२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका प्रधानसेनापति, महारथी र रथीहरुका फरकफरक तथ्य र प्रसङ्ग



अ+ अ-

साउन २५ गतेबाट नेपाली सेनाका बरिष्ठ रथी प्रभुराम शर्माले कायममकायम प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् । प्रधानसेनापति पुर्णचन्द्र थापा आगामी भदौ २४ गते ३ वर्ष कार्यकाल पुरागरी अनिवार्य अवकास हुंदैछन् । प्रधानसेनापति अवकास हुनुअघि १ महिना बिदा बस्ने सेनाको परम्पराअनुसार हिजो भदौ २४ गते सेनापति थापाको कार्यालयको अन्तिम दिन थियो । आजबाट उनी बिदा बसेका छन् ।

बि.सं.१८१९ मा वर्तमान नेपाल पुनःएकीकरणका सिलसिलामा पृथ्वीनारायण शाहले सुबेदार नेतृत्वमा १०० नाल बन्दुकसहितका श्रीनाथ, बर्दवाणी, सबुज, कालीबक्स र पुरानोगोरख समेत ५ आधुनिक सैनिक कम्पनी स्थापना गरेका थिए । पुनःएकीकरण अभियानले सफलता हासिल गर्दै जादां बिभिन्न नाममा उनका उत्तराधिकारीहरुले थप सैनिक कम्पनीहरु स्थापना गर्दै गए । आजको ९६,०००। संख्याको नेपाली सेनाको जग तिनै ५ आधुनिक सैनिक कम्पनी हुन । 

बि.सं.१९०३ भदौ ३१ गते राती हनुमानढोका राजदरबार परिसरस्थित कोतमा प्रधानमन्त्री फत्तेजंग शाह, जनरल अभिमानसिंह रानामगरसहित शक्तिशाली भारदारको  हत्यापछि असोज २ गते जंगबहादुर कुंवर (पछि राणा उपाधि लिएका) नेपालका प्रधानमन्त्री र प्रधानसेनापति नियुक्त गरिए । त्यसयता बि.सं.२००७ फागुन ७ अघिको १०४ वर्ष ५ महिना ४ दिनको अवधिलाइ नेपालको इतिहासमा राणाकाल भनिन्छ । जंगबहादुर कुंवरभन्दाअघि राजाको तजविजमा सेनाप्रमुख र प्रधानमन्त्री तथा मुख्तियार नियुक्त हुने गर्दथे ।

यि दुइ पदमा नियुक्त हुन कुनै विधि, नीति र प्रणाली थिएन । जंगबहादुर कुंवर शक्तिमा आएपछि प्रधानमन्त्री र प्रधानसेनापति लगायत सेनाका उच्चपदहरु राणापरिवारमा सिमित भयो । राणाकालमा प्रधानसेनापति श्री ३ महाराजपछिको वरियतामा थिए । प्रधानसेनापति श्री ३ महाराज तथा प्रधानमन्त्री हुनुअघिसम्म पदमा रहन्थे । बि.सं.१९९० मा श्री ३ जुद्धशमशेर जबराले प्रधानसेनापति रुद्रशमशेर जबरालाइ पाल्पा निर्वासनमा धपाएका थिए । त्यसअघि वीरशमशेरले प्रधानसेनापति रहेका भाइ खड्गशमशेर जबरालाइ बडाहाकिम बनाएर पाल्पा लखेटेका थिए । यि २ अपवाद थिए । राणाकालमा प्रधानसेनापतिको कार्यकाल र उमेर हद तोकिएको थिएन । तसर्थ बि.सं.२००७ फागुन ७ अघिको सैनिक नेतृत्वका बारेमा अलग्गै विमर्श र मीमांसा गरिनु सान्दर्भिक हुनेछ । 

