२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवलिङ्ग महादेवको अङ्ग हो त ?



अ+ अ-

अमूर्त वस्तुलाई देखाउने माध्यम नै मूर्ति हो । मनलाई स्थिर बनाउने ठाउँ नै मन्दिर हो । यसैले हामी विभिन्न मन्दिरमा रहेका मूर्तिलाई तिथि र पर्व विशेषमा दर्शन गर्छौ । त्यसमध्ये साउन महिना र सोमवार शिवलिङ्गको पूजा उपासना, दर्शन गर्नेहरुको भीड लाग्छ । शिवको अर्थ परमात्मा र लिङ्गको अर्थ चिह्न हुन्छ । अदृश्य वा निराकार शिवलाई जुन मूर्ति वा आकारले चिनाउँछ त्यसलाई शिवलिङ्ग भनिन्छ । न्यायदर्शनका अनुसार ‘लीनं प्रच्छन्नं अर्थं गमयति बोधयतीति लिङ्गम्’ अर्थात् जसले गुप्त रहेको प्रयोजन वा ज्ञानलाई बोध गराउँछ त्यसलाई लिङ्ग भनिन्छ । परमात्मालाई आँखाले देख्न सकिँदैन  । त्यसलाई चिनाउन जुन रुप वा आकार बनाइन्छ त्यही लिङ्ग हो । ब्रह्माण्डको विनाश हुँदा जसमा सबै तत्त्व, शक्ति वा ज्ञान लीन हुन्छन्, सम्पूर्ण जगत् जसमा अडेको छ, त्यसलाई ऋषिमुनिहरूले लिङ्ग भन्दछन् । परमात्मालाई चिनाउने लिङ्ग वा आकार नै शिवलिङ्ग हो ।

संस्कृत भाषाको ज्ञान नहुनु, वेद र पुराणको अध्ययन नगर्नु, शास्त्रको प्रकरण र पारिभाषिक शब्दको अर्थ ज्ञान नहुँदा परमात्माको मूर्ति देवता विशेषको अंग हुन पुग्यो । शिवलिङ्ग परमात्माको मूर्ति हो यसले  ईश्वरलाई बुझाउँछ, शिवलाई चिनाउँछ । यसले ब्रह्माण्डमा रहेका अनेकौँ शक्ति (ऊर्जा) लाई तान्न, सन्तुलनमा राख्न र रहस्यलाई बुझ्न सहयोग गर्छ । ईश्वरको स्वरुप, ब्रह्माण्डको आकार, वेदको ज्ञान र पौरस्त्य विज्ञानलाई समेटेर निर्माण गरिएको मूर्तिकलाको ठूलो उपलब्धि नै शिवलिङ्ग हो । यसलाई देवीदेवता र राक्षसले मात्र होइन प्रकृतिले समेत निर्माण गरी पुजेको इतिहास छ । प्रकृतिले बनाएको पहिलो शिवलिङ्ग कैलाश पर्वत, सगरमाथा, किलिमञ्जारो, हिन्दकुश, पाथीभरा आदि पर्वत श्रृङ्खलाहरू हुन् । हिउँले निर्माण गरेको शिवलिङ्ग अमरनाथ हो, परमात्मा स्वयंले तयार गरेको शिवलिङ्ग भने ब्रह्माण्ड हो ।

नेपाल शिवको देश हो, शैव संस्कृतिको राष्ट्र हो, शिवले आरक्षण र संरक्षण गरेको मुलुक हो । यसैले यहाँका कणकणमा शिवको सुवास छ । कालीगण्डकी किनारमा अवस्थित गलेश्वरधाममा शालग्रामका रूपमा शिवलिङ्गको उत्पत्ति भएको छ, जसलाई ‘ढुङ्गा पलाएको’ भनिन्छ । शिवलिङ्गको उत्पत्ति कतिपय स्थानमा ढुङ्गा पलाएर, कतै पहाड उठेर, कतै माटो थुप्रिएर, कतै बालुवा जम्मा भएर, कतै हिउँ जमेर निर्माण भएका छन् । शिवलिङ्गको लोकप्रियताकै कारण उपत्यकाका अधिकांश पुराना धारापँधेराको स्वरूप पनि शिवलिङ्गको आकारमा निर्माण गरियो । अवशेषका रूपमा रहेका पुराना धाराकुवाहरू जलहरी आकारभित्र निर्माण गरेको भेटिन्छन् । आकाशीय पिण्डहरूले आपसमा मिलेर शिवलिङ्ग बनाएका छन् । ब्रह्माण्डमा  चौध लोक छन् । प्रत्येक लोकमा ३३ कोटी देवीदेवताहरूको निवास छ । चौध लोकका सबै देवीदेवतालाई अल्पज्ञान र छोटो आयुवाला कलियुगका मानिसबाट पूजा, उपासना सम्भव छैन । सबै देवीदेवतालाई एकै ठाउँमा राखेर पूजा गर्न जुन आकार बनाइयो, त्यसलाई शिवलिङ्ग भनियो । त्यसैले शिवलिङ्गको स्वरूप ब्रह्मा, विष्णु, महादेवको जस्तो छैन, न त जनावर, न त पंक्षी, न त सरिसृपको जस्तो छ, न त कुनै धर्मगुरु र धर्मप्रवर्तकहरूसँग मेल खाने किसिमको छ । यसको न त टाउको छ, न त हात खुट्टा, न त शरीर नै । त्यसकारण शिवलिङ्ग र शालग्राम परमात्माका साक्षात् मूर्ति हुन्, देवीदेवताका अंग होइनन् ।

शिवलिङ्गबाट सबै देवताको उपत्ति भएको हो, कुनै पनि देवताबाट लिङ्गको उत्पत्ति भएको होइन । यसकारण देवीदेवताहरूले  शिवलिङ्गको पूजा गरेका हुन् । ईश्वरको मूर्ति हुनाले यसको पूजा गर्दा सबै देवीदेवता पूजित हुन्छन् ।  त्रेतायुगमा भगवान् रामले रावणसँग युद्ध गर्न लंका प्रवेशअघि शिवलिङ्गको पूजन गरेका थिए । रामले स्थापना गरी पूजेकाले यसलाई रामेश्वरशिवलिङ्ग भनिन्छ । ब्रह्मा, विष्णु, रुद्र, इन्द्रादि लोकपाल, मुनिगण आदिले शिवलिङ्गको पूजा गरेका छन् । जीवनको उद्धार होस् भनी भूलोक, भुवः र स्वः गरी तीनै लोकमा महादेवले शिवलिङ्ग स्थापना गर्नुभएको थियो ।  महादेवले शिवलिङ्ग पूजेको, शिवलिङ्गलाई काँधमा बोकेर हिँडेको वर्णन पुराणहरूमा पाइन्छन् । शिवलिङ्ग परमात्माको प्रतीक भएकाले महादेवले काँधमा बोके, आफ्नै अङ्ग काँधमा बोक्न मिल्छ त ?   

मानिसको शरीरमा बहत्तर हजार नाडी हुन्छन्, तीमध्ये १४ वटा मुख्य छन् । हामी १४ लोकमाथि विश्वास गर्छौ, जसलाई बनाउने, चलाउने ईश्वर नै शिव हुन् । यसले शिवलिङ्गको बोध गराउँछ । हातका पाँच औँलामा (चारवटा औँलामा तीन खण्ड छन्, बुढीऔँलामा दुई खण्ड छन्) चौध खण्ड छन्, प्रत्येक खण्डले एउटा लोकको प्रतिनिधित्व गर्दछ । पाँच औँलालाई जोड्दा शिवलिङ्ग बन्दछ, हत्केलाले जलहरीको आकार लिन्छ । ब्रह्माण्डका चौध लोकहरूलाई एकमाथि अर्को खप्ट्याउँदै जाँदा बन्ने आकार शिवलिङ्ग हो, पृथ्वीलाई जलहरीको रूपमा लिइन्छ, जहाँ ब्रह्माण्डका सम्पूर्ण देवीदेवताको निवास रहन्छ ।  मेरुदण्डमा ३२ खण्ड अर्थात् ३३ वटा हाड छन् । हामी ३३ कोटी देवताको उपासक हुनपर्ने कारण शरीरले नै बताउँछ । मेरुदण्डले प्राणीलाई उभिन सहयोग मात्र गर्दैन योग र तन्त्रको प्रभावलाई ग्रहण गर्छ । मन्त्र र श्लोकका व्याख्या व्यक्तिअनुसार फरक पर्नाले केही अवसरवादीहरूले द्रव्यमोह एवं अज्ञानवश शिवलिङ्गको गलत अर्थ र प्रचार गरेका छन् । यही मौका पारेर विधर्मीहरूले परमात्माको मूर्तिलाई महादेवको अङ्क बनाइदिए । जुन विषय न शास्त्रसँग मेल खान्छ, न त व्यावहारिक पक्षसँग नजिकको सम्बन्ध राख्छ । शिव भन्नाले पार्वतीका पति, गणेशका बुबा, हिमालयपर्वतमा बस्ने जटाधारी, नन्दीमा चढ्ने जोगी होइनन् । लिङ्गले चिह्न एवं शिवले परमात्मालाई बुझाउँछ, यसरी शिवलिङ्गले परमात्माको स्वरूप वा आकारको बोध गराउँछ, न कि महादेव र पार्वतीको अङ्ग ।

ऋग्वेद मा दुई ठाउँमा शिश्नदेव शब्द आएको छ । वेदमा प्रभूसम्मित् भाषा प्रयोग हुन्छ जसले संकेत र आदेश गर्छ । वेदले व्याख्या, विश्लेषण र उदाहरण दिँदैन । यसैले वेदका प्रसङ्गलाई सांकेतिक रुपमा बुझ्नुपर्छ । शिश्नदेव शब्दले अङ्गलाई बुझाउँछ कि अविनाशीलाई ? त्यो चिन्तनको विषय हो । लौकिक संस्कृतभाषामा ‘शिश्न’को अर्थ पुरुष प्रजनन् अङ्ग पनि हुन्छ । यस प्रकरणमा ‘शिश्न’ शब्दमा ‘देव’ जोडिएको छ । आदरणीय वा पुजनीयसँग ‘देव’ शब्द आउँछ जस्तै सूर्यदेव, जलदेव, इन्द्रदेवमात्र होइन गुरुदेव, पतिदेवसँग पनि भनिन्छ । वेद, उपनिषद्, पुराण आदिमा ‘देव’ शब्द अङ्गसँग जोडिएको पाइँदैन । जस्तै आँखादेव, खुट्टादेव, हातदेव आदि भनिएको सुनिदैन । यसैले सन्तान जन्माउने अङ्गमा देव शब्द जोडिनुले शिश्नको अर्थ प्रजनन् अङ्ग होइन भन्ने प्रष्ट हुन्छ । शिश्नदेवको सत्यतथ्य बुझ्न वेदका ब्राह्मणग्रन्थ, प्रतिशाक्यसहित प्रकरणलाई राम्रोसँग अध्ययन गर्न आवश्यक छ । शिश्नका अनेक अर्थमध्ये बलियो, सक्षम आदि पनि हुन्छन् । यसैले संस्कृतभाषाको ज्ञान नभई पश्चिमाको अनुवाद पढ्दा शिश्नको अर्थ अङ्गमा सीमित हुन पुग्यो ।

परमात्माको कुनै आकार हुँदैन, त्यसलाई सङ्केतबाट बुझ्नुपर्छ जसलाई शिवलिङ्ग स्वरूपमा चिनाइन्छ । लिङ्गले अङ्गलाई बुझाउँदैन । हामी अङ्गलाई पूजा गर्दैनौँ । महादेवको अङ्गलाई पूज्ने भए गणेश, विष्णु, आदिको अङ्ग पनि पुज्ने थियौँ । ब्रह्मालिङ्ग, रुद्रलिङ्ग, गणेशलिङ्ग, विष्णुलिङ्ग, देवीलिङ्ग भनेको कतै सुनिदैन केवल शिवको मूर्तिलाई मात्र शिवलिङ्ग भनिन्छ । अन्य देवीदेवताको मूर्ति राखिएको घरविशेषलाई मन्दिर भनिन्छ । उदाहरणका लागि दन्तकालीको मन्दिर, शैलेश्वरीको मन्दिर, गणेशको मन्दिर, विष्णुको मन्दिर भनिन्छ तर शिवलिङ्ग राखिएमा शिवमन्दिर नभनेर शिवालय भनिन्छ । अदृश्य परमात्मालाई बोध गराउने लिङ्ग (चिह्न)  शिवलिङ्ग हो, शिवलिङ्ग मूर्ति होइन चिह्न हो । शिवलिङ्ग जहाँ राखिन्छ त्यसलाई शिवालय भनिन्छ । यो कुनै सम्प्रदाय र धर्मविशेषको एकल देवता होइन । त्यसकारण शिवलिङ्गको प्रयोग र प्रभाव सबैमा परेको देखिन्छ । इस्लामहरूको पावन तीर्थस्थल मक्कामा मक्केश्वरशिवलिङ्ग थियो, बौद्धका आस्थाको केन्द्रका रूपमा रहेका चैत्य पनि शिवलिङ्ग आकारमा बनेको पाइन्छ । इसाईहरूको क्रूसलाई राम्रोसँग हेर्ने हो भने जिससको हात फैलिएको भाग जलहरी एवं माथि र तल्लोभाग (शिव तथा ब्रह्माभागका) शिवलिङ्गको रूपमा देखिन्छ । हरेक मन्त्रको अगाडि आउने ‘ॐ’ र व्यञ्जनवर्णको पहिलो अक्षर ‘क’ को स्वरूप पनि शिवलिङ्गसँग मेल खान्छ । कुनै पनि धर्मसंस्कृतिमा प्रयोग हुँदै आएका आकृति वा स्वरूपलाई निहाल्दा त्यसको शास्त्र, इतिहास, परम्परा, कथा, रहस्यलाई अध्ययन गर्नुपर्छ । ॐ स्वयं तीन अक्षरको संयोजनबाट बनेको छ । प्रकृतिका (सत्व, रज, तम) तीन गुण छन्, तीन वेद (ऋक्, साम, यजु)को उत्तिकै महत्त्व छ । यसलाई बुझाउन तीन कोणात्मक जलहरी भएको शिवलिङ्ग निर्माण भयो । अर्थै नबुझी त्रिकोणात्मक शिवलिङ्गलाई स्त्री प्रजनन् अङ्ग भनी  अनर्थ र अपव्याख्या गरियो । त्रिकोणात्मक जलहरी भएको शिवलिङ्गलाई कतिपयले भगाकारजस्तो मानी ऐन्द्रशिवलिङ्ग पनि भनेका छन् ।

