२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजार अनुगमनमा उपमेयर डंगोल, अखाद्य सामग्री बेच्नेलाई हतकडी लगाउने चेतावनी(फोटोफिचर/भिडियोसहित)



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले दशैँ लक्षित बजार अनुगमन गरेको छ ।

मंगलवार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ ।

टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताउनु भयो । उहाँले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउनु भयो । उहाँले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताउनु भयो ।

उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दशैँको समयमा धेरै अनियमितता हुने देखिएको छ, बजारमा मूल्य धेरै हुने, कति कुराहरु सकिसक्यो भनेर स्टोर गरेर राख्ने भएका छन् । कारबाही भन्दा पनि सचेतना जगाउनका लागि हामीले अनुगमन गरेका हौँ । कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा छैन । सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानूनी कारबाही गर्नेछौँ । बेच्ने मान्छे मात्र नभइ किन्ने मान्छे पनि खाद्य र अखाद्यको पहिचान गर्न नसकेको हामीले पायौँ । हामी जति ठाउँमा गयौँ त्यहाँ अखाद्य नै बेचिरहेको पायौँ । दशैँपछि पनि हामीले टिमटिम बनाएर अनुगमन गर्नेछौँ ।’

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट वागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गर्नुभयो । उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताउनु भयो । उहाँले विभागबाट भएका कमजोरीलाई आगमी दिनमा सच्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले यस वर्षको दशैँका लागि विभागले १८ सय खसीबोका र ५ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको बताउनु भयो । उहाँले कतिपय च्याङ्ग्राहरु आइसकेको र केही आउने क्रममा रहेको पनि जानकारी गराउनु भयो ।

त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाउनु भयो । उहाँले महानगरले गरेको आजकै अनुगमनमा पनि सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरु धेरै भेटिएको उल्लेख गर्दै यस्ता सामग्री बिक्री गर्न कानूनले नै वर्जित गरेको बताउनु भयो । उहाँले सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री भेटिएको भन्दै सरकारी संस्थाहरु सबैभन्दा बढी परादर्शी र स्वस्थ रहन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नागरिकप्रति सरकारी संस्थाहरु जिम्मेवार बन्नुपर्ने र विशेष गरी स्थानीय सरकारले यसको जिम्मा लिन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले बजार अनुगमन नियमित हुन नसकेको बताउनु भयो ।