• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डका कारण आईपीएल प्लेअफको ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै ★   डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल ★   रेडक्रसद्वारा १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन: प्रधानमन्त्री ★   आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब ★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर



कास्की । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो ।

महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ ।

महानगरका यी दुई दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुईपटक र पुनः ३५ दिने सूचना दिएर आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन सुरु गरिएको हो ।

वडाध्यक्ष मर्सानीले भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भत्काउन सुरु गरिएको बताउनुभयो । महानगरले भवन हटाएपछि भवनले चर्चेको जमिनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “भवन हटाएपछि यसले चर्चेको जमिनमा पोखराको सौन्दर्य वृद्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौँ ।” महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित साविकको ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने जनाएको छ । पृथ्वीचोकमा भवनका लागि रु दुई करोड लागत अनुमान गरिएको छ । सो भवन दुई रोपनी जमिनमा बन्नेछ ।

पोखरा महानगरपालिकाले पछिल्ला केही दिनयता सार्वजनिक जमिनमा निर्माण गरिएको संरचना हटाउन सुरु गरेको छ । वडा कार्यालयले सूचना जारी गरी आ–आफ्नो क्षेत्रभित्र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको संरचना भत्काएका हुन् । पोखरा–२५ हेमजाले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सार्वजनिक जमिन अतिक्रमण गरी सडक मापदण्डभित्रका संरचना हटाउन सुरु गरेको सो वडाका वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले बताउनुभयो ।