारी लिन सकिन्छ । पामडाँडाको पर्यटन विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर काम गर्ने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । रासस