१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोज्नुभयो । तर केही पाउनु भएन । आफ्नै काम गर्न उहाँसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) हान्निनुभएको थियो ।

विदेशमा तीन वर्ष काम गरेर फर्किएका क्षेत्रीले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो बनाउने विन्ध्याबासिनी लघु उद्योग खोल्नुभएको छ । “विदेशमा पेट्रोलपम्पमा तीन वर्ष काम गरेँ, त्यहाँबाट फर्किएपछि स्वदेशमै उद्यम गर्ने सोच आयो”, उहाँले भन्नुभयो, “बुवा वन कार्यालयमा जागिरे हुनुहुन्थ्यो, उहाँकै सल्लाहअनुसार बेत, बाँसको काममा लागेँ ।”

भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा क्षेत्रीले तीन कठ्ठा जमिन भाडामा लिएर उद्योग खोल्नुभएको छ । वैदेशिक रोजगारीको मोह छाडेर उहाँ अहिले स्वदेशमै उद्यममा जम्नुभएको छ । वैदेशिक रोजगारीका क्रममा कमाएको करिब रु २० लाख लगानीबाट सुरु गरेको उद्योग उहाँको कमाइको मुख्य स्रोत बनेको छ ।

“सुरुमा एउटा कोठाबाट सुरु गरेको काम अहिले विस्तार भएको छ, सुरुमा आफ्नो रु २० लाख लगानी गरेका थियौँ”, उहाँ भन्नुहुन्छ, “अहिले बैंकबाट रु २६ लाख जति ऋण लिएका छौँ ।”

क्षेत्रीले आफूले स्वदेशमै मात्रै रोजगारी पाउनुभएको छैन, अरु १० जना पनि उद्योगमा रोजगारी दिनुभएको छ । बेत, बाँसको फर्निचर तथा कुचो बनाउने उद्यममा सक्रिय क्षेत्री स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा खुसी हुनुहुन्छ ।

“फर्निचर बनाउने मिस्त्री तथा कुचो बनाउने गरेर १० जनाले उद्योगमा रोजगार पाएका छन्, वार्षिक रु ३० लाखसम्मको कारोबार हुन्छ”, उहाँले भन्नुभयो, “स्वदेशमै काम गरेर परिवार पालिरहेको छुँ, विदेशमा परिश्रम बेच्नुभन्दा स्वदेशमै काम गर्नु राम्रो छ ।”

बेत, बाँसका फर्निचर तथा कुचोको माग धेरै आउने गरेको उहाँ बताउनुहुन्छ । सुदूरपश्चिमका नौवटै जिल्लामा आफ्नो उद्योगको उत्पादन ढुवानी हुने गरेको उहाँको भनाइ छ । “बजारमा माग बढी छ, हामी सुदूरपश्चिमका नौवटै जिल्लामा उत्पादित सामग्री पठाउँछौँ”, उहाँ भन्नुहुन्छ, “बेत कैलालीबाट ल्याउने गरेका छौँ भने अर्मिसो डडेल्धुरा, पाल्पा तथा झापाबाट ल्याउँछौँ ।”

कामको खोजीमा विदेशिनेलाई स्वदेशमै उद्यम गर्न क्षेत्रीको सुझाव छ । “विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ”, उहाँले भन्नुभयो, “त्यहाँ गर्ने मेहेनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।”

सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उहाँ बताउनुहुन्छ ।“लगानी नहुँदा बैंकबाट ऋण लिनुपर्छ, त्यसमा ब्याजदर चर्को हुनाले समस्या हुने गरेको छ”, क्षेत्रीले भन्नुभयो, “कम ब्याजमा ऋण पाइएमा युवा लगानी गरेर स्वदेशमै रोजगारीसँग जोडिन सक्थे ।” रासस