• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान ★   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग प्रतिस्पर्धा गर्दै ★   पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्यायो, २६२ रनको लक्ष्य भेट्टायो ★   इलाम र बझाङमा आज उपनिर्वाचन : ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान ★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

बैतडीमा डेङ्गु र स्क्रब टाइफस जोखिम



बैतडी । बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेङ्गु र स्क्रब टाइफस सङ्क्रमित फेला पर्न थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेङ्गु र स्क्रब टाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

जिल्ला अस्पतालमा हाल दैनिकरूपमा डेङ्गु र स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । डेङ्गु र स्क्रब टाइफस लक्षण देखिए समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै सङ्क्रमण बारेमा जानकारी हुने उहाँको भनाइ छ ।

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेङ्गु र स्क्रब टाइफस छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “केही सङ्क्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।”

पछिल्लो समय दिनप्रतिदिन यहाँ डेङ्गु र स्क्रब टाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई डेङ्गु र स्क्रब टाइफससमेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ ।

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका हुन् । पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको र स्क्रब टाइफसले ज्यानै लिन सक्छ ।

‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । साथै एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ । मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

यसैबीच स्वास्थ्य कार्यालयले डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन गरेको छ । डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले सदरमुकाम क्षेत्रका पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।