१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर

साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर
अ अ+ अ-

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो । उहाँले भन्नुभयो,“मन्दिरको गारो जोड्न साँखु र लुभुबाट माटो ल्याइएको थियो, पहेँलो र बलौटे माटो मिसाएर जोड्दा काम गर्न सहज भएको हो” ।

भूकम्पले पूर्ण क्षति भएको मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीनवटा गजुर भेटिएको थियो । पुनःनिर्माणका क्रममा तीनवटै गजुरलाई एक तह छोपिएको छ । त्यसमाथि अर्को तहले छोपेर बाहिर देखिने गजुर राखिएको कोषका निर्देशक मरासिनीले बताउनुभयो ।

जयवागेश्वरीको उदाहरणपछि एक तले मन्दिर माटोको जोडाइबाट बनाउन सकिन्छ भन्ने पुष्टि भएको छ । मन्दिर ठडिए पनि तान्त्रिकविधिले कोरिएको भित्तेचित्रको काम भने बाँकी छ । कोषका इञ्जिनीयर पशुपति ठाकुर तान्त्रिक विधिले भित्तेचित्र निर्माण गर्न तीन महिना लाग्ने बताउनुहुन्छ । मन्दिर पुनःनिर्माणका लागि पटक–पटक थपिएको म्याद भने आगामी कात्तिक २ गते सकिँदैछ ।

मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवीदेवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना भेटिएको थियो । यसको अध्ययनका लागि पुरातत्व, संस्कृतिविद्लगायत विज्ञको समिति गठन गरी थप अनुसन्धान गरिएकाले पुनःनिर्माणमा ढिलाइ भएको हो । समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन दिएको थियो ।
सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको अनुमानित खर्चसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरेको थियो ।

सम्झौता अनुसार मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्रलगायत संरचना भेटिएको थियो । जसका कारण निर्माण अवधि बढेर दोब्बर समय लागेको हो । पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानुनी व्यवस्था अनुसार कोषलाई सुझाव दिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएका छौँ, माटोको जोडाइबाट पुनःनिर्माण गर्दा भित्र भेटिएका चित्र फेरि राख्न भनेका थियौँ” । विज्ञ समितिको प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेको थियो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण गरिएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताउनुभयो ।

रु तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर समग्र पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको हो । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माणको काम गरिएको छ । कोषका निर्देशक मरासिनी जयवागेश्वरीको पुरानो संरचना अनुसार पुनःनिर्माणको काम भएको बताउनुहुन्छ ।

कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलसका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम सुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरियो । जिम्मा लिएका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महिना बित्दा पनि नगरेपछि कोषले सम्झौता रद्द गरेको थियो ।

दाता शर्मा सुरुमा पुरातत्वले नक्शा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण सुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य हुनुपरेको बताउनुहुुन्छ । सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ ।

चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउनुहुन्छ । पशुपति क्षेत्रमा रहेका पाँच सय १८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । १५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए । पशुपति क्षेत्रका ८० वटा सम्पदामा आंशिक क्षति भएको थियो ।

भूकम्पले प्रभावित ३२ जिल्लामध्ये २९ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म छ सय ७० वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पले अन्य संरचनामा क्षति पुगेका नवलपरासीका दुई जिल्ला र मुस्ताङका सम्पदामा भने क्षति गरेन” ।

जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि

जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो ।

मन्दिरको कलेबर १२/१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीयवासी सन्देश मुनिकारले बताउनुभयो ।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।

जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ ।

गोपाल र किरात शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्हरुको भनाइ छ । ऐतिहासिक एवं सांस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र भए पनि जयवागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेकोको स्थानीयवासीको गुनासो छ । रासस