१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित गराउन पौडेलको दौड



अ+ अ-

काठमाडाैं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्नुभएको छ । 

वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्ता पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताउनुभयो । एमसीसीको समस्या जटिल रुपमा आएको भन्दै उहाँले भेटवार्ताको क्रममा एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गर्नुभयो । एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उहाँको भनाई छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसी बारे निर्णय लिने बताएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘अहिले सामान्यतया देशको परिस्थितिको बारेमा हामीले छलफल ग-यौँ । एमसीसीको समस्या पनि अहिले हाम्रो अगाडी जटिल रुपमा आइरहेको छ । यसले गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध के हुन्छ ? हाम्रो विकासको भविष्य के हुन्छ ? यि कुरा हामीले राम्रैसँग कुरा ग¥यौँ । सैद्धान्तिक रुपमा त हाम्रो बिचमा केही मतभेदजस्तो देखिएन । तर केही प्राविधिक कुराहरु छन् । उहाँहरु मिटिङ गर्नुहुन्छ रे १३ गते अनि त्यसपछि निर्णय गर्नुहुन्छ भन्नुभयो ।’

वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेश भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का नेताहरुसँग पनि कुरा गर्ने बताउनुभयो । उहाँले देशमा संकट नगहिरियोस् भन्नका लागि आफु प्रयत्नशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पुस्ता नै एउटा असफल पुस्तामा परिणत हुन थाल्यो । मुलुक नै असफल राष्ट्रतिर जाने हो कि भन्ने मलाई चिन्ता भएर मैले पहिलेदेखि केपी ओलीलाई भेटेको । त्यसपछि मैले यि पाँच दलका नेताहरुसँग कुरा गरेको । त्यही श्रृङ्खलामा मैले अहिलेपनि देशको संकट झन गहिरिदै नजाओस् त्यसैमा म प्रयत्नशील छु ।’

उहाँले एमसीसी परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकि सरकारले गरेको सहयोग भएको बताउनुभयो । एमसीसीले विद्युत र सडक मार्फत् नेपालको गरिबी हटाउन मद्दत पु-याउने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘अमेरिकी सरकारले नेपालको गरिबी अन्त्यका लागि नेपालको विद्युतलाई मार्केटमा लगेर बेच्नको लागि एउटा प्रसारण लाइन बनाइदिने । नेपालले आम्दानी गरोस्, नेपालको गरिबी हटाउन मद्दत गरोस् । त्यस्तै सडक बनाइदिने, यहाँको जनताले सुविधा पाउन् । त्यही हो मैले बुझेको सिम्पल कुरा हो ।’

एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने उहाँले बताउनुभयो । राष्ट्रको ध्यान संसदतर्फ केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो ।