२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टेलिभिजनहरुको भविष्य र यथार्थ



अ+ अ-

२०५९ सालदेखि म निरन्तर टेलिभिजन विधामा छु । याे विधामा काम गरेकाे १९ वर्ष भइसके । यस अवधिमा धेरै कुरा सिक्न पाइयाे तर मैले यस अवधिकाे विश्लेषण गर्दा नेपाली टेलिभिजनको आर्थिक अवस्थामा खासै सुधार आएको देखिँदैन । 

कारणहरु विभिन्न हुन सक्छन् I नेपालमा  टेलिभिजनको सुरुवात २०४२ देखि र नेपालमा केबल वितरणको अभ्यास भनेको करिब २०५३  देखि सुरुवात गरिएको हो । त्यस यताका दिनहरुमा टेलिभिजनहरु प्रसारकहरुले प्रसारण गरिदिएको भरमा धन्य हुनु पर्ने हुन्थ्यो । 

सीमित केबलको फ्रिक्वेन्सी भएका कारण सीमित संख्यामा मात्र टेलिभिजनहरु वितरण गर्न सकिन्थ्यो ।  करिब करिब भारतीय सिनेमा र टेलिभिजनहरुको सुरुवात र नेपाली टेलिभिजन र सिनेमा उद्याेगको सुरुवात एकै पटक जस्तो समयमा सुरु भएको पाइन्छ । त्यो समयमा नेपालमा पनि नेपाल टेलिभिजन मात्र प्रसारणमा‌ थिए । 

सुरुवातदेखि विदेशी च्यानलहरु नै प्राथमिकतामा रहेको उतिबेला देखि हालसम्म पनि नेपाली टेलिभिजनहरु छायाँमा नै पारिए र पारिँदै आएको पाइन्छ । त्यसताका देखि नेपालमा केबल डिजिटलाइजेसन नहुन्जेलसम्म नेपालका साना केबल व्यवसायीहरुको नियन्त्रणमा नेपाली टेलिभिजनहरु थिए र हाल डिजिटलाइजेसन पश्चात साना केबल व्यवसायीहरु बिस्थापित जस्तै भएको अवस्था हो र हाल एमएसो, डिटिएच,आईपिटिभि र ओटिटि यो व्यवसायको सतहमा छन् । नेपालमा विभिन्न व्यवस्था र कानुनहरु निर्माण भए तर नेपाली टेलिभिजनहरुको  अवस्थामा कुनै परिवर्तन भएन । हालसम्म आइपुग्दा नेपाली टेलिभिजनहरु  बितरकको अधीनमाखनै छन् । 

अहिले पनि यो क्षेत्रमा व्यवसायीकरुपमा आउन चाहनेहरूका लागि समग्र वितरण प्रणाली बाधक नै बन्दै आएको पाइन्छ । क्लिन फिड नीति पश्चात नेपालमा टेलिभिजनहरुमा विज्ञापन बजारमा वृद्धि हुने आश गरिएको थियो तर रू. १४ अर्बको विज्ञापन बजार भनिए पनि यस्को ग्राफ हाल घट्दो अवस्थामा छ ।

यसका पछाडि थुप्रै कारणहरु रहेका छन् जुन मुख्यरुपमा समय सुहाउँदो प्रविधिको अवलम्बन गर्न नसक्नु  र सीमित बजार नै रहेका छन् । भारतीय टेलिभिजनको अभ्यासला‌इ हेर्ने हो भने सधै उनीहरुले त्यहाँ कला र कलाकारहरुलाई जगेर्ना गर्ने काम गरे । जसबाट उनीहरुले टेलिभिजनको खुराकका‌ रुपमा टेलिभिजन कार्यक्रमहरु उत्पादन गरि निरन्तर दर्शकहरु होल्ड गर्न सफल भए र हरेक टिभिहरुले एउटा समूह बनाएर समय सुहाउँदो ओटिटि प्लेटफर्म तैयार गरि तिनै कलाकार जो ओझेलमा परेका थिए, तिनिहरुलाई अवसर प्रदान गरेर विभिन्न सिरिजहरु र फिल्महरु निर्माण गरि टेलिभिजनका‌ पपुलर कार्यक्रमहरु नीजि ओटिटिमार्फत बेचेको पाइन्छ । 

