२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती



अ+ अ-

भक्तपुर । निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको बन्द गराएका छन् ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै सास्ती दिएको भन्दै छिटो सम्पन्न गर्न आन्दोलनस्वरुप सडक बन्द गराएका हुन् । सडक बन्द हुँदा यात्रुले सास्ती भोग्दै वैकल्पिक बाटोे प्रयोग गर्नु परेको छ ।

उनीहरुले सडकको बीचमा १५ ट्रक माटो थुपारेर सोमबारदेखि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्ने गरी अवरोध गर्दै सडक निर्माण सम्पन्न गर्न वा ठेक्का रद्द गर्न माग गर्दै सडकमै नाराबाजीसमेत गरेका थिए ।

“सडकमा १५ ट्रक माटो थुपारेर यातायातका साधन बन्द गराइएको छ,” नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले भन्नुभयो, “सडक निर्माण सुरु भएको आठ वर्ष भयो, अझै निर्माण सम्पन्न गरिएकोे छैन, सात पटक ठेक्का सम्झौतामा म्याद थप भइसकेको छ, अहिले धुलो उडेर यहाँका बासिन्दादेखि पर्यटकसमेतले सास्ती व्यहोर्नु परेको छ, त्यसैले कि त छिटो निर्माण सम्पन्न गर्नु प¥यो, कि त ठेक्का रद्द गर्नु प¥यो भन्ने माग राखेर आन्दोलनस्वरुप सडक बन्द गराएका हाँै ।”

उहाँले निर्माण अलपत्र पार्दा यहाँको पर्यटन व्यवसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको छ भन्दै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्नुपर्नेमा उल्टै सडकको लागत बढाइ दिदै म्याद थपिदिएर पुरस्कार दिए जस्तै गरेको गुनासो गर्नुभयो ।

नगरकोटस्थित चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले वर्षौंदेखि जनताले आन्दोलन गरे पनि कुनै पनि सरकारले यहाँका बासिन्दाको पीडालाई नबुझेको बताउनुभयो । स्थानीय बासिन्दा र व्यवसायीले सडक बन्द गराएर निर्माण गर्न दबाब दिएको भन्दै सरकारले निर्माण व्यवसायीलाई निर्माण छिटो सम्पन्न गर्न दबाब दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्तिम पटक म्याद थप गरी आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने भनिए पनि निर्माण कम्पनीले अझै काम अगाडि नबढाएकाले पुससम्म सम्पन्न गर्न सक्ने अवस्था नदेखिएको वडाध्यक्ष लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्नेमा सरकारले उल्टै म्याद थप गर्दै लागत बढाइदिन्छ, ठेकेदारलाई कहिल्यै घाटा लाग्दैन, नोक्सान त राज्यको ढुकुटी र स्थानीय जनताले व्यहोर्ने न हो ।”

भक्तपुर–नगरकोट सडक खण्ड सैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ साल कात्तिक ४ गते सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि ८० प्रतिशत काम सकेर कालोपत्र, नाली, पर्खाल निर्माणलगायतको २० प्रतिशत काम बाँकी राखेर सडक अलपत्र छाडेको छ ।

भ्याटसहित रु ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा सम्झौता भएको उक्त सडकमा सरकारले सात पटक म्याद थप गरी रु चार करोड लागत थप गर्दै हाल सडकको लागत रु ३५ करोड ८७ लाख १८ हजार पुर्याएको उहाँले बताउनुभयो ।

यसअघि पनि नगरकोटवासीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका–६ र ७ का वडाध्यक्षहरुले असारमा तीन दिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग भक्तपुरका सांसद, तत्कालीन नगरप्रमुख सोमप्रसाद मिश्र, वर्तमान नगरप्रमुख जीवन खत्री, स्थानीय बासिन्दा, पर्यटन व्यवसायीलगायतले सडक निर्माण सम्पन्न गर्न वा ठेक्का रद्द गर्न माग गर्दै पटक पटक ज्ञापनपत्र बुझाउनाका साथै पटक पटक सडक अवरुद्ध गर्दै आएका थिए । रासस