रेसुङ्गा । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैँमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन । हरेक वर्षको दसैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उहाँको गुनासो छ ।
स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दसैँ भनेर दिएको आश्वासनप्रति दिक्क हुनुहुन्छ । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरी जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ ।
अर्का स्थानीयवासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नएकामा दुःखी हुनुहुन्छ । चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उहाँले गुनासो गर्नुभयो । “पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौँ”, पुनले भन्नुभयो, “अहिले पनि उडान नभएपछि अब सो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ ।”
उहाँहरु मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दसैँैमा जहाज उड्छ भनेर भुक्काइएको वर्षौं भएको छ । निर्वाचनको समयमा होडबाजीको दौड चले पनि अघिपछि कसैले पहल नगरेको स्थानीयवासीहरुको आरोप छ । विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास गर्नुभएको थियो । जग्गा अधिग्रहण र बजेट अभावका कारणले सुरुको सात/आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन । त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम सुरु भएन । शिलान्यासको नौ वर्षपछि २०७२ बाट विमानस्थलको नियमित काम सुरु भयो ।
रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनीयर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दसैँैंसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आउनुभयो । निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०÷४५ प्रतिशत मात्र काम भएको थियो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले परीक्षण उडान भरेकोे थियो ।
अर्को वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले केही असर ग¥यो । विसं २०७९ वैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरुप पायो । रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले विमानस्थलमा भौतिक संरचना निर्माणको काम गरेका थिए ।
इञ्जिनीयर परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो । बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो । विस्थापितले मुआब्जा पाइसकेका छन् ।
निर्माण सम्पन्न विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । कूल रु ३५ करोड लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर परियारले बताउनुभयो । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अहिले विमानस्थल नियमित उडानका लागि तयार रहेको छ । प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इञ्जिनीयर परियारको भनाइ छ ।
रेसुङ्गा विमानस्थलको संरचना पूर्णरुपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन् । नियमित उडान शुभारम्भ नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालेको छ । विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापरबाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ । रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगरप्रहरी खटाउने तयारी गरेको छ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नको आफूहरु आतुर रहेको बताउनुभयो । उहाँले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको जानकारी दिनुभयो । “गुल्मेलीको भाग्य र भविश्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौँ”, नगरप्रमुख पन्थीले भन्नुभयो, “नियमितको उडानको प्रक्रिया अगाडि बढिसकेको छ ।”
गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महशुस हुनेछ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पु¥याउने विश्वास गरिएको छ । रासस