हामीले जुनै पनि काम गर्दा त्यसको खाका तयार पार्छौं । खाका तयार गर्दा त्यसका सबै कुराको अनुमान गरिएको हुन्छ । प्रारम्भिक नक्सा तयार भएपछि त्यसलाई नै आधार मानेर काम गर्ने हो अनि मात्र त्यसबाट नतिजा आउँछ । तर मलाई के लाग्छ भने आजसम्म हामी पूर्वाधारमा पछि पर्नुको कारण भनेको हामीले विकासको पूर्वाधारको मोडल नै बनाएको छैनौँ ।
हावाका भरमा जसलाई जे मन लाग्यो त्यही गरिरहेका छौँ । कति ठाउँमा बाटो बनेको हेर्ने हो भने डोजर चालकलाई मन लागेको तरिकाले बाटो बन्ने गरेको छ । सहरमा हेर्ने हो भने सडक, पेटी तथा ढल निकासको योजना नै छैन । के गर्ने भन्ने पहिले नक्सा त बन्नु पर्यो नि । यदि तपाईं नक्साबिना नै घर बनाउनुहुन्छ भने झ्याल राख्ने ठाउँमा ढोका होला, ढोका राख्ने ठाउँमा झ्याल होला । कतै चारैतिर पर्खाल लगाएर निस्कने ठाउँ पनि नहोला । मुख्य कुरा विकासका नक्साको नै कमी छ हामीसँग ।
यसमा दलसँगै जति प्राविधिक जनशक्तिहरु हुनहुन्छ उहाँहरुको पनि कमि कमजोरी होला । एउटा सानो उदाहरण दिन चाहन्छु । हाम्रो अहिले कलङ्कीदेखि कोटेश्वरसम्म सडक विस्तार भयो । तर अहिले आएर बनेको चक्रपथमा पनि इट्रासेक्सनको कुनै योजना नै छैन । सातदोबाटोबाट गोदावरीतर्फ जाने बाटोमा निकै ठूलो जाम हुन्छ । त्यो हिजो भर्खर बनेको सडक को नि । हिजो पुरानो सडक त छाडौँ, हिजो त्यो सोच भएन र आज यो रोड बनेको त धेरै भएको छैन नि । हिजोआज बनेको संरचनमा पनि सामान्य कुरामा समेत ध्यान पुर्याएका छैनौँ । त्यसले गर्दा हामी पछि परेका छौँ ।
काठमाडौँ उपत्यकाको संरचना नै यस्तो छ कि कुनै एक निर्वाचन क्षेत्रले त्यो क्षेत्र बनाएर हुँदैन । १५ ओटा निर्वाचन क्षेत्रको साझा योजना र प्रतिबद्धता तथा अग्रसरतासहितको योजना आवश्यक पर्छ । अनि मात्र विकासको नक्सा बनाउनुपर्छ ।
देशमा हामीले जानेको बुझेको काम भइरहेको छैन । जस्तो सातादोबाटोमा अण्डरपास वा फ्लाईओभर केही बन्नुपर्ने थियो । यस्ता धेरै विकासका पूर्वाधारका काममा आफूलाई चित्त नबुझेको हो तर यही कारणले राजनीतिमा आउने आँट आएको पनि हो । यससँगै गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवरहरुप्रति नागरिकको अपेक्षा र समर्थनले पनि केही उत्प्रेरणा दिएको हो । हामीसँग भएको सीप र ज्ञानलाई अघि बढाउन सक्छौँ भन्ने आँट दिएको छ ।
जहाँसम्म संसद्मा एकलो उपस्थितिको विषय छ, सही कुरा लिएर जाँदा दल वा स्वतन्त्रले कुरा राख्यो भन्ने अर्थ लाग्दैन । जति पनि हाम्रा समस्याका चाङहरु छन् त्यसको समाधान आवश्यक परेको छ । समाधान कसैले लिएर जान्छ भने उसका कुरा नसुनिने वा नहुने भन्ने छैन । हामीले जति समस्या भोगिरहेका छौँ त्यो आम जनताको मात्र समस्या त होइन नि । त्यो त नेताको पनि समस्या हो नि । अहिले खाल्डाखुल्डी सडकमा त नेता गाडी पनि त्यही बाटोमा हिँड्ने हो नि । नेताका लागि छुट्टै सडक त बनेका छैनन् । हो त्यही सडक राम्रो बनाउने हो ।
आज धारामा पानी आउँदैन । धारामा पानी आउनुपर्छ । यसमा पनि इफ र बट हुन्छ र ?आज कति वर्ष भयो मेलम्चीको योजना ? दुई दशकभन्दा बढी भयो अझै काठमाडौँमा पानी आउन सकेको छैन । धेरै नकारात्मक नसोच्दा पनि जसले जानेको छ त्यो कुरा सिकाउँदा उहाँहरुले त्यो कुरालाई नकारात्मकरुपमा पनि लिनु हुँदैन । नराम्रो कुराका लागि आपत्ति होला तर राम्रो कुराको लागि एक जनाले दिएका सुझावले पनि ठूलो अर्थ राख्छ ।
