२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

बाढीपहिराले सडकमा रु ८० करोडको क्षति

बाढीपहिराले सडकमा रु ८० करोडको क्षति
अ अ+ अ-

काठमाडौँ । वर्षाका कारण आएको बाढीपहिराले यो वर्ष सडकमा झण्डै रु ८० करोडको क्षति भएको छ । हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख (उपमहानिर्देशक) भीमार्जुन अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार खोलाको सतह माथिसम्म भइरहेकाले पुलमा अहिले नै क्षति देखिएको छैन । उहाँले भन्नुभयो, “वर्षा कम भएपछि मात्रै त्यसको क्षति यकिन हुनेछ ।” क्षतिग्रस्तमध्ये हाल १० सडकबाहेक अरू आंशिक वा पूर्णरूपमा सञ्चालनमा आइसकेको छन् ।  हालसम्म १५८ सडक अवरुद्ध भएकामा ५२ सडक पूर्णरूपमा चालु भइसकेको र ९६ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको विभागले जनाएको छ । 

यस वर्ष क्षति पुगेका २५ पुलमध्ये आठ निर्माण सम्पन्न भइसकेका पुल हुन् भने आठ निर्माणाधीन पुल छन् । सात पुलमा क्षति नभए पनि पहुँच सडक क्षतिग्रस्त हुँदा पुल प्रयोगमा आउन नसकेको महाशाखामा कार्यरत इन्जिनीयर केशव ओझाले बताउनुभयो । तीन कल्भर्ट र दुई काठको पुलमा क्षति पुगेको छ । उहाँले भन्नुभयो, “डुम्रेबाट माथि चामे जाँदा बाटोमा सानासाना छहरामा रहेका काठको पुल पनि क्षतिग्रस्त भएको छ ।” 

क्षतिग्रस्त बनेका पुलमा निर्माणाधीन भए त्यसको मर्मतको जिम्मेवारी व्यवसायीको हुने र निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका पुलको मर्मतको जिम्मेवारी विभागको हुने इन्जिनीयर ओझाले बताउनुभयो । विभागले सङ्घीय, प्रदेश र स्थानीय गरी सबै किसिमका सडकमा आवश्यकतानुसार बेली ब्रिज उपलब्ध गराउँदै आएको छ । आपत्कालीन प्रयोगका लागि पूर्णरूपमा यातायात नै ठप्प भएका ठाउँमा बेली ब्रिज राखिने गरिएको उहाँले बताउनुभयो । चालु आवमा कुनै पनि ठाउँमा बेली ब्रिज राखिसकिएको छैन । विभागले मेलम्ची–हेलम्बु सडक र बेँसीसहर–चामे सडकमा बेली ब्रिज राख्ने योजना बनाएको छ । उहाँले भन्नुभयो, “बेली ब्रिज राख्न खोलाको सतह कम भएर सडक पनि अवरुद्ध भइहाल्ने अवस्था नहुँदा सजिलो हुन्छ ।”

यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीसहर–चामे सडक र अरनिको राजमार्गमा देखिएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । बेँसीसहर–चामे सडकमा अहिले विभागले लमजुङतर्फबाट सडक खुलाइरहेको छ । मनाङतर्फ भने चट्टान रहेकाले नेपाली सेनाले नै खुलाउनुपर्ने उहाँले बताउनुभयो । सो क्षेत्रमा चट्टान फुटाउनका लागि विस्फोटन गर्नुपर्छ । उहाँले भन्नुभयो, “सो क्षेत्रमा सेनाको सहयोगमा सडक खुलाउने गरी कुरा भएको छ ।” 

असार महिनामा वर्षाका कारण पहिराले अरनिको राजमार्गको ठाउँठाउँमा सडक अवरुद्ध बनेको थियो । अहिले पहिरो पन्छाएर कतै एकातर्फबाट त कतै दुवैतर्फबाट सडक सञ्चालन भइरहेको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । सो राजमार्गमा खासगरी दुई ठाउँमा क्षति पुगेकामा एक ठाउँमा निर्माण भइसकेको छ भने एउटामा निर्माण भइरहेको छ । एक ठाउँमा वर्षाले पुल नै कटान गरेको थियो । उहाँले भन्नुभयो, “ठूलो क्षति भएको ठाउँमा ढलान नै गरेर पर्खाल उठाउनुपर्ने भएको छ ।” 

बाढी र पहिराका कारण सडक ठाउँठाउँमा क्षतिग्रस्त बने पनि खुलाइँदै आएको छ । सडक नै भासिएको वा पुल नै बगाएको ठाउँमा मात्रै सडक चालु गर्न लामो समय लाग्ने देखिएको छ । उहाँले भन्नुभयो, “पुल बगाएको ठाउँमा पानीको तह नघटी केही गर्न सकिँदैन ।” 

चालु आवमा चाँडो वर्षा सुरु भएकाले अन्तिम काम भइरहेका धेरै पुल सम्पन्न हुन नसकेको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । निर्माणाधीन कतिपय पुलमा निर्माण व्यवसायीले ढलान गर्नका लागि टेको लगाएकामा क्षतिग्रस्त भएका छन् । बर्सेनि असार १५/२० पछि मात्रै वर्षा सुरु हुने गरेको भए पनि यो वर्ष जेठमा नै वर्षा सुरु भएको थियो । कतिपय पुल वर्षा पहिले ढलान गरिसक्ने गरी निर्माणको काम अघि बढाइएको थियो । वर्षाका कारण पुल सम्पन्न हुन नसकेको र पुलको टेको बगाएको उहाँले बताउनुभयो । 

बेँसीसहर–चामे सडकमा सडक नै भासिने र पुल नै बगाउने गरी भएको क्षतिले गर्दा मनाङ जिल्ला सडक सम्पर्कबाट टाढा बनेको विभागले जनाएको छ । सो सडकमा खासगरी मनाङको तिमाङ छहरा, तिमाङ खोला, धारापानी, बगरछाप, रामबजार, अर्खलेमा बाढीले बढी असर पुर्याएको छ । अरनिको राजमार्गको लिपिङ पुलमा क्षतिग्रस्त भएको छ । 
    
गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत त्रिशूली खोला, सानो भार्खु खोला र गाँजाबारीमा गत असार १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । सोही सडकअन्तर्गत आइतबार मैथली खोलामा पनि अवरुद्ध बनेको छ । बझाङमा खोड्पे–चैनपुर सडक झौलेकमा अवरुद्ध भएकामा खुल्न सकेको छैन । 

बर्सेनि वर्षाका कारण सडकमा क्षति पुग्ने गरे पनि यो वर्ष वर्षा भारी भइरहँदा धेरै सडकमा क्षति पुगेको विभागले जनाएको छ । अवरुद्ध सडक खुलाउनका लागि विभागले जेठदेखि नै ठाउँठाउँमा उपकरण तयारी अवस्थामा राख्ने गरेको छ । डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयले तयारी अवस्थामा रहेका उपकरणबाट नै सडक खुलाउने गर्छन् । बढी क्षति भएका र भएका उपकरण उपलब्ध नहुँदा अरू कार्यालयसँगको समन्वयमा सडक खुलाउने गरिएको विभागले जनाएको छ । सञ्चिता घिमिरे/रासस