पाँच वर्ष र चार वर्ष कार्यकालका प्रधानसेनापति

रथी पदबाट प्रधानसेनापति  

बि.सं.२००५ देखि बि.सं.२००७ फागुन ७ सम्म नेपाली सेनाका प्रधानसेनापति रहेका बबरशमशेर जबरा राणाकालका अन्तिम प्रधानसेनापति थिए । बि.सं.२००८ बैशाख ३१ देखि कार्तिक ३० सम्म केशरशमशेर जबरा, (पछि अतिरथी), बि.सं.२००८ मंसीर १८ देखि बि.सं.२०१३ जेठ ७ गतेसम्म किरणशमशेर जबरा, बि.सं.२०१३।२।८ देखि बि.सं.२०१७।२।७ सम्म तोरणशमशेर जबरा, बि.सं.२०१७।२।८ देखि बि.सं.२०२२।१।१५ सम्म नीरशमशेर जबरा (पछि अतिरथी), बि.सं.२०२२।१। १७ देखि बि.सं.२०२७।१।२७ सम्म सुरेन्द्रबहादुर शाह (पछि अतिरथी) र बि.सं.२०२७।१।२८ देखि बि.सं.२०३२।१। २७ सम्म सिंहबहादुर बस्न्यात प्रधानसेनापति पदमा रहे ।  बि.सं.२०३२।१।२८ देखि बि.सं.२०३६।१।२७ सम्म गुणशमशेर जबरा प्रधानसेनापति पदमा रहे । गुणशमशेर जबराको कार्यकालबाट प्रधानसेनापतिको कार्यकाल ५ वर्षबाट ४ वर्ष बनाइयो ।

उपरथी पदबाट प्रधानसेनापति

बि.सं.२०३६।२।१ देखि बि.सं.२०४०।२।१ सम्म सिंहप्रताप शाह प्रधानसेनापति पदमा रहे । सिंहप्रताप शाह उपरथी पदबाट महारथी पदमा बढुवा भएका हुन । उनीभन्दा १ तह माथिको रथीपदमा रहनुभएका आदित्यशमशेर जबरालाइ प्रधानसेनापति नियुक्त नगर्ने मनसायले रथीपद खारेज गरिएपछि त्यससमयका सबैभन्दा जेष्ठ उपरथी शाह महारथी पदमा पदोन्नत भइ प्रधानसेनापति नियुक्त भए ।

यिनीपछिका अर्जुननरसिंह राणा, सत्चितशमशेर जबरा र गडुलशमशेर जबरा उपरथीपदबाट नै महारथीमा पदोन्नत भइ प्रधानसेनापति नियुक्त भए । बि.सं.२०४०।२।१ देखि बि.सं.२०४४।१।३१ सम्म अर्जुननरसिंह राणा प्रधानसेनापति पदमा रहे । बि.सं.२०४४।२।१ देखि बि.सं.२०४८।१।३१ सम्म सत्चितशमशेर जबरा प्रधानसेनापति पदमा रहे । बि.सं.२०४८।२।१ देखि बि.सं.२०५२।१।२७ सम्म गडुलशमशेर जबरा प्रधानसेनापति पदमा रहे । गडुलशमशेर जबराको प्रधानसेनापतिकालमा उपरथी योगेन्द्रप्रतापजंग राणाले गरेको भ्रष्टाचार पुष्टि भएपछि पदावधि पुराहुनु ३ दिनअघि नैतिकता शव्द समातेर राजिनामा गरेका थिए । 

पुनः रथी पदबाट प्रधानसेनापति

बि.सं.२०५२।२।१ देखि २०५६।१।३१ सम्म धर्मपालवरसिंह थापा प्रधानसेनापति पदमा रहे ।थापा बि.सं.२०५१।९।२८ मा पुनः सृजना गरिएको रथीपदमा पदोन्नत भएका थिए । रथीपदबाट उनी महारथी पदमा पदोन्नतभइ प्रधानसेनापति नियुक्त भएका थिए । यिनीपछिका प्रधानसेनापतिहरु रथी पदबाट महारथीपदमा पदोन्नतभइ प्रधानसेनापति नियुक्त भएका छन् । 