हाम्रोमा के मानसिकता छने भने मैले जितेपछि मात्र यो काम हुन्छ वा गर्छु भन्ने सोच छ तर मेरो बुझाइ के हो भने मैले काठमाडौँ उपत्यकाका लागि जुन योजनाहरु बनाएको छु यो कार्यान्वयन जसले गरे पनि भयो । मुख्य कुरा काम हुनु पर्यो । ती चिज आवश्यक छ । काम गरेर जसले जस लिए पनि हुन्छ । मूलतः समस्याको समाधान हुनु पर्यो । हाम्रोमा नराम्रो बानी के छ भने जस लिनु पर्ने । यो बाटो फलानाले बनायो, यो फनालो नेताले बनायोे । यो पुल यसले बनायो भन्ने बानी छ । उहाँहरुले आफनो घरको सबै सम्पत्ति बेचेर बनाएको त होइन नि । त्यो स्रोत र साधन त राज्यको हो नि । जस लिने बानी छाड्नु पर्यो । जे काम का लागि पठाएको हो त्यही काम गरेपछि के को जस रु तर दुर्भाग्य यहाँ त रिबन काट्न पनि झगडा परिरहेको देखिन्छ । रिबन काट्ने कुरा नमिल्दा काम नहुने अवस्था छ । जबसम्म जस लिने संस्कार हटाउँदैनौँ तबसम्म यसमा हामी बाझिराख्छौँ । समस्याका चाङ उस्तै रहिरहन्छन् ।
राजमार्गमा एउटा पुल छ, त्यो पुल भत्किएको छ वा एउटा सवारी साधन बिग्रिएर बसेको छ भनेपछि सडक त जाम हुन्छ नै । त्यसका लागि वैकल्पिक बाटो आवश्यक पर्छ । स्वतन्त्रहरु भनेको त्यही वैकल्पिक बाटो हुन् ता कि त्यो पुल त बन्नुपर्यो नि । पार्टी सचेत हुनु प¥यो नि । विगत ३० वर्षदेखि हेर्ने हो भने आज समस्याहरु जहाँनिर छन्, त्यो समाधान नभएपछि त्यसको जिम्मेवारी त लिनु प¥यो नि । जुन लक अर्थात जाम भइरहको छ त्यो जाममा कहिलेसम्म बस्ने ?
वैकल्पिकहरुको अहिलेको प्रयास भनेको डाइर्भसन हो । डाइर्भसन अस्थायी होला तर त्यो चिज त बन्नु प¥यो नि । सधैँका लागि स्वतन्त्र विकल्प नहोला तर सच्चिनका लागि विकल्प हो ।
मेरो विषयमा भन्दा रहरले भन्दा पनि आफूले जानेको, सिकेको र बुझेको कुरा कार्यन्वयन गर्न सक्छु भन्ने आत्मविश्वास हो । यो कुरा भन्ने मात्र होइन पुष्टिसमेत गर्नुपर्छ ।
धेरै ठूला कुरा गरेर पनि हुँदैन । हाम्रा आवश्यकताहरु निकै साना साना छन् । पूरा नै गर्न नसकिने खालको पनि छैन । त्यही आवश्यकताहरु पूर्ति हुँदा पनि खुसी हुने अवस्था छ ।
अहिले स्वतन्त्र उम्मेदवारहरुको जुन लहर आएको छ त्यसले केही हदसम्म दलीय सिन्डिकेट तोड्छ । विगतका वैकल्पिक शक्तिहरु स्थापित हुन नसक्नुको प्रमुख कारण भनेको उहाँहरु शक्ति आर्जनमा लाग्नुभयो । पदमा पुगेपछि मात्र परिवर्तन हुन्छ भन्ने मान्यताबाट अघि बढ्दा समस्या भएको हो कि ।
मेरो मान्यता के हो भने परिवर्तनका लागि पदमात्रै आवश्यकता होइन । हामीले जुन योजना वा नक्सा बनाउँछौँ त्यो कुरा जितेर मात्र बन्ने होइन । जितेर गए पनि विज्ञहरुले नै बनाउने हो । जस्तो काठमाडौँ एकीकृत सवारी व्यवस्थापनबारे केही योजना बनायौँ भने त्यो त नेताले बनाउँदैन नि । विज्ञले नै बनाउने हो । नेताले बनाउन लगाउनु पर्यो त्यो कुरा । हाम्रोमा कमजोरी कहाँ छ भने नेतृत्वबाट विकासको आश गरिरहेका छौँ । नेतृत्वले नीति बनाउने हो । त्यो नीतिलाई अवलम्बन गरेपछि बल्ल विकास हुने हो । तर हाम्रो मानसिकता के छ भने फनालोले जित्यो भने विकास हुन्छ । त्यो गलत मानसिकता हटाउन जरुरी छ ।