एकपटक ऋषिपत्नीहरू महादेवसँग मोहित भएर पछि लागेको देखेर ऋषिहरु रिसाएर महादेवको लिङ्ग पतन होस् भनी श्राप दिए । महादेवको लिङ्ग पतन भएर संसारै ढाक्यो । त्यसको भार पृथ्वीले थाम्न सकिनन् र विष्णुसँग प्रार्थना गर्न लागिन् । विष्णुले आफ्नो चक्रबाट लिङ्गलाई टुक्राटुक्रा बनाउने विचार गरी महादेवको प्रार्थना गर्नुभयो । यो प्रकरणलाई हेर्दा बच्चालाई सुनाउने मानगणन्ते कथाजस्तो बुझिन्छ । पुराणहरुमा ऋषिहरूले मृत्यु, विनाश, दुःखकष्ट भोग्ने श्राप दिएको वर्णन छ । तर अंगपतन होस् भनी श्राप दिएको कतै पाइँदैन । पुराणको यो कथामा कवि वा नयाँ वेदव्यासले निकै सम्पादन गरेको देखिन्छ । ऋषिहरूले महादेवलाई उनको इष्टदेव (शिवलिङ्ग) बाट वियोग होस् भनी श्राप दिएका हुन सक्छन् । ‘प्रियं त्वं रोत्स्यसि’ अर्थात् प्रिय वस्तुले रुवाउँछ । हरेक प्राणीलाई प्रियवस्तुको अभावमा बाँच्न र आफूलाई सम्हाल्न गाह्रो हुन्छ । महादेवलाई साधनाको मूल वस्तुबाट अलग गराएपछि त दुःख दिए जस्तै भयो । किन कि महादेवका इष्टदेव शिवलिङ्ग (ब्रह्म) थिए । महादेवले पूजा, उपासना गरेको शिवलिङ्ग नाश हुन खोज्दा विष्णुले लोककल्याणका लागि टुक्रा–टुक्रा बनाएर पृथ्वीमा पठाए । कल्याणकारी महादेवले विष्णुलाई भन्नुभयो–

    यत्र यत्र गमिष्यामि नन्दिना स्कन्दिना सह ।
    तथान्यैर्नायकगणैर्भवता ब्रह्मणा सह ।।
    तत्र तत्र हि लिङ्गानि भविष्यन्ति भूवस्तले ।
    तत्र तत्र निजांशेन भवता ब्रह्मणुपि हि ।।
                         मानसखण्ड (४।१०८–१०९)

अर्थात् “जहाँ जहाँ म (शिव), नन्दी, कार्तिकेय अन्य गणनायक, विष्णु र ब्रह्माको साथमा जानेछु त्यही भूमण्डलमा लिङ्ग स्थापित हुनेछ ।”

