९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

मागेरै सन्तानको भविष्य बनाउँदै विक

मागेरै सन्तानको भविष्य बनाउँदै विक
सांकेतिक तस्बिर
अ अ+ अ-

लमजुङ । ‘झरेको पात झै भयो, उजाड मेरो जिन्दगी, निभेको दीप झै भयो उदास मेरो जीन्दगी।’ स्वर सम्राट नारायण गोपालले यी हरफमा उल्लेख गरे झै बागलुङ जिल्लाको कालापैरा घर भई विगत नौ वर्षदेखि लमजुङमा बस्दै आउनुभएका ४७ वर्षीय मनबहादुर विकको जीवन पनि यस्तै भइरहेको छ ।

शारीरिक रुपमा अशक्त उहाँको देब्रे खुट्टा छैन । पाँच जनाको परिवार रहेको मनबहादुरको आम्दानीको कुनै स्रोत छैन । काम गरेरै खान पनि शारीरिक अवस्थाले पनि दिँदैन । परिवारको गुजारा चलाउन दैनिक बिहानैदेखि विभिन्न स्थानमा बैसाखीको सहारामा आर्थिक सहयोग माग्दै परिवारको जीवन धान्नुपर्ने बाध्यता छ । बागलुङमै रहँदा घर बनाउने काम गर्दै आउनुभएका उहाँ विसं २०६८ मा आफ्नै घरमा पालेको बस्तुभाउका लागि स्याउला काट्ने क्रममा रुखबाट खसेर देब्रे खुट्टाको दुई ठाउँको हड्डी भाँचियो ।

जिल्ला अस्पतालमा उपचारका क्रममा गोडाभन्दा तलको सबै भाग काटेर फाल्नु प¥यो । चार महिना उपचार गरेर घर फर्केपछि करिब १४ महिना घरमै आराम गरेर बस्नु परेको उहाँको भनाइ छ । मनबहादुरको दुःख त्यतिमै सीमित भएन । उपचारका लागि रु सात लाख लाग्यो । त्यतिका पैसा घरमा नभएको र उहाँको आफ्नै दाइले प्रभु बैंकबाट ऋण निकालेर उपचार खर्च तिर्नुभयो । मेलापात र घरबनाउने काम गरेर जसोतसो गुजारा चलाउँदै आउनुभएका उहाँलाई यतिको रकम खर्च गर्नुपर्दा र शारीरिकरुपमा अशक्त हुनुपर्दा चिन्ताले सताउन थाल्यो ।

श्रीमतीसहित दुई छोरा र एक छोरी भए पनि छोराछोरी बालकै भएकाले कमाउन सक्दैनन् । आफूले पनि काम गर्न नसक्ने भएपछि मामाको सल्लाहअनुसार लमजुङ भोटेओडारको फेदीकुनामा विसं २०७० मा बसाइ सरेर मागेरै परिवारको गुजारा चलाउँदै आएको मनबहादुर बताउनुहुन्छ । बेँसीसहर नगरपालिका–८ बस्दै आउनु भएका उहाँका १७ वर्षीय एक छोरी, १४ वर्षीय र १२ वर्षीय छोरा बागलुङमै रहेका त्यहीको सरकारी विद्यालयमा अध्ययनरत छन् । उनीहरुसहित आफू र श्रीमतीका लागी दैनिक मागेर जीवनयापन गर्नाका साथै उपचार गर्दा लागेको ऋण मासिक साढे १२ हजारका दरले बुझाउँदै आएको उहाँ सुनाउनुहुन्छ ।

मागेरै दैनिक न्यूनतम रु एक हजार २०० देखि रु दुई हजारसम्म जम्मा हुने र छोराछोरीका लागि दुई तीन महिनामा रु २० हजारदेखि रु ३० हजारका दरले पैसा पठाउने गरेको बताउनुहुने मनबहादुर महिनाभर मागेरै हिँड्न नसक्ने उल्लेख गर्नुुहन्छ । थकाई लाग्छ, कहिले बिमारी होइन्छ, त्यसैले महिनामा १४/१५ दिन मात्र मागेर हिँड्ने गरेको छु उहाँ भन्नुहुन्छ । “मेला महोत्सव, चाडपर्वका साथै जिल्लाको सिमपानी, खुदी भूलभूले, बेँसीसहर, घलेगाउँ, मालिङ, मध्यनेपाल, सुन्दरबजार, भोटेओडारलगायत स्थानका घरघरै र बाटोमा बसेर पैसा माग्ने गर्दा प्रतिव्यक्ति रु पाँच देखि ५० रुपैयाँसम्म दिने गरेको मनबहादुर सुनाउनुहुन्छ ।

मुलुकमा कोरोना सङ्क्रमण फैलिनुभन्दा केही महिनाअघि पैसा माग्दै दुई पटकसम्म मनाङको खाङसारसम्म पुगेको र त्यति बेला राम्रो पैसा उठेपछि पुनः गत जेठमा मनाङ पुगेपनि मनाङवासी यार्सागुम्बा सङ्कलनका लागि गएकाअवस्था परेकाले खासै पैसा नउठेपछि लमजुङमै फर्किएर आउनुपरेको थियो । यसरी पैसा माग्दै जीवन चलाउँदै आएपनि पैसा माग्नलाई सजिलो नभएको र माग्दा कसैले दिने र कसैले सहन नसक्ने गरी बचन लगाउने गरेको उहाँको भनाइ छ ।

कसैले तपाईजस्तो मान्छेलाई दिनुपर्छ भन्छ, कोहीले अहिले पैसा छैन पछि दिउला भन्छ, कसैले हातको सीप गरेर कमाउन सुझाव दिएर मात्र जान्छन् । कोहीले त पैसा दिनाको सट्टा नानाथरीका बचन लगाउने गरेको मनबहादुर गुनासो गर्नुहुन्छ । मलाईजस्तो दुःख कसैलाई नपरोस्, तर दुःख परेपनि मेरो जस्तो दुःख नहोस् भन्नुहुने उहाँको एउटै चाहना छ, यस्तो हालत भए पनि छोराछोरीलाई राम्रोसँग पढाउन सकौँ, उनीहरुको भविष्य उज्वल बनाउन सकौँ भन्ने लाग्छ । श्रीमती पनि काम पायो भने कहिलेकाहीँ अरुको मेलापात गर्ने र आफूलाई खाना बनाएर बस्ने गर्छिन् ।

हामी जस्ताका लागि बसेर गर्न सक्ने सीपसँगै काम गर्ने वातावरण मिलाइ दिए हुन्थ्यो । रासन पानी पनि सस्तो गर्दिए हुन्थ्यो, झन् झन् महँगी बढ्दै जाँदा हामीलाई धेरै मार पर्ने गरेको छ तर सरकारले हाम्रो कुरा नै नसुन्ने मनबहादुरको गुनासो छ । कसैले सहयोग गरे धेरै दुःखकष्ट सहेर हिँड्नु नपर्ने उहाँको अपेक्षा छ । बेँसीसहर नगरपालिकाका उपप्रमुख पद्ममा गुरुङ आफूले त्यसरी मागेर खाने मानिस भएको जानकारी नभएकाले उनीहरुका लागि हाल नगरपालिकाले कुनै योजना नबनाएको बताउनुहुन्छ । रासस