बि.सं.२०५९ पछि भदौमा प्रधानसेनापति परिवर्तन हुनथाल्यो  

बि.सं.२०५६।२।१ देखि बि.सं.२०५९।५।२४ सम्म प्रज्वल्लशमशेर जबरा प्रधानसेनापति पदमा रहे । प्रज्वल्लशमशेर जबराले उमेर हदका कारण ४ वर्षे कार्यकाल पुरा गर्न पाएनन् । त्यसअघि जेठ १ गते प्रधानसेनापति परिवर्तन हुंदै आएकोमा प्रज्वल्लशमशेरको कार्यकालभन्दापछि भदौ २५ मा प्रधानसेनापति परिवर्तन हुन थालेको हो ।  बि.सं.२०५९।५।२५ देखि बि.सं.२०६३।५।२४ सम्म प्यारजंग थापा प्रधानसेनापति पदमा रहे ।

बि.सं.२०५८।२।२२ मा हनुमानढोका राजदरबारभित्रको न्यासल चोकमा राजा ज्ञानेन्द्रवीरबिक्रम शाहले श्रीपेच पहिरिएपछि नयाँ राजालाइ डबलीमा दाम चढाउन उक्लदा त्यससमय दोस्रो वरियताका रथी रहेका प्यारजंग थापा खुट्किलामा अल्झिएर लडेका थिए, जुन अशुभ संकेत थियो । उनकै प्रधानसेनापतित्वकालमा पुनस्र्थापित संसदले शाही नेपाली सेनाको नाम नेपाली सेना बनाउने र शाहबंशीय राजसंस्थालाइ सेनाको परमाधिपतिपदबाट हटाएको घोषणा गरेको थियो ।  

तीन वर्षे कार्यकालका प्रधानसेनापति

बि.सं.२०६३।५।२५ देखि बि.सं.२०६६।५।२४ सम्म रुक्मांगत कटवाल प्रधानसेनापति पदमा रहे । बि.सं.२०६३ असोज १२ मा सैनिक ऐन २०१६ खारेज भइ नयां सैनिक ऐन लागु भएपछि प्रधानसेनापतिको कार्यकाल ४ वर्षबाट ३ वर्ष कायम भयो । कटवालसमेत उनीपछिका प्रधानसेनापतिको कार्यकाल हाल ३ वर्ष रहि आएको छ ।  बि.सं.२०६६।५।२५ देखि बि.सं.२०६९।५।२४ सम्म छत्रमानसिंह गुरुङ प्रधानसेनापति पदमा रहे । बि.सं.२०६९।५।२५ देखि बि.सं.२०७२।५।२४ सम्म गौरवशमशेर जबरा प्रधानसेनापति पदमा रहे । बि.सं.२०७२।५।२५ देखि बि.सं.२०७५।५।२४ सम्म राजेन्द्र छेत्री प्रधानसेनापति पदमा रहे ।  

रथी पदमा म्याद थप गरेर प्रधानसेनापति नियुक्त

बि.सं.२०७५।५।२५ देखि बि.सं.२०७८।५।२४ सम्मका प्रधानसेनापति पुर्णचन्द्र थापा हुन् ।पुर्णचन्द्र थापाको रथी पदमा २ वर्षे कार्यकाल पुरा भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषदबाट प्रधानसेनापतिको सिफारिशमा १ वर्ष म्याद थप गरिएको थियो । त्यसरी थप गरिएको म्यादमा पनि बि.सं.२०७५ भदौ २६ गते उनी रथीपदबाट ५८ वर्षे उमेरहदबाट अवकाश हुने थिए । उनीअघिका राजेन्द्र छेत्री ३ वर्षे कार्यकाल पुरा गरेर बि.सं.२०७५ भदौ २४ गते अवकास भएकाले सोही भदौ २५ मा १ दिन मात्र म्याद छंदा पुर्णचन्द्र थापा महारथी पदमा पदोन्नत भइ प्रधानसेनापति नियुक्त भए ।