यसपछि विष्णुले काटेर त्यस शिवलिङ्गलाई नौ टुक्रा बनाएर पृथ्वीका विभिन्न भागमा स्थापना गर्नुभयो । यसैले शिवलिङ्गको तल्लो भागलाई ब्रह्मा, बीच भागलाई विष्णु र माथिल्लो भागलाई महादेव संझेर शिवलिङ्गको स्थापना भयो । महादेव र शिवलिङ्ग बिल्कुल फरक मूर्ति हुन् । त्यसैले त शिवलिङ्गलाई शङ्गरलिङ्ग, रुद्रलिङ्ग वा महादेवलिङ्ग भनिएन । हाम्रा ऋषिमुनि र शास्त्रले देवताको अङ्ग पूजा गर्न सिकाएका छैनन् । लक्ष्मी, दुर्गा, सरस्वती, विष्णु, महादेव, गणेश आदिको पूजा गर्छौ तर उनीहरूको अङ्ग अझ गुप्ताङ्ग पूजा गर्ने कुनै शास्त्रीय विधान छैन । गणेशको सूँढमात्र पूजेको बयान गणेश पुराणमा, विष्णुको नाकमात्र पूजेको उल्लेख विष्णु पुराणमा पाइँदैन भने महादेवको गुप्ताङ्ग पूज्न हाम्रो धर्मले कसरी निर्देशन गर्ला ? शिवलिङ्गमा रहेको जलहरी र लिङ्ग भागलाई शिव र शक्ति, ईश्वर र माया, पुरुष र प्रकृति मानिन्छ । शिवलिङ्गले यौनक्रीडालाई बुझाएको होइन, सृष्टि विकासलाई बताएको हो, परमात्मा र प्रकृतिको मिलनकेन्द्रलाई व्याख्या गरेको हो, मुक्ति र भुक्तिका लागि सुलभ मार्गको बयान गरेको हो । ईश्वर र मायाको त कुनै प्रजनन् अंग नै हुँदैन, किन कि उनीहरूको शरीर हुँदैन । राजनेता र धर्मगुरुहरूको अभाव भएको समय पारेर अज्ञानवश, भ्रमवश वा वैदिक परम्परालाई नष्ट गर्ने हेतुले शिवलिङ्गलाई महिला र पुरुषको अंग भएको प्रमाणित गर्न विधर्मीहरूले अनेकौँ प्रहार एवं प्रचार गरेका छन् । यसभित्रको आधार र आधेयभाव नबुझ्नु हाम्रा लागि दुर्भाग्यको कारण भयो ।

महाभारतको युद्धपछि व्यासलाई अश्वत्थामाले साेधे “मैले जीवनभर महादेवको पूजा गरेँ । युद्धकलामा अर्जुनभन्दा म कम छैन तथापि के कारण मैले हारेँ ?”

वेदव्यासले भन्नुभयो “अर्जुनले शिवलिङ्गको पूजा गरे तर तिमीले महादेवको पूजा गर्यौ । यहीकारण सबै कुरामा तिमी अर्जुन समान भए पनि साधना बलको कमीले हारेका हौ ।”

महाभारतको यस प्रसङ्गले पनि महादेव र शिवलिङ्ग फरक भएको पुष्टि हुन्छ । महादेवको पूजा सय वर्ष गर्नु र शिवलिङ्गको पूजा एक दिन गर्नुको फल बराबर हुन्छ ।१०  पं. जगन्नाथ शास्त्रीले भन्नुभएको छः–

    लिङ्गं चिह्नेSनुमाने च साङ्ख्योक्तप्रकृतावपि ।
    शिवमूर्त्तिविशेषे च मोहनेSपि नपुसङ्कम् ।

अर्थात् “लिङ्ग भनेको चिह्न वा प्रमाण हो, सांख्यदर्शनअनुसार प्रकृति वा स्वभावलाई लिङ्ग भनिन्छ । शिवमूर्तिविशेष वा मोहनीरूप भगवानलाई लिङ्गको उपमाले चिन्न सकिन्छ ।”

