५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकर्षक रुपमा सजिए राजधानीका छठघाट



अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्रको गुह्येश्वरी(गौरीघाट बाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ ।

छठपर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठघाट पनि सजाइएको हो । प्रत्येक वर्ष छठपर्वका अवसरमा गुह्येश्वरी(गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भिड लागेको छ ।

यसवर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला र विष्णुमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यसवर्ष विगतभन्दा बढी छठघाटको निर्माण गरिएको छ । विगतमा करिब ५०० छठघाट निर्माण गरिएकामा यसवर्ष ६०० भन्दा बढी बनाइएको छ । आज बिहानसम्म ५०० वटा छठघाट भक्तजनले रसिद काटेर लिइसकेका छन् । एउटा छठघाट रु एक हजार ५०० शुल्क लिएर भक्तजनलाई दिएको छठपूजा समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो ।

गुह्येश्वरी क्षेत्रमा छठपूजाका लागि बिहानैदेखि भक्तजनको भिड बढ्न थालेको छ । यहाँ करिब ६०० व्रतालु, तिनका परिवार एवम् अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने अनुमान समितिले गरेको छ ।

२० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो । अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समूदाय पनि छठपर्व मनाउने गरेका छन् ।

जनकपुरकी रञ्जु श्रेष्ठ विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताउनुहुन्छ । सुरुमा जनकपुरबाट छठ मनाउन सुरु गर्नुभएकी श्रेष्ठले हाल गुह्येश्वरीमै सूर्यको पूजाआराधना गरी पर्व मनाउने गर्नुभएको छ । आफू पहाडबाट जनकपुर झरे पनि आफूले अपनाइ आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उहाँले सुनाउनुभयो ।

छठपर्वका लागि गुह्येश्वरी गौरीघाट क्षेत्र अहिले बेहुलीझैँ सिँगारिएको छ । नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गरिएको छ । आज राष्ट्रपतिले यो मूर्तिसँगै सूर्यको पूजा आराधना गरी अघ्र्य दिनुहुने कार्यक्रम रहेको पूजामा खटिनुभएका नवोनाथ झाले बताउनुभयो ।

आज बेलुकी र भोलि बिहान पूजा गरेपछि यो मूर्तिलाई बाग्मती नदीमै बगाएर सेलाइने पनि उहाँले सुनाउनुभयो ।

छठ पूजास्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भिड देखिन्छ । छठ पूजास्थल वरपर व्यापार व्यवसाय गर्नेको भिड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा माइकिङ गरिरहेको छ ।

कमलपोखरीमा पानीको फोहरासहित आकर्षक सजावट

यसैगरी कमलपोखरी क्षेत्रलाई पनि बेहुलीझैँ सिँगारेर अस्ताउँदो सूर्यसहित छठ माताको पूजा आराधनाको तयारी गरिएको छ । कमलपोखरीमा सजावटका साथै बीचमा राखिएको छठी माता र पानीको फोहरा आकर्षणको केन्द्र बनेको छ ।

कमलपोखरीमा एक सय ७५ जना व्रतालुले पूजा गर्न छठघाट निर्माण गरिएको छ । कमलपोखरीमा भने छोटो औपचारिक कार्यक्रम पनि गर्न लागिएको छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिनुभयो ।

यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिनुका साथै राष्ट्रपति, पूर्व सांसद, काठमाडौँ महानगरपालिकाका प्रमुखलगायतले मन्तव्य व्यक्त गर्ने कार्यक्रमसमेत छ ।

चार दिनसम्म मनाइने छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिइन्छ । यसका लागि शनिबारदेखि नै नीराहार व्रत बसेका व्रतालुले आज रातभर छठपूजास्थलमा जाग्राम बसी उदाउँदो सूर्यको प्रतिक्षा गर्ने गरेको हेटौँडाबाट पर्व मनाउन आउनुभएका पवन अग्रवाल बताउनुहुन्छ । सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठपर्व समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवम् छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्य पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एकवर्षे अज्ञातबास सफल भएको उल्लेख छ । रासस