२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्ग विस्तारले यात्रुलाई सास्ती



अ+ अ-

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ । ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप सास्ती भएको हो ।

मोटरसाइकलमार्फत यस मार्ग हुँदै विद्यालय पुग्दा हिलो र धुलोका कारण अध्यापनका लागि पुग्न सकस भएको तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रत्न माध्यमिक विद्यालयका शिक्षक पशुपति अर्याल बताउनुहुन्छ । “पानी परेका बेलामा हिलाम्मे र घाम लागेका समयमा धुलाम्मे भएर विद्यालय पुगिन्छ । कहिलेकहीँ त फेर्ने कपडा नै बोकेर जानुपर्ने अवस्था सिर्जना हुन्छ । धेरैजसो विद्यालय नजिकै पुगेपछि विद्यालय पोशाक पानीले पखाल्दा चिसै कक्षामा पुग्ने गर्छन्”, उहाँ भन्नुहुन्छ ।

विकास निर्माणलाई विरोध गरेको भने होइन तर पनि दैनिक यात्रा गर्दा समस्या झेल्नुपरेको शिक्षक अर्याल बताउनुहुन्छ । शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटारबाट राजमार्ग हुँदै भित्री सडक भएर विद्यालयमा पुग्दासम्म ठूला सवारी साधनका कारण उडेका धुलो र छ्यापिएको हिलोसहित अध्यापन गराउनुपर्ने अवस्था आएकाले छिटो गरी राजमार्ग विस्तार भए सहज हुने उहाँकोे भनाइ छ ।

धेरैजसो विशेष कार्यक्रम सदरमुकाम दमौलीमा हुने भएकाले हिलाम्मे तथा धुलाम्मे राजमार्गमार्फत स्कुटरमा आउँदा सास्ती खेप्दै आएको ग्यालेक्सी फोर केकी संवाददाता अस्मिता खनालको पनि गुनासो छ । “ठूला सवारी साधन चढेर आउँदा कपडामा टाँसिएको धुलोले गर्दा समयमा भेट्नुपर्ने व्यक्तित्वलाई भेट्न नै समस्या हुन्छ । आफ्नो सवारी साधनमा आउँदा धुलो र हिलो छ्यापिएर मान्छे नै चिनिँदैन । यसले काममा पुग्नसमेत समस्या बनाएको छ”, उहाँ भन्नुहुन्छ, “समाचारका लागि नै एक/दुई दिनको ग्यापमा दमौलीसम्म आउने–जाने गर्नुपर्ने भएकाले अति नै समस्या भएको छ ।”

पोखरा–बेँसीसहर ग१ज १९३० नम्बरका ट्याक्सी चालक नारायणप्रसाद शर्मा पनि राजमार्गमा सडक विस्तारको क्रममा रहे पनि सडकको बीच भागमा नै ठूलाठूला खाल्डाखुल्डी हुँदा साना सवारी साधनले सास्ती खेप्दै चलाउन बाध्य भएको पीडा सुनाउनुहुन्छ। “सडक विस्तारले पछि हामीलाई सजिलो हुने हो तर सडकको बीच भागमा बनेका ठूलाठूला खाल्डाखुल्डीलाई पुरिदिने गरेमा पनि साना सवारी साधनलाई सजिलो हुने थियो भन्ने मात्रै हो”, उहाँको भनाइ छ ।

साना सवारी साधनले भाडा बढी लियो भनेर आरोप लाग्ने गरेको छ तर सडकको अवस्थाले यात्रु पाउने या नपाउने भन्ने पक्का नै नहुने समस्यासमेत रहेको चालक शर्मा उल्लेख गर्नुहुन्छ । सडक राम्रो हुँदा दैनिक दुईदेखि तीन टिप गर्न सकिने भए पनि सडकको अवस्थाले अहिले मुस्किलले एक टिप मात्रै गर्न सकिने उहाँको भनाइ छ । “सडककै कारण अहिले पोखराबाट दमौली र दमौलीबाट पोखरा जाने साना सवारी साधनसमेत जान नचाहने गरेको पाइन्छ”, चालक शर्मा बताउनुहुन्छ ।

निर्माण कम्पनीले साना सवारी साधनको मर्का बुझिदिएमा हामीलाई सहज हुने भन्ने उहाँको गुनासो छ । ठूला सवारी साधनको पाङ्ग्रा नै ठूलो हुने भएकाले तिनले सहजरुपमा खाल्डाखुल्डी पार गरे पनि साना सवारी साधन भने सास्ती खेप्न बाध्य हुँदै आएका छन् ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिँदैछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस राजमार्गको साइडमा ग्याविन जाली लगाउने तथा पर्खाल लगाउने कार्य भइरहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनको सडक बनाउन लागिएको हो । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको थियो । चार लेनको बनाउँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर र दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडा ४६ मिटरको हुनेछ ।रासस