स्मरणीय छ : बि.सं.२०५१ पछि तत्कालिन रथीद्धय पुर्णचन्द्र थापा र बलदेबराज महतको मात्र रथी पदमा म्याद थप भएको छ ।  सैनिक ऐन २०६३ मा प्रधानसेनापतिको उमेर हद ६१ तोकिएको छ । ३ वर्षे कार्यकाल र ६१ वर्ष उमेर जुन अघि आउंछ सोहि मितिमा प्रधानसेनापति अवकास हुन्छन । हाल निवर्तमान हुनलागेका प्रधानसेनापति पुर्णचन्द्र थापा यहि भदौ २६ गते ६१ वर्ष उमेर पुग्दैछन् तर १ दिनअघि ३ वर्षे कार्यकाल पुरागरेर अनिवार्य अवकास हुंदैछन् ।

बि.सं.२०५१ पछिका रथी हरु

बि.सं.२०४८ मा प्रधानमन्त्री भएपछि तत्कालिन शाही नेपाली सेनालाइ आफु र नेपाली कांग्रेस अनुकुल बनाउने मनसायले आफ्ना बिश्वासि प्रधानसेनापति नियुक्त गर्ने उदेश्य राखेर रक्षामन्त्रीसमेत रहेका गिरिजाप्रसाद कोइरालाले आफ्ना सगोत्री सुबेदार कर्मचारी अर्जुन कोइरालाको परामर्शमा उपरथी पदबाट सेवानिवृत्त हुने पक्काभएका योगेन्द्रप्रतापजंग राणालाइ पदोन्नत गर्न रथीपदको दरबन्दि सृजना गरे । सो दरबन्दिको तत्कालिन राजदरबार सैनिक सचिवालयबाट स्वीकृत हुनुअघि नै बि.सं.२०५१ मा राणा उपरथी पदबाट अवकास भए र भ्रष्टाचार पुष्टि भएर आर्थिक जरिवाना र जेलपरे । स्वीकृत २ रथीपदमा ज्येष्ठ उपरथीद्धय धर्मपालवरसिंह थापा र कृष्णनारायणसिंह थापा बि.सं.२०५१।९।२८  मा पदोन्नत भए ।

कृष्णनारायणसिंह थापा संयुक्त राष्टसंघको शान्ति सैनिक मिसनमा कार्यरत थिए । सिनियर धर्मपालवरसिंह थापा प्रधानसेनापति भए । त्यसयता ज्येष्ठ उपरथी पदबाट कृष्णबहादुर गुरुङ, फत्तेबहादुर लिम्बु, प्रज्वल्लशमशेर जबरा, छत्रबिक्रम शाह, सुशीलराज कार्की, दुर्गानाथ शर्मा, प्यारजंग थापा, भिक्टी राणा, सदिपबहादुर शाह ,चित्रबहादुर गुरुङ, रुक्मांगत कटवाल, बालानन्द शर्मा, कुलबहादुर खड्का, अमर पन्त, (मानार्थ रथी यादवबहादुर रायमाझी), छत्रमानसिंह गुरुङ, पवनजंग थापा, तोरणजंगबहादुर सिंह, गौरवशमशेर जबरा, नेपालभुषण चन्द, नेत्रबहादुर थापा, पवनबहादुर पांडे, प्रदिपबिक्रम राणा, राजेन्द्र छेत्री, बलदेवराज महत, पुर्णचन्द्र थापा, हेमन्तराज कुंवर, शरदकुमार गिरि, गौरव तण्डुल, प्रभुराम शर्मा र इश्वर हमालसहित ३२ जना उपरथीहरु रथी पदमा पुगेका छन् । ती ३२ मध्ये ९ जना (प्रभुराम शर्मा हुन बांकीसमेत) प्रधानसेनापति अर्थात महारथी भए । 