शिवलिङ्गमा वास्तवमा शिव (पुरुष) र शक्ति (प्रकृति)को प्रतिविम्ब छ ।११ पुरुषको आधार पाएर प्रकृतिले काम गर्छिन् । यसकारण रुद्र (पुरुष)लाई लिङ्ग र उमा (प्रकृति)लाई जलहरीका रूपमा चित्रण गरिएको छ । पुरुषको अर्थ पुरुषजनेन्द्रिय र प्रकृति भनेको स्त्रीजनेन्द्रिय होइन । हाम्रा ग्रन्थले जलहरीलाई महिलाको अंग एवं लिङ्गलाई पुरुषअङ्गको रूपमा वर्णन गरेका छैनन् । नारायणोपनिषद् (२।१६)मा ऊर्ध्व, हिरण्य, दिव्य, शर्व, ज्वल, आत्मा आदि लिङ्गको चर्चा छ । शास्त्रका  सत्य र तथ्य ज्ञान थाहा पाउन पारिभाषिक शब्द, सन्दर्भ, घटनाक्रम, प्रकरण आदि बुझ्न परमावश्यक छ । एक स्थानमा, एक सन्दर्भमा प्रयोग भएका शब्दको अर्थ, अर्को विषय र सन्दर्भमा फरक हुन्छ । दैनिक जीवनमा प्रयोग हुने शब्दमा पनि यस्ता कैयौँ उदाहरणहरू देख्न सकिन्छ । जस्तै बाटो काट्ने वाक्यमा आएको ‘काट्ने’ शब्दले हत्या बुझाउँदैन । ब्रह्मसूत्रनामक ग्रन्थमा वेदव्यासले ‘शास्त्रयोनित्वात्’ सूत्र उल्लेख गरेका छन् । यहाँ प्रयोग भएको ‘योनि’को अर्थ स्त्रीको अङ्ग नभएर ‘कारण’ वा ‘आधार’ हुन्छ । शुक्लयजुर्वेद (११।२०)मा समुद्रलाई योनी भनिएको छ । सतश्च योनिमसतश्च (शुक्लयजुर्वेद), यो योनिं योनिमधितिष्ठत्येकः (श्वेता.), अधितिष्ठति योनिं यो योनिं वाचैक ईश्वरः (लिङ्गपुराण), मम योनिर्महदब्रह्म (गीता), शास्त्रयोनित्वात् (वेदान्तदर्शन), यच्च स्वभावं पचति विश्वयोनिः (श्वेता.), सर्वयोनिषु कौन्तेय मूर्तयः संभवन्ति याः (गीता) । यहाँ आएका ‘योनि शब्दले परमात्मालाई बताएको हो कि अंगलाई संस्कृतभाषाको सामान्य ज्ञान भएमा सजिलै बुझ्न सकिन्छ । दर्शनको दृष्टिमा ज्ञानविषयक कर्मेन्द्रिय, प्राण आदि पञ्च वायु, मन–बुद्धिसहितको सूक्ष्मरूप नै लिङ्ग हो ।१२  प्राणी हुनका लागि यी तŒव आवश्यक छ । यसकारण गाई, बाख्रा, परेवा चिनाउने शरीर पुरैलाई लिङ्ग भनिन्छ । यसैले लिङ्गको अर्थ अनेकौँ जीवजन्तुलाई चिनाउन सजिलो बनाउने वा एकबाट अर्काको भिन्नता देखाउन अनुकूल हुने पूर्ण शरीर हो, अङ्गमात्र होइन ।

    प्रतिजन्म प्रपद्यन्ते जीवा मूढ चेतसः ।
    सूक्ष्मलिङ्गं शरीरन्तदामोक्षादक्ष्यं प्रिये ।।
                –तन्त्रात्मक रावणसंहिता, (ज्ञानखण्ड १।१।११)

अर्थात् “एक जन्मको प्रतिक्रियाबाट अर्को जन्म प्राप्त गर्ने मूढचेतन भएको जीवले आफूभित्र भएको सूक्ष्मलिङ्ग स्वरुप आफैँ (आत्मा) हो भन्ने जान्दैन ।”

