५ श्रावण २०८३, मंगलवार
,
Latest
साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पढाइले प्रौढ महिलाको आत्मविश्वास बढायो



अ+ अ-

म्याग्दी । अङ्क र अक्षर लेख्न, पढ्न तथा चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी सङ्गीता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो वैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने छिनालले शिक्षा हासिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्नेलगायत समस्या हटेको छ ।

“विहे गर्दा कक्षा १ सम्म मात्र पढेकी थिए, लेख्न केही पनि जानेकी थिइन । कहिँकतै जाँद अरुलाई सोध्नुपर्दथ्यो । निकै समस्या हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले अंग्रेजीबाट नाम लेख्ने र लेखेको कुरा पढ्न सक्ने भएकी छु । अरुले बोलेको बुझ्न सक्छु । पहिलाभन्दा धेरै सजिलो भएको छ ।”

छिनाल जस्तै विद्यालय जाने उमेरमा पढ्न नपाएका र बिचैमा पढाई छाडेकाको लागि बेनीको उज्यालो वैकल्पिक विद्यालय एसइई तहसम्मको शिक्षा हासिल गर्ने थलो बनेको छ । आठ वर्षअघि स्थापना भएको विद्यालयमा हालसम्म १०० जनाभन्दा बढीले अध्ययन गरिसकेका छन् । नौ जनाले पछिल्लो दुई वर्षमा एसइई उतिर्ण गरेका छन् । हाल विभिन्न कक्षामा ४० महिला अध्ययनरत छन् । भर्ना भएका केहीले लेखपढ गर्न जानेपछि पढाइलाई निरन्तरता दिएनन् ।

घरायसी काम सकेर झोलाभरी कापी किताब बोकेर बिहान ११ बजे विद्यालय आउने आमाहरु दिउँसो ३ बजे घर फर्कन्छन् । “खेती किसानी, घरको व्यवहार, घाँस, दाउरा गर्ने चलन थियो । इच्छा भएर पनि पढ्न पाइएन,” हाल कक्षा १० मा पढ्दै गर्नुभएकी ५० वर्षीया डिलकुमारी पुनले भन्नुभयो, “बालबच्चाले पढाइ सिध्याए । मलाई बल्ल अहिले फुर्सद मिल्यो । उमेर ढल्कीएकाले गाह्रो भए पनि पाएको अवसरको सदुपयोग गरेर एसइई उतिर्ण गर्ने लक्ष्य राखेकी छु ।”

भर्ना हुन आउने विद्यार्थीको क्षमता पहिचान गरी कक्षामा राख्ने र पढाउने गरिएको छ । तत्कालीन शिक्षा कार्यालयमार्फत बेनी सामुदायिक माविलाई मातृ विद्यालय मानेर स्थापना भइ समुदाय स्तरबाट विद्यालय सञ्चालन गरिएको हो । सात शिक्षकको तलबभत्ता बेनी नगरपालिकाले उपलब्ध गराउने गरेको छ । विद्यालय सञ्चालनमा स्थानीयवासी, विभिन्न सङ्घ संस्था र प्रवासीले सहयोग गरेको व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

“१६ वर्षभन्दा बढी उमेरका बिचैमा पढाइ छाडेकाका लागि स्थानीय युवाको अग्रसरतामा विद्यालय सञ्चालन गरेका हाँै,” उहाँले भन्नुभयो, “बेनी सामुदायिक माविलाई मातृ विद्यालय बनाएका छाँै । विज्ञान र कम्प्युटर ल्याब स्थापना गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।” सामाजिक विकास कार्यालयको भवनमा सञ्चालन भएको विद्यालयमा आफ्नै पूर्वाधार, दिगो आर्थिक स्रोतको अभाव तथा शिक्षकलाई तालिमको आवश्यकता देखिन्छ । सुरुआती चरणमा बेनी पुस्तकालयको भवनमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरिएको विद्यालय तीन वर्षअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयको खाली भवनमा सारिएको हो ।