२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानका नाममा सस्तो राजनीति !



अ+ अ-

काठमाडौं । कुलमान घिसिङ नेपालमा एक सफल कर्मचारीका रुपमा परिचित नाम हो । खासमा सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारीका रुपमा नियुक्ति गरेपछि त्यसलाई उनले सही सदुपयोग गरेपछि उनको नाम चर्चामा आएको हो । देश दिनमै १६ घन्टासम्मको लोडसेडिङमा रहेका बेला उनी पाँच वर्षअघि प्राधिकरणलाई यस्तो कायापलट गरिदिए कि देश लोडसेडिङमुक्त भयो । अब देशबासीलाई त यो भन्दा बढी के चाहियो र ? अनि नेपालीले उनलाई मन नपराउने कुरा पनि भएन । 

हो, यीनै एकजना सफल व्यक्तिका बारेमा सरकारले राजनीति गरेको समय समयमा देख्न, सुन्न सकिन्छ । जस्तो कि अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले यीनलाई पुनःनियुक्ति नगर्दा उनको ठूलो आलोचना भएको थियो । यहाँसम्म भयो कि कुलमानका समर्थकहरुको समूह नै बनाइयो र सामाजिक सञ्जालमै अभियान सञ्चालन गरियो ।

त्यस्तै राजनीति हिजो पनि देखियो । हिजो तीन थरि समाचार आए मिडियामा । पहिलो समाचार अस्ति अर्थात् सोमबार साँझ आयो– कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवादाई ‘कन्भिन्स’ गरे । यो प्रचण्ड निकट मिडियो थियो । यसको समाचारको आसय छ– प्रधानमन्त्री कुलमानलाई नियुक्त गर्न तयार थिएनन् निकै जोडबल गरेर प्रचण्डले कन्भिन्स गरे । 

अर्काे समाचार आयो फेरि प्रधानमन्त्री देउवाको पक्षबाट । त्यो समाचारमा भनिएको छ– कुलमानलाई प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीले उर्जामन्न्त्री पम्फा भुसाललाई बालुवाटार बोलाएर ठाडो आदेश दिए । यो समाचारको व्याख्या यस्तो छ– कुलमानलाई नियुक्त गर्नका लागि प्रधानमन्त्री देउवाले नै चासो लिएका हुन् र उनले नै उर्जा मन्त्रीलाई बोलाएर ठाडो निर्देशन दिएका हुन् । यो मंगलबार दिउँसोतिरको समाचार थियो । 

साँझ आयो फेरि उर्जामन्त्रीको समाचार । साँझको समाचारमा कुलमानको नियुक्ति पम्फाले नै गर्न चाहेकी थिइन् भन्ने छ । त्यो समाचार भन्छ– पम्फा भुसाल मन्त्री भएपछि विद्युत प्राधिकरणको बारेमा चासो राखेकि थिइन् र उनले वर्तमान कार्यकारी हितेन्द्र शाक्यको कार्यशैली मन नपराएकाले त्यहाँ कुलमानलाई नै ल्याउन खोजेकी थिइन् । 

तर वास्तविकता के हो भने अहिले त्यहाँ हितेन्द्र शाक्य कार्यकारी छन् र उनको कार्यभार अझै धेरै छ । उनी नियुक्ति को एक प्रक्रियाबाट आएका हुन् । त्यसैले प्रधानमन्त्रीले ठाडो आदेश दिएजस्तो हिजोको आज नियुक्ति गर्न मिल्दैन । पत्रिकामा सूचना निकालेर एउटा प्रक्रियामा गएपछि मात्र नियुक्ति गर्न सकिन्छ । 

तर पनि रमाइलो कुरा त के हो भने राज्यले मुलुकको विकासका लागि कुलमान जस्ता हजारौँ सफल व्यक्तिहरु जन्माउनुपर्छ । अनि काम गर्ने वातावरण दिइयो भने देशमा त्यस्ता प्रतिभाहरु छन् पनि । राज्यले यस्ता हजारौँ प्रतिभा जन्माउनुको सट्टा उही व्यक्तिलाई नै र फर्काइ फर्काइ सोही स्थानमा किन लैजानुपर्यो र ? 

प्राधिकरण त अब सुधारको उच्च तहमै पुगेको छ नि । बरु उनीजस्ता सफल व्यवस्थापकलाई टायर चोरहरु पत्ता लगाउन नेपाल एयरलाइन्समा पठाए हुदैन ? राज्यको अभिभावक सरकार नै यस्तो सस्तो लोकप्रियतामा लागेपछि देशको समानुपातिक विकास कसरी होला ?