नेतृत्वमा अस्थिर सरकार हुनेबित्तिकै विकासका काम अघि बढ्न सक्दैन भन्ने सिकाइरहेका छौँ । आखिर जनताले आफ्नो समस्या समाधानका लागि जनप्रतिनिधिहरु पठाइराख्ने हो । हाम्रा समस्याहरु जति पनि छन् त्यसमा दलहरुको साझा धारणा त बन्नु पर्ला नि । जहिले अस्थिरतालाई दोष दिएर हुन्छ त रु अस्थिरताले विकासको गतिलाई त रोक्न भएन नि । हामीमा त्यो कुराको चेतना त आउनु प¥यो नि । अहिले जनप्रतिनिधि छान्दा पनि यो विकासको लहरलाई त ध्यान दिनुप¥यो नि । एउटा सरकारले पाँच मिटर मापदण्ड बनाउँछ । अर्को सरकार आउँछ त्यो प्रावधान हटाउँछ । यस्तो दल वा उम्मेदवारलाई किन जिताउने रु
त्यही भएर अहिले परिवर्तन अपरिहार्य छ । पर्खनु विकल्प होइन । यदि कुनै उम्मेदवारले हिजो कै गतिविधि दोहो-याउने हो भने अहिले त जनतालाई अवसर छ नि । यी मानिसलाई जिताउँदा यिनीहरुले अस्थिरता ल्याउँछन् भने मतदाताले त्यो कुरा त मनन गर्नुपर्यो नि । तर एउटा मानसिकता के परिवर्तन गरौँ भने जसले जितेर आए पनि अब अस्थिर भए पनि विकासका कामहरु रोकिँदैन । यो विकास अर्थात् पूर्वाधार र राजनीतिको पाटोलाई फरक ढंगबाट हेर्नुपर्छ । सरकार परिवर्तन भए पनि त्यसले विकासका योजनाहरुलाई असर गर्नुभएन । अबको नारा र उद्देश्य नै विकासलाई एकातिर र राजनीतिलाई अर्कोतिर राख्नुपर्छ ।
अहिले हामी २२ जना इञ्जिनियर र ८ जना डक्टरको समूह निर्वाचनमा होमिएका छौँ, स्वतन्त्र अभियानअन्तरगत । मै मात्र सबै हुँ भन्ने मानसिकता नै गलत छ । सबै दल वा स्वतन्त्रका विज्ञलाई समेट्नु पर्छ । यहाँ दलको कुनै सिद्धान्त वा आदर्श मिल्दैन तर स्वार्थ भने मिल्छ । यो स्वार्थ भनेको सत्ता मात्र हो । यो पूरै गलत अभ्यास हो । जब विचार नै मिल्दैन भने गठबन्धन कसरी हुन्छ ?
यदि गठबन्धन नै आवश्यक हो भने किन साझा घोषणापत्र बनाउन नसकेको रु भोलि सँगसँगै काम गर्ने हो भने त साझा योजना र दृष्टिकोण आवश्यक पर्ने हो तर छैन । गठबन्धन सत्ता आर्जनको विषय मात्र नभएर जनताको समस्याको समाधानको माध्यम पनि बन्न जरुरी छ ।
निर्वाचन प्रणालीका कारण पनि सक्षम उम्मेदवार आउन कठिन भएको छ । चुनाव निकै खर्चिलो भइरहेको छ । हामी गलत अभ्यासमा गइरहेका छौँ । वर्तमान निर्वाचन प्रणालीमा पनि सुधारको आवश्यकता छ । यदि केही परिवर्तन गर्न सकियो भने योग्य उम्मेदवार आउन सक्ने सम्भावना पनि रहन्छ । अहिलेको यो गञ्जागोल अवस्थामा भने केही कठिन छ ।
पैसा खर्च गरेर मलाई राजनीति गर्नुछैन । मैले आफूले जानेको कुरा समाजलाई दिन चाहन्छु भनेर आएको हुँ । यदि मेरो सोच र विचार मिल्छ भने ठिकै छ । म पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा छैन ।
एजेण्डा वा राजनीतिक हिसाबले म जित्छु । सँगै अंकगणितको कुरा पनि छ । स्थानीय निकायको निर्वाचनका बेला परिवर्तन खोज्ने अभियान सुरु भएका कारण यस पटक परिवर्तन खोज्ने काम हुन्छ भन्ने लाग्छ । परिवर्तनका लागि मतदाताहरु तयार भएर बसेको देखेको छु । हिजो विकल्प खोज्नुपर्छ भन्ने मान्यता रहेको छ ।
काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार पोखरेल संग गरिएको कुराकानीमा आधारित