२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा निर्वाचनको लागि तीन हजारभन्दा बढी कर्मचारी खटाइँदै



अ+ अ-

काभ्रेपलाञ्चोक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा तीन हजार एक सय १२ कर्मचारी खटाइने भएको छ । यसका लागि कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीलाई सूचीकृत गर्दै जिम्मेवारी बाँडफाँटको गृहकार्य भइरहेको जनाइएको छ । यस्तै निर्वाचनमा एक हजार पाँच सय ५६ स्वयंसेवक परिचालन गरिनेछ । एक मतदान केन्द्रमा आठ कर्मचारी र चार स्वयंवेवक परिचालन हुने जिल्ला निवार्चन अधिकारी उमेश राईले जानकारी दिनुभयो ।

यसपटक एकैचरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदा धेरै कर्मचारी खटाउनुपर्ने भएकाले निजामती कर्मचारीको अलावा माध्यमिक तहमा कार्यरत शिक्षक कर्मचारीलाईसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइने गरी तयारी भइरहेको प्रजिअ हुमकला पाण्डेले बताउनुभयो । मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एक रहने जनाइएको छ ।

यसपटक कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले समेत समानुपातिकतर्फ प्रदेशअन्तर्गत र प्रतिनिधिसभातर्फ मतदातामा सूचीकृत भएकाले मतदान गर्न पाउने भएपछि जिल्लामा चार अस्थायी मतदान केन्द्र ब्यवस्थापन गरिने भएको छ ।

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका छन् । तीमध्ये एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला तथा अन्य दुई मतदाता हुन् ।

जिल्लामा तीन सय ८९ मतदान केन्द्र ब्यवस्थापन हुने जनाइएको छ । काभ्रेमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल जिल्लामा ३१ दल क्रियाशील छन् ।