सिनियर भएर पनि रथी पदमा बढुवा हुन नसकेका उपरथी हरु

तीन जना सिनियर उपरथी ः रघुचन्द्रबहादुर सिंह, गोबिन्दबहादुर गुरुङ र अनुजबहादुर बस्न्यातले रथी पदको दरबन्दि रिक्त हुंदा आफु ज्येष्ठ उपरथी भएर पनि प्रधानसेनापतिले गरेको पुर्वाग्रह र विभेदले रथी पद पाउन सकेनन् । संयोगले, जंगी अड्डामा वहाल रहेका सबैभन्दा ज्येष्ठ उपरथीका हैसियतले रघुचन्द्रबहादुर सिं र गोबिन्दबहादुर गुरुङले शाही नेपाली जंगी अड्डामा प्रधान सेनापतिलाइ पहिलो सलामी दिने मौका पाए ।

बि.सं.२०५२ जेठ १ गते प्रधानसेनापति नियुक्त भएका धर्मपालवरसिंह थापा राजदरबारमा महारथी दर्जाको दर्ज्यानी चिन्ह फुली लगाएर सिधै जंगी अड्डामा आए । जंगी अड्डामा नेपाली सेनाका सबैभन्दा सिनियर सेैनिक अधिकारी नेतृत्वमा सैनिक टुकडीले प्रधान सेनापति सलामी अर्पण गर्ने परम्पराअनुसार उनलाइ उपरथी रघुचन्द्रबहादुरसिंहले सलामी अर्पण गरे । रघुचन्द्रबहादुरसिंहभन्दा सिनियर रथी पदका कृष्णनारायणसिंह थापा त्यसबेला यु.एन.मिसनमा थिए ।

शाही नेपाली जंगी अड्डामा २ रथीपद दरबन्दिमध्ये १ रथीपद रिक्त थियो । सिनियर उपरथी रघुचन्द्रबहादुरसिंहलाइ जेठदेखि पुषसम्म उपरथीपदमै राखेर प्रधानसेनापति धर्मपालवरसिंह थापाले बिनाकारण घरजान बाध्य पारिदिए । निरास भएर सिंह उपरथी पदबाटै अवकास भए ।   यसैगरी बि.सं.२०६३ भदौ २५ गते सिंहदरबारमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हातबाट महारथी पदको फुली लगाएर जंगी अड्डा फर्किएका रुक्मांगत कटवाललाइ त्यसबेला जंगी अड्डामा वहालमा रहेका सबैभन्दा सिनियर अधिकृत उपरथी गोबिन्दबहादुर गुरुङ नेतृत्वको सैनिक टुकडीले सलामी अर्पण गरेको थियो ।

गुरुङभन्दा सिनियर रथी पदका बालानन्द शर्मा त्यसबेला यु.एन.मिसनमा कार्यरत थिए । २ मध्ये १ रथी पद रिक्त थियो र गोबिन्दबहादुर गुरुङ पृतना कमाण्ड गरिसकेका योग्य सिनियर उपरथी थिए । तर आफैं प्रधानसेनापति बन्न ब्रिफकेसमा पैसा बोकेर नेताहरुको दैलोमा दगुरेको र सैनिकसचिब नियुक्ति हुंदा श्री ५ बाट हुकुमप्रमाङ्गीबाट कटवालले उमेर सच्याएको कागजाद वाहिरिन मद्धत पुर्याएको शंकाको सुबिधा उपयोग गरेर प्रधानसेनापति कटवालले करिब ६ महिना रथीपद रिक्त राखे ।

