५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीमार्फत सामूहिक कृषिमा जोडिदै पुम्देली



file photo
अ+ अ-

गण्डकी । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् ।

गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई सय ४० शेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ । घर–घरमा भैँसीपालनमा जोड दिँदै सहकारीले गाउँमै राँगो खरिद गरिसकेको पुम्दीभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बरालले जानकारी दिनुभयो । राँगो खरिदसँगै भैँसीका लागि राँगो खोज्न भौतारिनुपर्ने अवस्था अन्त्य भएको छ ।

शेयर सदस्यका लागि भैँसीको प्रतिप्रजनन रु एक हजार पाँच सय लिने गरिएको जानकारी दिँदै उहाँले शेयर सदस्यबाहेक अन्यत्र राँगो आवश्यक परेमा रागो पु¥याउनुपर्ने स्थानको भौगोलिक दूरीअनुसार शुल्क लिने गरिएको बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाबाट ५० प्रतिशत अनुदानवापत प्राप्त रु ५० हजार र सहकारीको रु ५० हजारसहित रु एक लाखमा तीन वर्षअघि राँगो खरिद गरिएको हो ।

गाउँमा नै राँगो भएपछि गाउँमा क्रमशः भैँसीपालनतर्फ स्थानीयवासी आकर्षित हुँदै गएको स्थानीयवासी एवं कोदी शान्ति टोल विकास संस्थाका आशिषकुमार बरालले जानकारी दिनुभयो । “गाउँमा नै राँगो भएपछि भैँसीपालक कृषकलाई ठूलै सहयोग मिलेको छ”, उहाँले भन्नुभयो । गाउँबाट दैनिक दूध बिक्री गरी स्थानीयवासीले आयआर्जन बढाएका छन् ।

बाख्रापालनमा पनि जोड दिएको सहकारीले हालै सामूहिक बाख्रापालन सुरु गरेको छ । कुल ८० बाख्रापालन गर्ने लक्ष्य लिएको सहकारीले एक महिनाअघि ४० बाख्रा खरिद गरिसकेको छ । बाख्राका लागि खोरलगायतका पूर्वाधार निर्माणका लागि रु ५० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको र हालसम्म करिब रु ४० लाख खर्च भइसकेको छ । थप बाख्रा चाँडै खरिद गर्ने गरी तयारी गरिएको बरालले जानकारी दिनुभयो । बाख्रापालन गर्न १२ वर्षका लागि १५ रोपनी जग्गा भाडामा लिएर निहारो, टाँकी लिपिलिपिजस्ता घाँस लगाउन थालिसकिएको छ । बाख्रापालनका लागि स्थानीय दुई जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन् ।

सहकारीमार्फत नै तरकारी खेतीका लागि टनेल निर्माणका लागि सहकारीमार्फत प्रोत्साहन एवं सहयोग गर्दै आइएकामा हाल गाउँमा करिब ३५–४० वटा टनेल निर्माण भइसकेका छन् । पोखरा बजारबाट नजिक रहेका कारण यहाँ उत्पादित तरकारीको बजारमा माग बढ्दो छ ।

कृषिप्रति आकर्षण बढिरहे पनि यस क्षेत्रमा बाँदरको भने समस्या रहेको जनप्रतिनिधि कृष्णकुमारी पौडेल ९देवकोटा०ले बताउनुभयो । “बाँदरको व्यवस्थापन यस क्षेत्रका लागि गम्भीर समस्याका रूपमा देखिएको छ”, उहाँले भन्नुभयो, “बाँदरको दीर्घकालीन व्यवस्थापन यस क्षेत्रको गम्भीर चुनौती हो ।”

पोखरा बजारबाट नजिक रहेको पुम्दीमा कृषिका धेरै सम्भावना रहेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । सहकारीमार्फत सामूहिक कृषिमा जोडिएका यहाँका कृषकलाई कार्यालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोगका लागि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।