काठमाडौं । आगामी मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज (आइतबार)बाट सुरु हुँदैछ ।
निर्वाचन आयोगका अनुसार आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका रहेको छ ।
दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन् ।
मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिकबाट एक सय १० सांसद आउँछन् ।
बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ भने त्यसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला हुनुपर्ने प्रावधान छ ।