२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटका एक वडाध्यक्षद्वारा युवकमाथि निर्घात कुटपिट, प्रहरीको रोहबरमा मिलापत्र !



अ+ अ-

जाजरकोट । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुल्नमा आएको छ । 

सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका हुन् ।

स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको प्रस्ट देख्न सकिन्छ । वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेको छन् । भिडियोमा  ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको देखिन्छ । 

प्रहरीका अनुसार घटना साउन १५ गते घटेको हो । कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ ।

प्रत्यक्षदर्शीका अनुसार पीडितले मदिरा खाएर होहल्ला पनि गरेका थिए । मदिरा खाएर हल्ला गरेपनि मुख्य विषय भने रकम अनियमितताको आरोप रहेको बताइएको छ । 

वडाध्यक्ष नेपालीले गरेको गल्तिलाई प्रहरीकै सक्रियतामा ढाकछोप गरेको आरोप पनि लागेको छ । प्रहरीको रोहवरमा वडाध्यक्ष र पीडित पक्षबीच मिलापत्र भएको बताइएको छ ।

मिलापत्र कागजमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियम कानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका स्थानीयले जनाएका छन् । 

स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको हो । 

यता वडाध्यक्ष नेपालीले भने आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले सम्झाइबुझाइ गर्दा अटेर गरेपछि केही व्यक्तिले कुटेको बताएपनि भिडियोमा भने उनी आफैंंले कुटपिट गरेको देख्न सकिन्छ ।