१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरु नै भारतसँग मल किनेर कमिसन खान्छन्: प्रेम सुवाल



अ+ अ-

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताउनुभएको छ ।

शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताउनुभएको हो । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएका उहाँले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानून निर्माणमा आफू हरक्षण माग गरिरहने बताउनु भयो ।

उहाँले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताउनु भयो । उहाँले सरकारका मन्त्रीहरु नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाउनु भयो । उहाँले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद भनेको कानून बनाउने ठाउँ हो, यदी एउटा कानून राम्रो बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्छ । हाम्रै देशमा हाम्रो छोराछोरीलाई काम दिनुपर्छ भनेर कानून बनायौँ भने हाम्रा युवाहरु अहिले ७०÷८० लाख विभिन्न देशमा सस्तो ज्यामीको रुपमा गइरहेका छन्, उनीहरु जानुपर्दैन । हाम्रै देशमा काम दिनुपर्छ भनेर कानून बनायौँ भने सबैले हाम्रै देशमा काम पाउँछन् । यस्तै आवाज हामीले संसदमा उठाउने हो । हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरु नै भारतसँग किन्ने र पैसा खाने गर्छन् । उनीहरुको काम नै त्यही हो । हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउनेछौँ ।’

नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । सुवालले४२ हजार ७१६ मत ल्याउनुभएको थियो भने प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याउनुभएको थियो । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को २ मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी हुनुभएको छ भने १ को १ बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी हुनुभयो ।