यहाँ प्रयोग भएको सूक्ष्मलिङ्गले जीवात्माको बोध गराउँछ । अनेकौँ जन्मका संस्कार र कर्मफललाई जसले बोक्छ त्यो सूक्ष्मलिङ्ग हो । यहाँ लिङ्ग शब्दले प्रजनन् अंग बुझाउँदैन । शिवलिङ्ग यदि महादेवकै अङ्ग  थियो भने जलहरीको नाम पार्वतीको प्रजनन् अङ्ग हुनुपर्ने थियो । शिवलिङ्गमा रहेको लिङ्गको भाग पुरुष र जलहरीको भाग महिलाको अङ्ग हो भने शिवलिङ्ग शब्दलाई एक वचन नभई वहुवचनमा अर्थ आउने गरी प्रयोग गर्नुपर्दथ्यो । शास्त्रका आफ्ना पारिभाषिक शब्द छन् । त्यसलाई बुझिएन भने गलत अर्थ लाग्न सक्छ । जस्तै ज्योतिषशास्त्रमा रामको अर्थ ३, वेदको अर्थ ४, चन्द्रमाको अर्थ १ हुन्छ । शास्त्रका गम्भीर अर्थ नबुझ्ने, बुझ्न प्रयास नगर्ने, अरूको अपयश चाहने, घृणा गर्नमा रमाउने, अरूको प्रगति देखेर डाहा गर्नेहरूकै जमातले शिवलिङ्गको सुन्नै नहुने, भन्नै नहुने अर्थ लगाए । मन्दिरमा राखिएका कामकलासहितका मूर्ति एवं तन्त्रशास्त्रमा प्रयोग भएका पारिभाषिक शब्द नबुझ्दा शिवलिङ्ग पनि महादेवको अङ्कविशेष हो कि भन्ने भ्रम उब्जाइदियो  ।

स्कन्दपुराणमा महर्षि व्यासले भन्नुभएको छ–

    ब्रह्मादिस्तम्वपर्यन्तं यस्मिन्नेति लयञ्जगत् ।
    एकभावं समापन्नं लिङ्गं तस्माद्विदुर्बुधाः ।

अर्थात् “चतुर्मुख ब्रह्मादेखि यो चराचर जगत् जसमा लय हुन्छ, तिनीहरू जसमा एकाकार हुन्छन्, त्यसैलाई तत्त्ववेदी विद्वानहरूले लिङ्ग भन्दछन् ।”

लिङ्गको अर्थ चिह्न हो । चिह्न त्यस्तो सङ्केत हो, जसले तत् तत् वस्तु तथा पदार्थलाई संकेतले बुझाउँछ । हातमा शंख, चक्र, गदा, पद्म भएका शेषनागमाथि सुतेका लिङ्गले विष्णुलाई चिनाउँछ । हात्तीको सूँढ, लामो पेट, मुसोमाथि चढेको लिङ्ग (चिह्न)ले गणेशलाई बुझाउँछ । नक्शा वा ग्लोबमा पानी, जंगल, ताल, पहाड, हिमालय, बस्तीलाई जानकारी दिन अनेक रङ र चिह्नको प्रयोग गरिएको हुन्छ । रातो, हरियो आदि बत्तीले सडक पार गर्न सहयोग गरेको हुन्छ यो पनि लिङ्ग हो । विभिन्न पुराणहरूमध्ये लिङ्गपुराण पनि एक हो । यदि लिङ्गको अर्थ अङ्गविशेष थियो भने त लिङ्ग पुराणमा महादेव र पार्वतीको गुप्ताङ्गको मात्र बयान हुनुपर्ने थियो । शिवपुराणमा लिङ्गको चर्चा छ तर अङ्गको रूपमा होइन परमात्माका रूपमा । ॐकार नै शिव हो१४  र शिवको  साकाररूप नै शिवलिङ्ग हो । सबै भूमि लिङ्गमयी छ, सम्पूर्ण जगत् लिङ्गमय छ, तीर्थहरू लिङ्गमय छन् र लिङ्गमा प्रतिष्ठित छन् अर्थात् सबैमा ईश्वर व्यापक भएर बसेको छ ।१५  यही महिमा र गरिमालाई बुझेर मन्त्रद्रष्टा वैज्ञानिक ऋषिमुनिहरूले प्राचीन कालदेखि शिवलिङ्गको पूजा, उपासना गर्ने पद्धतिको प्रारम्भ गरे । ब्रह्मा, विष्णुलाई शिवलिङ्गबाट नै सृष्टि चलाउने आज्ञा मिलेको थियो  । के अंगले यसरी देवीदेवतालाई नै आदेश दिन सक्छ त ?   

