५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालसम्मका उपलब्धि दलको सहमति र सहकार्यबाटै सम्भव भएको हो: पूर्वप्रम खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालसम्म प्राप्त राजनीतिक उपलब्धि दलको सहमति र सहकार्यले नै सम्भव भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले हालको राजनीतिक व्यवस्थाअनुसार मुलुकमा कुनै दलले एक्लै सरकार बनाउछु भन्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभयो । “नेपालमा एकल बहुमत ल्याउँछु, एक्लै सरकार बनाउँछु भन्ने सोच्नु हुँदैन”, पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “नेपालमा धेरै परिवर्तन पार्टी मिलेर नै भएका हुन्, संविधान जारी गर्दा होस् वा त्योभन्दा अगाडिका आन्दोलनमा होस् ।”

कृषिमा देशलाई आत्मनिर्भर बनाउँदै भूमिसुधारको काममा ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “नेपाली जनता सही नेतृत्व छान्न सक्ष्मा भइसकेका छन्, आउने सरकारले देशमा भूमिसुधार गर्न सकोस्, कृषिमा आत्मनिर्भर बनाउन सकोस् ।”

पूूर्वप्रधानमन्त्री खनालले संविधान र सङ्घीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा संविधान जारी भएपछि भएको निर्वाचनमा देशले ठूलो अपेक्षा राखिएको भए तापनि अपेक्षाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्योग रोजगारसम्बन्धी विकास हुन नसकेको उहाँले बताउनुभयो ।

“देशमा राष्ट्रिय उद्योगधन्दा निर्माण गर्न सकिने थियो, देशमा ठूलोमात्रामा जङ्गल छ, छ हजार नदीनाला नै छन्”, उहाँले थप्नुभयो, “पानी उद्योग खोल्न सकिन्थ्यो, जडीबुटीजन्य उद्योग खोल्न सकिने थियो, पर्यटन उद्योगमा शृङ्खलाबद्ध तरिकाले काम सकिन्थ्यो तर हुन सकेन ।” देशमा १४ विश्वविद्यालय, धेरै कलेज र विद्यालय भए पनि राम्रो रोजगारीमूलक शिक्षा दिन नसकेको र शैक्षिक क्षेत्रमा अझ अराजकता बढेको बताउनुभयो ।

वर्तमान सरकार पाँच दलको साझा धारणामा बनेको उल्लेख गर्दै उहाँले बहुदलीय व्यवस्थामा दल मिलेर आफ्नो एजेण्डासहित सरकारमा सहभागी हुने र सरकार ती दलको भावनाविपरीत जान नसक्ने धारणा राख्नुभयो ।

विश्वका धेरै प्रजातान्त्रिक देशमा संसद् विघटन गर्नसक्ने व्यवस्था नभएको उल्लेख गर्दै उहाँले नेपालको संविधानले पनि अर्को सरकार गठनको विकल्प रहँदा संसद् विघटन गर्ने अधिकार नदिएको स्पष्ट पार्नुभयो । यस्तो अवस्थामा पनि संसद् विघटन हुनु दुर्भाग्य भएको उहाँको भनाइ थियो ।