रथी पदको का.मु. को जिम्मेवारी पनि गोबिन्दबहादुरगुरुङलाइ पन्छाएर उनले त्यसबेलाका कनिष्ठ उपरथी अमर पन्तलाइ हेर्न दिए । उमेर र पदावधि सकिएर गुरुङ अवकास भएपछि र अर्का रथी वालानन्द शर्मासमेत २ वर्षे कार्यकाल पुरा गरी अवकास भएपछि प्रधानसेनापति कटवालले कुलबहादुर खड्का र अमर पन्तलाइ रथी पदमा बढुवा गरिदिए ।

यसैगरी बि.सं.२०७५।५।२५ मा पुर्णचन्द्र थापा प्रधानसेनापति नियुक्त भएपछि रिक्त भएको रथीपदमा त्यसबेलाका सिनियर उपरथी अनुजबहादुर बस्नेतलाइ पदोन्नत गरिएन । महिनौं रथी पद रिक्त राखेर बस्नेत उपरथीबाट नै अवकास पाएपछि शरदकुमार गिरिलाइ रथी पदमा पदोन्नत गरिदिए । माथिका तीनै सिनियर उपरथीलाइ रथीपदमा पदोन्नत नगर्नुमा सरकारको होइन तत्कालिन प्रधानसेनापतिको कारणले थियो । 

बि.सं.२०६३ पछिका प्रधानसेनापतिका ३ वर्षे फरकफरक सैनिक मोडल    

बि.सं.२०६३ असोजको गणतान्त्रिक सैनिक ऐनपछि ३ वर्षे कार्यकालका लागि प्रधानसेनापति नियुक्त हुनुभएका पाँच जना महारथी हरुबाट सेना र स्वयंका लागि गरिएका योगदानलाइ सरसरति नियाल्दा पाँच फरक सैनिक मोडल अवलम्बन गरिएको पाउन सकिन्छ । जस अन्तर्गत प्रथम प्रधानसेनापति रुक्मांगत कटवालले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारसग संघर्ष गरी राष्ट्रपतिमार्फत न्याय पाउन सक्नुलाइ पुरुषार्थ का रुपमा चर्चा गर्दै आएका छन् ।

आम सैनिकहरु भने प्रधानसेनापति कटवालले सैन्य व्यारेकमा लेखिएका श्री ५ का वाणी मेटाएर आफ्ना भनाइ कोर्न लगाएको र ललितपुरको खुमलटारमा अरबौं मुल्यको कटवाल महल निर्माणलाइ नै त्यस ३ वर्षे कार्यकालको सर्वश्रेष्ठ उपलव्धिका रुपमा लिने गर्दछन् । संक्रमणकालीन त्यस परिस्थितिमा सेनाभित्र नेतृत्वको कमाण्ड कायम राख्नसक्नु कटवालको ठुलै सफलता थियो । साथै सेनाभित्र माओवादी स्वार्थ र राजनीतिक घुषपैठलाइ निस्तेज बनाउन कटवाल सफल रहे । यो उनको सकारात्मक पक्ष हो । मुख्यरुपमा कटवालको ३ वर्षे त्यो अवधि सेना सरकार टकरावको मोडल थियो ।    

उनीपछिका प्रधानसेनापति छत्रमानसिंह गुरुङले आफुलाइ समस्त नेपाली जनताको नभएर जनजाति समुदायको प्रधानसेनापतिका रुपमा उभ्याउन आफ्नो ३ वर्षे कार्यकालमा ठुलै प्रयत्न गर्नुभयो । स्वयं गुरुङले भने आफ्नो आत्मवृतान्तमा क्यान्टोनमेन्टमा रहेका माओवादी लडाकुलाइ सेनामा समायोजन गर्नसक्नुलाइ सफलता मानेका छन् । प्रधानसेनापति कार्यकालमा उनी मातहत काम गरेका सैनिक अधिकारीहरुका अनुसार गुरुङगको ३ वर्षे कार्यकाल नेपाली सेनालाइ कसरी जनजातिमय बनाउन सकिन्छ ? भन्नेमा केन्द्रित रह्यो । सारमा त्यो ३ वर्षे अवधि जनजाति मोडल थियो । 

