• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रिमियर लिगः आर्सनलले वल्भ्सलाई हरायो, ब्रेन्टफोर्डसँग सिटी र न्युक्यासलसँग चेल्सी स्तब्ध



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ‘लिग लिडर’ आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले वल्भ्सलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन दुबै गोल मार्टिन ओडेगार्डले गरे । खेलको ५४ औं मिनेटमा ओडेगार्डले पहिलो गोल गरे । यस्तै, ७५ औं मिनेटमा ओडेगार्डले व्यक्तिगत तथा टिमका लागि पनि दोस्रो गोल गरे ।

जितसँगै शीर्षस्थानको आर्सनलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ५ अंकको दुरी बढाएको छ । आर्सनलको १४ खेलबाट ३७ अंक रहँदा सिटीको समान खेलबाट ३२ अंक छ । यता वल्भ्स १५ खेलबाट १० अंकसहित पुछारमा छ ।

ब्रेन्टफोर्डसँग सिटी स्तब्ध
यस्तै, शनिबार साँझ भएको खेलमा म्यान्चेस्टर सिटी ब्रेन्टफोर्डसँग घरेलु मैदानमै २–१ गोल अन्तरले स्तब्ध बनेको छ ।

ब्रेन्टफोर्डको जितमा इभान टोनी नायक बने । खेलको १६ औं मिनेटमा टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा इभानले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ को जित दिलाए ।

जितसँगै ब्रेन्टफोर्ड १५ खेलमा १९ अंकसहित १० औं स्थानमा रहेको छ । पराजित सिटी १४ खेलमा ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

न्युक्यासलले चेल्सीलाई हरायो
शनिबार राति भएको अर्को खेलमा न्युकासल युनाईटेडले चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्यो ।

न्युकासललाई जित दिलाउन जोए विलकले निर्णायक गोल गरे ।
उनले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै १५ खेलमा ३० अंकसहित न्युकासल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता, चेल्सी २१ अंकसहित आठौं स्थानमा रहेको छ ।

लिभरपुलद्वारा साउथह्याम्प्टन पराजित
शनिबार राति नै भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोलले पराजित गर्यो ।

खेलको छैटौं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, खेलको नवौं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि लिभरपुलका डार्विन नुनेज खेलमा चम्किए । खेलको २१ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई २–१ ले अग्रता दिलाए ।

खेलको ४२ औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

जितसँगै १४ खेलमा २२ अंकसहित लिभरपुल छैटौं स्थानमा रहेको छ । साउथह्याम्पटन १२ अंकसहित १९ औं स्थानमा रहेको छ ।