२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राईले राजिनामा दिँदै, नयाँ मुख्यमन्त्रीमा आचार्य



अ+ अ-

विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठक बस्ने भएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज बिहान ९ बजे बैठक बस्ने भएको हो ।

बैठकमा मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ ।

राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई बिहीबार नै संसदीय दलको नेता चयन गरी शपथग्रहण गराउने भएको हो । 

पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय  दिएपनि हतारमा संसदीय दलको बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईले संसदीय दलको बैठक बोलाउनु राजनीतक र नैतिक रुपले गलत भएको बताए ।

आफ्नो पक्षमा सांसद बढाउने उद्देश्यले दलको बैठक बोलाएको बताउँदै उनले भने, ‘मलाई निम्तो आएको छैन, तर दलको नयाँ नेता छनोट गर्ने भन्ने सुन्दैछु ।’

 एमाले स्रोतका अनुसार बैठकले माधव समूहमा लागेका सांसदलाई कारवाही गर्न सक्ने सम्भावना पनि रहेको छ  । 

प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नयाँ नेता छनोट गर्न सक्ने बताए । एमालेसँग बहुमत रहेको बताउँदै उनले ठूलो दलको हैसियतमा सरकारमा रहने बताए ।

‘संसदीय दलको बैठकमा भीम आचार्य पनि आउनुहुन्छ,’ उनले भने,’ सबै विषयमा छलफल हुन्छन्, दलको नेता परिवर्तन पनि हुनसक्छ ।’

एमाले संसदीय दलका एक सदस्यका अनुसार बिहीबार नै मुख्यमन्त्रीमा आचार्यलाई शपथ ग्रहण गाराउने सम्भावना छ ।

 ‘मुख्यमन्त्रीले दलको नेताबाट राजीनामा दिने र भीम आचार्य संसदीय दलको नेता चयन गर्ने तयारी छ,’ ती नेताले भने,’ बिहीबार नै शपथग्रहण हुनसक्छ ।’

मन्त्री कार्कीले नयाँ सरकार गठनका लागि समय रहेकाले कुनै हतार नभएको बताए ।

बैठकमा माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । प्रदेश सांसद उपेन्द्र घिमिरेले आफूलाई बैठकको निम्तो आए पनि नजाने बताए ।

मुख्यमन्त्रीमा भीम अचार्य चयन भए पनि विश्वासको मत नपाउने उनले बताए । ‘एक महिनाका लागि किन मरिहत्ते गरेको होला,’ उनले भने,’ भोलि विश्वासको मत जुट्दैन् ।’

एमाले सचिव आचार्य काठमाडौँमा छन् । उनी बिहीबार बिहान विराटनगर आउने स्वकीय सचिव अनिल राजधामीले बताए ।