२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव र महन्थको पार्टी दर्ता गर्ने बाटो खुल्यो



अ+ अ-

काठमाडौं ।  निर्वाचन आयोगले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशअनुसार नियमावली संशोधन गरेसँगै दल दर्ताको बाटो खुलेको छ । बुधबार दुई पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपनि नियमावलीको अभावमा  प्रक्रिया अघि बढ्न सकेको थिएन । 

आयोगले नियमावली संशोधन गरेसँगै माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी र महन्थ ठाकुर नेतृत्वको जसपा लोकतान्त्रिक दर्ताका लागि बाटो खुलेको हो । आयोगले दल दर्ताको प्रक्रिया छिटो टुंग्याउने योजनाका साथ बिहीबार साँझ संशोधित नियमावली राजपत्रमा प्रकाशित गरेको हो । 

नियमावली संशोधन भइसकेकाले अब दुबै पार्टीले पुनः निवेदन दिनुपर्ने आयोग स्रोतको भनाइ छ । सबै प्रक्रिया पुरा गरेर निवेदन दिएपछि बढीमा दुई साताभित्रै आयोग निर्णयमा पुग्ने छ ।

दल दर्ताका लागि केन्द्रीय समितिले दल दर्ताका लागि गरेको निर्णय, दलको विधान, घोषणापत्र, चुनाव चिन्ह, केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको हस्ताक्षर, नागरिकता वा परिचय खुल्ने कागजातलगायत आयोगमा पेश गर्नुपर्नेछ । यस्तै केन्द्रीय समिति समावेशी हुनुपर्ने जस्ता प्रावधान पनि राखिएको छ । बुधबार निवेदन दिने दलहरुले प्रक्रिया पुरा नगरेकाले पुनः निवेदन दिनुपर्ने आयोगको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेलगत्तै माधव नेपाल र महन्थ ठाकुर निर्वाचन आयोगमा छुट्टाछुट्टै दल दर्ताका लागि निवेदन दिन पुगेका थिए ।