१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ राजु श्रीवास्तवको पछिल्लो स्वास्थ्य अवस्था



अ+ अ-

एजेन्सी । भारतीय चर्चित हाँस्यकलाकार राजु श्रीवास्तव दुई सातादेखि अस्पतालमा उपचाररत छन् । उनको मस्तिष्क बाहेक सम्पूर्ण शरीरले सामान्य रूपमा काम गरिरहेको छ ।

मस्तिष्कमा हुने इन्फेक्सन पनि पूर्ण रुपमा हटेको छ । डाक्टरहरुले अहिले उनीहरुलाई होशमा ल्याउन आफ्नो पूरा ध्यान केन्द्रित गरेका छन् । त्यसका लागि अहिले राजुलाई न्यूरो फिजियोथेरापी दिइएको छ ।

विशेषज्ञ फिजियोथेरापिस्टको टोलीले उनको शरिरको उपचार गरिरहेको छ । राजुकी छोरी अन्तराले पनि बुवाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएकी छन् ।

डाक्टरका अनुसार राजुको फोरब्रेन (मस्तिष्कको माथिल्लो भाग)मा अक्सिजन नपुगेकाले उनलाई होश आउन नसकेको हो । यदि त्यहाँ अक्सिजन पुग्यो भने, उनलाई होशमा आउन धेरै समय लाग्दैन । हृदयघातपछि राजुको मस्तिष्कमा करिब २० मिनेटसम्म अक्सिजन पुगेन । जसका कारण उनी कोमामा छन् । मस्तिष्कका बाँकी २ भागमा अक्सिजन आपूर्ति ठीक रहेको चिकित्सकले जनाएका छन् ।

राजुको परिवारका निकट सुनिल कनोजियाले उनलाई होशमा ल्याउन चिकित्सकहरुले सक्दो प्रयास गरिरहेको बताए । उनी १५ दिनदेखि पूर्ण रूपमा कोमामा छन् । भेन्टिलेटर सपोर्ट कम गर्ने प्रयास पनि भइरहेको छ। आईसीयूमा श्रीमती शिखा बाहेक कसैलाई पनि प्रवेश दिइएको छैन ।

हृदयघात भएपछि राजुलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । जिममा व्यायाम गर्दागर्दै उनलाई हृदयघात भएको थियो ।