छत्रमानसिंह गुरुङपछिका प्रधानसेनापति गौरवशमशेर जबरा आजकाल आफ्ना पुराना सैन्य सहकर्मीहरुसगको भेटमा आफुलाइ गणतन्त्रले प्रधानसेनापति बनाएको चर्चा गर्नुहुन्छ । आफ्ना पिता रथी आदित्यशमशेर जबरालाइ रथीपद खारेज गरी प्रधानसेनापति बन्नबाट राजदरबारले वन्चित गरेको तर आफु भने माओवादीको सदासयतामा प्रधानसेनापति बन्न सफल भएकोमा गौरवशमशेरले मनदेखि नै गौरव मानिरहनुभएको प्रतीत हुन्छ ।

प्रधानसेनापतिको रोलमा रहेका उपरथी प्रेमप्रकाश थापामगरलाइ पुर्वाग्रहवश बर्खास्त गरेर पश्चाताप गर्नु वहांको ३ वर्षे कार्यकालको स्मरणीय काम थियो । जबराले प्रधानसेनापतिका रुपमा अघि बढाउन खोजेका बिनोज बस्न्यातलाइ उनीपछिका राजेन्द्र छेत्रीले उपरथीमै पदावधि नथपेर निरास पारिदिए । समग्रमा जबराको त्यो ३ वर्षे अवधि अन्योलको मोडल थियो ।गौरवशमशेर जबरापछि प्रधानसेनापति नियुक्त हुनुभएका राजेन्द्र छेत्रीलाइ ३ वर्षे कार्यकालमा अर्बपति महारथी (हेर्नुहोस ः बि.सं.२०७५ असोज ५ को नेपाल साप्ताहिक ) बन्न सफल भनी चर्चा गरियो । वहांको अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सघीय संसदको राज्य व्यवस्था समितिमा विचाराधिन छ । यो ३ वर्षे अवधि अर्बपति मोडल बनेको कतिपय सैनिकको शंका छ ।  

छेत्रीपछि प्रधानसेनापति नियुक्त हनुभएका पुर्णचन्द्र थापाको ३ वर्षे कार्यकाल भरखर पुरा हुंदैछ । थापा रथी पदमा रहंदा काठमाण्डौ निजगढ द्रुत मार्ग निर्माणको संयोजक हुनुहुन्थ्यो । चार वर्षको अवधिमा सो द्रुत मार्गको १६ प्रतिशत काम भएको छ तर खर्च अनुमानभन्दा तीन गुणा धेरै भइसकेको छ । यो असफलताबारे थापाको प्रतिक्रिया आएको छैन । बिकास निर्माण महानिर्देशनालयका पुर्वमहानिर्देशक योगेन्द्र खांण र पुर्वप्रधानसेनापति छेत्रीबाट सो द्रुत मार्गको रकम हिनामिनाबारेमा पत्रपत्रिकामा आएका चर्चा बिचमै सेलाएका छन् । यसबारे कतैबाट थप खोजी र अनुसन्धान हुनसकेको छैन । 

प्रधानसेनापति थापाले आफ्नो कार्यकालमा आर्थिक अनियमिततामा संलग्न उच्च सैनिकलाइ जरिवानासहित कारवाही गरेका छन् । सङ्गठनभित्र यौन कार्यमा संलग्न ठहरिएका जर्नेलसमेतलाइ कारवाहि गरेका छन् । सैनिक भर्ना लगायत गलत कार्यमा अनियमितता गर्नेलाइ बर्खास्त गरेका छन् । सेनाभित्र आर्थिक पक्षको व्यवस्थापन गर्ने सहि प्रणाली बसाल्ने प्रयास गरेका छन् । सेनापति थापाले आर्थिक अनियमितता गरेको आवाज सुनिएको छैन । प्रधानसेनापति नियुक्त भएपछि व्यक्तिगत सम्पत्ति सार्वजनिक गरेर उदाहरणीय परम्परा सुरुवात गरेका छन् । थापाको ३ वर्षे अवधिलाइ केहि सैनिक कारवाही मोडल भन्न मन पराउछन् । थापाको ३ वर्षे कार्यकालका राम्रा कामले निरन्तरता पाउनुपर्छ भन्ने धेरैको मत छ ।  

