५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षाले सडकको भल गाउँ पस्यो



अ+ अ-

मलेखु । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ ।

चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिनुभयो । बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै घरको अन्नपात र लत्ताकपडा पनि कामै नलाग्ने भएको उहाँहरुले बताउनुभयो ।

“बस्तीको नजिक खोला पनि छैन, त्यसरी भल पस्ला भन्ने कल्पनासमेत थिएन”, वडाध्यक्ष भण्डारीले भनुभयो, “थप क्षति हुन नदिन रातैभरी खटिएर भल छिर्नसक्ने ठाउँमा डोजरको सहायताले भल छेक्ने काम गरेका छौँ ।”

नीलकण्ठ–१२ कै आलडाँडाभन्दा माथिबाट सडकमा जम्मा हुँदै आएको भल ह्युमपाइपले नधानेपछि सडक र बारीका कान्ला भत्काउँदै बस्तीमा ओइरिएको स्थानीयवासीले बताएका छन् । लेदो, माटो, ढुङ्गासहितको भलले बिजुलीका खम्बामा पनि क्षति पुगेको छ ।

एउटा बिजुलीको खम्बा ढलेर सावित्री ढकालको घरको कर्सामा अड्किएको छ । उता नीलकण्ठ–१२ कै केउरेली खोल्सामा आएको भलले पारस लम्सालको गोठ भत्काएको छ । केही घरमा पनि पानी पसेको छ । आसपासका खेतमा लगाइएको धान नस्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।