२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल बिमानस्थल क्षेत्रमा दुई आत्मघाती विष्फोट गराउँदा १३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं ।  अफगानिस्तानको राजधानी काबुलस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा दुई शक्तिशाली बम विष्फोट हुँदा १३ जना मारिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विमानस्थलको मुख्य द्वारमा पहिलो आत्घाति विष्फोट भएको थियो । दोस्रो विष्फोट अफगानिस्तानबाट बेलायत आउन चाहने नागरिकहरुको प्रक्रिया मिलाइँदै आएको बारोन होटल नजिक भएको थियो।

पश्चिमी जासुसी संयन्त्रहरुले त्यहाँ आतंकवादी हमलाको चेतावनी दिएको केही घन्टापछि नै विष्फोट भएको हो । विष्फोटमा तीन अमेरिकी सैनिक घाइते भएका छन् भने अमेरिकाले घटनामा आतंकवादी संगठन आइएसको हात रहेको जनाएको छ ।

तालिवानका एक प्रवक्ताले रोयटर्ससँग आक्रमणमा कम्तिमा १३ जाना मारिएपनि  मृतकको संख्या बड्न सक्ने बताइएको छ । सार्वजनिक भएका तस्बिरहरुमा घाइते व्यक्तिहरुलाई उपचारका लागि दौडाउँदै गरेको देखिन्छ ।

अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएको केही दिनमै ठूलो आतंकवादी आक्रमण भएको हो ।

यसैबीच, समाचार संस्था एपीका अनुसार ती बिस्फोटबाट कम्तीमा १३ जनाको ज्यान गएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।  

अफगानिस्तानमा तालिबान समूहले नियन्त्रण कायम गरेलगत्तै अफगानिस्तान छाड्न चाहनेहरुको काबुल बिमानस्थल बाहिर ठूलो भिड लागेको छ । रुसी अधिकारीहरुले बिस्फोट निकै शक्तिशाली रहेको र काबुल छाड्न चाहने व्यक्तिलाई लक्षित गरी बिस्फोट गराइएको बताएका छन् ।

संयुक्तराज्य अमेरिका र बेलायत समेतका पश्चिमा देशहरुले केही दिनदेखि आत्मघाती आक्रमण हुन सक्ने लगातार चेतावनी दिँदै आएका थिए । गुप्तचर निकायहरुले यो बिस्फोट तालिबान समूहबाट नभई इस्लामिक स्टेट समूहले गराएको हुन सक्ने आँकलन गरेका छन् ।

अमेरिकी अधिकारीहरुले बिस्फोटबाट अमेरिकी सैनिक पनि घाइते भएको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले पनि बिस्फोट भएको र त्यसबाट केही व्यक्ति हताहत भएको पुष्टि गरेका छन् ।

अमेरिकी राष्ट्रपति जाे बाइडेनले यही अगस्ट ३१ भित्रै अमेरिकी मिसन पूरा हुने बताएसँगै काबुल बिमानस्थलमा थप भिड बढेकाे छ । हालसम्म काबुल बिमानस्थलबाट ८० हजारभन्दा बढी व्यक्तिलाइ उद्धार गरिएकाे छ ।