शिवलिङ्गको सबैभन्दा तलको भाग चरपाटे, बीचको भाग आठपाटे र माथिल्लो भाग गोलाकार हुन्छ । के पुरुषको प्रजनन् गराउने अंगको बनावट यस्तै छ त ? जलहरीलाई पीठिका, अर्घा, विष्णुअंश, प्रकृति आदि नामले चिनिन्छ कतै पनि स्त्रीको प्रजनन् अंग भनिएको छैन । यदि जलहरीलाई स्त्री अंग मान्ने हो भने जलहरीमाथि र तल कसरी शिवलिङ्ग रह्यो ? जलहरीभित्रमात्र शिवलिङ्ग रहेको थियो भने यसलाई शारीरिक सम्पर्कको प्रतीक मान्न सकिन्थ्यो । यस्ता असभ्य, असान्दर्भिक र अश्लिल विषयसँगै परमात्माको मूर्तिलाई जोड्नु जघन्य पाप हो । कैयौँ वर्षको चिन्तनपछि ज्ञान र विज्ञानलाई आधार मानेर पूज्न एवं बुझ्न सजिलै होस् भनी हाम्रा ऋषिमुनिहरुले सर्वोत्कृष्ट आकृतिको निर्माण गरे जसलाई शिवलिङ्ग भनिन्छ । विश्वमा भगवान्, देवता, वीर, शहिद, धर्मगुरुका मूर्ति र शालिकमात्र छन् तर हामीसँग मात्र परमात्माको मूर्ति छ । हाम्रा लागि यो अहोभाग्यको विषय सम्झनुपर्छ । यसकारण वैदिक धर्ममा जन्मन पाउनुलाई पूर्वजन्मको पुण्य भन्नुपर्छ । वैदिक धर्मावलम्बीहरूले शिवलिङ्गलाई परमात्मा संझेर पूज्छन्, ईश्वरको स्वरुपमा बुझ्दछन्, न कि महादेवको अङ्गविशेषका रूपमा ।

सन्दर्भ सामग्री

१  नाशीद्वैतविभागं च सर्वं लीनं च तत्क्षणात् ।
    यस्माल्लीनं जगत्सर्वं तस्मिल्लिङ्गे महात्मनः ।।
    लयनाल्लिङ्गमित्येवं प्रवदन्ति मनीषिणः ।
    तथाभूतं वर्द्धमानं दृष्ट्वा तेSपि सुरर्षयः ।।     – स्कन्दपुराण, (केदारखण्ड ६।२८–२९)

२   लिङ्गोद्भूताः सर्वदेवता न कस्मालिङ्गसम्भवः ।। – अपराजितपृच्छा (१९६।६१)

३    तस्यां तु पूजितायां वै सर्वे स्युः पूजितास्तथा ।। – रुद्रसंहिता, (सृष्टिखण्ड १३।३५)

४    विष्णुना रावणं हत्वा ससैन्यं ब्रह्मणः सुतम् ।
      स्थापितं विधिवद्भक्त्या लिङ्गं तीरे नदीपतेः ।। – लिङ्गपुराण, (उत्तरभाग ११।३८)

५    श्रीसिद्धान्तशिखामणिः (६।४५)

६   स्थापितं त्रिषु लोकेषु शिवलिङ्गं मया मम ।

 ७   आकाशं लिङ्गमित्याहुः पृथिवी तस्य पीठिकाः । आलयः सर्वदेवानां लयनाल्लिङ्गमुच्यते ।।–स्क. पु. शैवसुधाकरः

 ८    सशर्धदर्योविषुणस्यजन्तोर्माशिश्नदेवाअपिगुर्ऋतंनः ।। –ऋगवेद (७।२१।५)
       अनर्वायच्छतदुरस्यवेदोघ्नञ्छिश्नदेवाँअभिवर्पसाभूत ।। –ऋग्वेद (१०।९९।३)

९      शाहकालीन कला र वास्तुकला (पृ. २९८)– डा. जगदीशचन्द्र रेग्मी

१०    शिवतत्त्व विमर्श (पृ. २८)– स्वामी रामदयालु गिरि

११     बिन्दुनादमहालिङ्गं शिवशक्तिनिकेतनम् । – योगशिखोपनिषत् (१।१६७)

१२     रुद्रो लिङ्गमुमा पीठं तस्मै तस्यै नमो नमः ।–रुद्रहृदयोपनिषत् २३

१३      ज्ञानकर्मेन्द्रियैज्र्ञानविषयैः प्राणादिपञ्चवायुमनोबुद्धिभिश्च सूक्ष्मस्थोSपि लिङ्गमेवेत्युच्यते ।।
                        – योगचूडामणि उपनिषद् ७२

१४    प्रणवस्तु शिवः साक्षात् वाग्भवं शक्तिरैश्वरी । – ईशानशिवगुरुदेवपद्धति, (पूर्वार्ध प्रथमपटल ५६)

१५    सर्वलिङ्गमयी भूमिः सर्वं लिङ्गमयञ्जगत् । लिङ्गमयानि तीर्थानि सर्वं लिङ्गे प्रतिष्ठितम् ।। –शिवपुराण