२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाद समाधानका लागि गठित छानविन समितिले राखेपलाई प्रतिवेदन बुझायो



अ+ अ-

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार (आज) राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ । 
 
१४ दिन लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन  राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् । समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल संघ, एसियाली फुटबल महासंघ फिफाको नियम अनुसार चल्न नसकेको, आफ्नो समस्या आफै समाधान गर्नु पर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने औल्याइएको छ ।

कार्यक्रममा प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताउनु भयो । उहाँले विवाद समाधान गर्न दुबै पक्षसँग छुट्टा छुट्टै पहल भए पनि समाधान हुन नसकेको बताउनु भयो । छानविन भइरसकेको अवस्थामा परिषदले दिएको निर्देशन एन्फाले अक्षरसः पालना गर्नु पर्ने सदस्य सचिव सिलवालको भनाई छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणा पछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान  गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो । सोही अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राष्ट्रिय खेलकुद परिषदलाई छानविन समिति गठन गरेर एक साता भित्र प्रतिविदेन बुझाउन निर्देशन दिएका थिए । पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको छनोट समितिले १४ दिनमा आज प्रतिवेदन सार्वजनिक गरेको हो ।