सारांस

राष्ट्रिय सेना र प्रधानसेनापतिको सफलता–असफलताको मापन राष्ट्रको अखण्डता अक्षुण्ण राख्नसक्नु र सीमा सुरक्षा गर्नसक्नुमा हुन्छ । त्यसपछि सेनाले जनताको ज्यु–धनको सुरक्षाप्रति देखाएको दायित्ववोध र अग्रसरताबाट हुनसक्छ । सैन्य सङ्गठनको स्थापना, औचित्य र सार्थकता यहि हो भन्नेमा कोहि कसैमा दुइमत छैन । यो तथ्य अवगत भएर पनि सेनाको ठुलो तप्का मुख्य कर्तव्यबाट पन्छिएर आफ्नै आन्तरिक व्यवस्थापनमा केन्द्रित छ । नेपालमा सेना र सेनापतिको कार्यकालको मुल्याङ्कन पनि आन्तरिक व्यवस्थापनलाइ नै आधार मानेर गर्ने गरिन्छ ।

धेरै चर्चा आन्तरिक व्यवस्थापनको भएपनि सारमा सेनाको भूमीकालाइ यतिमा मात्र बुझ्न खोज्नु पक्कै दृष्टिदोष हुनेछ । हिजो सेना शाहबंशीय राजसंस्थाको सत्तारक्षक थियो, आज सेना गणतान्त्रिक नेताको सत्ता सारथी बन्दै गएको सामाजिक सन्जालदेखि पत्रपत्रिका र चियापसलमा बसेर गफहां“क्ने टीप्पणीकारको ठहर छ । तर हामीले बुझ्नै पर्ने सत्य के हो भने, अढाइसय वर्षभन्दा लामो इतिहास बोकेको नेपालको राष्ट्रिय सेनाको सार्थकता र भूमीकाको बारेमा यसप्रकारका हल्का टीप्पणीले पनि त्यति धेरै अर्थ राख्दैन । 

पन्चायतकालको अन्ततिरबाट नेपाली सेनाको प्रधानसेनापति पदमा सर्वश्री योग्य, क्षमतावान र प्रतिभावानको खोजीभन्दा पदमा वहाल रहेका ज्येष्ठ र अघिल्लो प्रधानसेनापतिले पत्याएको उपरथी/रथीलाइ महारथीमा बढुवा गरि प्रधानसेनापति पदमा नियुक्त गर्ने परम्परा बिकास हुंदै आएको छ । बि.सं.२०४६ र २०६३ को परिवर्तनपछि पनि यहि तथ्य हावी छ । हालका प्रधानसेनापतिहरु १ महिना कायममुकायम, ३४ महिना कार्यकारी र १ महिना बिदामा बसेर ३ वर्षे कार्यकाल पुरा गर्दछन् ।

नयाँ प्रधानसेनापति नियुक्त भएपछि प्रधानसेनापतिबाट नेपाली सेनामा आफुले लागु गर्ने ३ वर्षे नयाँ भिजन प्रस्तुत हुन्छ, जसलाइ हामी सेनाको ३ वर्षे मोडल भनी टीप्पणी गर्न सक्छौं । 
यहां चर्चा गर्न खोजिएको सार कुरा– आज नेपाली सेनामा ३ वर्षे मोडल प्रचलनमा छ । अरु कुरा तपशीलका हुन् ।  

– लेखक मोहन थापा  अ.प्रा.,सुबेदार नेपाली सेना , उहाँ सैन्य ईतिहासका अध्येता हुनुहुन्छ  ।