१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज भाद्र कुशे औंसी, अर्थात् बुबाको मुख हेर्ने दिन



अ+ अ-

काठमाडौं । आज भाद्र कुशे औंसी अर्थात् बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भन्ने प्रचलन छ ।

यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कलमा सम्वाद गरेर सम्झिने गर्दछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गर्छ ।