भारतीय टेलिभिजन उद्याेगमा नयाँ टेलिभिजन आउने क्रम रोकिएको करिब दश वर्ष भयो, तर ठीक विपरीत नेपाली टेलिभिजन उद्याेगको कुरा गर्ने हो भने यहाँ टेलिभिजन खोल्ने होडबाजी चल्यो । कति च्यानलहरु बन्द भए, कति नाजुक आर्थिक अवस्थामा छन्, विदेशी ओटिटि र सामाजिक सन्जालमा फलोअर्स र भ्यू बढाउन पुरा जनशक्ति प्रयोग भएको पाइन्छ । खै कस्ले नेपाली टेलिभिजनहरुलाई आफ्नो खुट्टामा हिँड्न सिकाउने ?

नेपाली टेलिभिजनहरुले कार्यक्रम उत्पादन भन्दा राजनीतिक विषयवस्तुलाई प्राथमिकतामा राखेर टेलिभिजनहरु संचालनमा ल्याएको पाइन्छ जसका कारण नेपालमा न्युज च्यानलको मात्र संख्यामा वृद्धि भएको पाइन्छ । केही विदेशी फ्रेन्जाइज सो हरु त अहिले अभ्यासमा छन् तर बजार सानो भएका कारण त्यसले प्रख्याति त कमायो तर टेलिभिजनको आर्थिक अवस्थामा असर पुर्याएको पाइन्छ । नेपाली टेलिभिजन व्यवस्थापन ले बेलैमा नसोच्ने हो भने धेरै टेलिभिजनको भविष्य अन्धकार नै देखिन्छ ।  जति नै बहस छलफल गरे पनि  कानुन निर्माण गरे पनि यथार्थ फरक छ ।

नेपाली टेलिभिजनहरुको विकासका लागि समानुपातिक वितरण प्रणालीमा घनिभूत छलफलको आवश्यकता देखिन्छ । विगत २५ वर्षदेखि हालसम्म पनि नेपाली बितरकहरुले मासिक रुपमा नेपाली च्यानल देखाए बापत मासिक रकम उठाउँदै आएका छन् । तर उनीहरुको नजरमा कहिल्यै नेपाली टेलिभिजनहरुको महत्वको बारेमा  छलफल गर्ने समय भएन र टेलिभिजनले पनि यो विषयलाई उजागर गर्ने हिम्मत कहिल्यै गर्न सकेनन् । अहिले पनि बितरकहरुले नेपाली टेलिभिजनलाई प्रसारण गरिदिएको भरमा धन्य हुनुपर्ने अवस्थाको निरन्तरता यथावत छ ।

बिदेशी च्यानलहरुलाई मासिक कराेडौं रुपैयाँ तिर्न तैयार नेपाली बितरकहरु नेपाली टेलिभिजनलाई प्रति बक्स १५/३० रुपैयाँ तिर्नुपर्छ भन्यो भने कहिल्यै सहमत नहुने अवस्था छ । यसको लागि टेलिभिजनहरुले यो सम्भव बनाउन एकढिक्का हुन जरुरी छ । बितरकको स्वार्थमा यदि नेपालमा टेलिभिजनहरु पे भए भने फेरि पनि टेलिभिजनहरुको भविष्य अन्धकारमय हुने निश्चित छ । यसैको खेलमा केहि ठूला बितरक नबुझिने गरि लागिपरेको पाइन्छ ।

नेपाली टेलिभिजनहरुले एकढिक्का भई यो अभियानमा लागेर आफ्नो गुणस्तर वृद्धि गरि सिग्नललाई नियन्त्रणमा राख्नु पर्ने बेला‌ आएको छ । एउटा साझा संकल्प र धारणा बनाएर कमन ओटिटि  प्लेटफर्म मार्फत आफ्ना कार्यक्रमहरुको प्रवर्द्धन गर्न जरुरी छ । आन्तरिक रुपमा कार्यक्रम उत्पादन र गुणस्तरलाई प्रतिस्पर्धात्मक बनाएर सोही आधारमा आयमुलक बनाउन जरुरी छ ।  जय नेपाली टेलिभिजन !!