२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश: प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार



अ+ अ-

सुदूरपश्चिम । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित हुनुभएको छ । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता डिल्लीराज पन्त यही मङ्सिर ४ मा सम्पन्न चुनावमा प्रदेशको राजधानीसमेत रहेको कैलाली निर्वाचन क्षेत्र–५ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री नारदमुनी राना थारू हुनुहुन्थ्यो । विजयी पन्त यसअघिको निर्वाचनमा कैलाली–५ को (१)मा प्रत्यक्ष निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

एमालेबाट यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तारालामा तामाङ यसपटकको निर्वाचनमा कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का बिना मगर हुनुहुन्थ्यो । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेर निर्वाचनअघि पुनः एमालेमै फर्किनुभएको थियो । यसअघिको निर्वाचनमा तामाङ कञ्चनपुर–१ को प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

एकीकृत समाजवादीका नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि दोस्रोपटक कैलाली–४ को प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । सोडारी पाटी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेर समाजवादी संसदीय दलको नेता हुनुभएको थियो ।

सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल पनि दोस्रोपटक प्रदेशसभामा निर्वाचित हुनुभयो । एमाले पार्टी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका उहाँ कञ्चनपुर–३ को प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको हो । निवर्तमान प्रदेशसभा सदस्य एवं एकीकृत समाजवादीका नेता लालबहादुर खड्का, कञ्चनपुर र अमरबहादुर साउद कैलालीबाट यसपटक पराजित हुनुभयो ।

प्रदेशका उद्योग पर्यटन वन वतावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी दार्चुला जिल्लाको प्रदेशसभा सदस्यमा र सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य अक्कलबहादुर रावल अछामको प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुँदा सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य नन्दबहादुर साउदले कैलालीबाट पराजय व्यहोर्नुभयो ।

प्रदेशसभाका निर्वतमान सदस्य एमालेका पठानसिंह बोहोरा डडेलधुरा, लीलाधर भट्ट बैतडी, नेपालु चौधरी कैलाली यसपटकको निर्वाचनमा पराजित हुनुभयो । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, कांग्रेस नेता एवं सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा पराजित हुनुभयो ।

यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी यो पटकको चुनावमा कैलाली– १ को प्रदेशसभा सदस्यमा पराजित हुनुभयो । यस्तै यसअघिको निर्वाचनमा एमालेबाट कैलाली–२ को प्रदेशसभा निर्वाचित रतनबहादुर थापा यो चुनावमा पराजित हुनुभयो । एमाले परित्याग गरेर थापाले नागरिक उन्मुक्ति पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो ।

प्रत्यक्ष निर्वाचनतर्फको बाजुरा जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नतिजा आउन भने बाँकी छ । सुदूरपश्चिम प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रको प्रत्यक्ष निर्वाचनतर्फको नतिजा आइसकेको छ ।

प्रदेशसभा सदस्यका नयाँ अनुहार

सुदूरपश्चिम प्रदेशसभामा यो पटक नयाँ अनुहार निर्वाचित हुनुभएको छ । कांग्रेसबाट प्रदेशसभाको प्रत्यक्षमा निर्वाचित कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह बिष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट बिक्रमसिंह धामीसहित ११ नयाँ हुनुहुन्छ ।

यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका रमेश धामी कैलाली, खगराज भट्ट डडेलधुरा, शिवसिंह ओली डोटी, ओमविक्रम भाट कञ्चनपुर, भीम भण्डारी बझाङ र झपटबहादुर साउद अछाम नयाँ हुनुहुन्छ । सो पार्टीका प्रदेशसभामा आठ जना निर्वाचित हुनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट निर्वाचित रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच सबै नयाँ अनुहार हुन् । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुने वीरबहादुर थापा कञ्चनपुर, सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी नयाँ हुनुहुन्छ ।

स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका डा तारा जोशी डडेलधुरा पनि नयाँ हुनुहुन्छ । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ । रासस