• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

बाढीले गर्दा मेलम्ची–हेलम्बु सडक अवरुद्ध



file

सिन्धुपाल्चोक । गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची तिपेनी सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । अवरुद्ध बाटोका कारण गाउँदेखि काठमाडौँसम्मको सिधा यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिकाका यात्रुलाई सास्ती भएको छ । मेलम्ची नगरपालिकाअन्तर्गत पर्ने उक्त सडकखण्डको राम्चेमा पहिरो जाँदा यातायात सञ्चालन गर्न जोखिम देखिएपछि स्थानीय तहले नै मर्मतका लागि बाटो बन्द गरेको हो । बाटो मर्मतको काम भइरहेको भए पनि नियमित यातायात सञ्चालनका लागि दुई सातासम्म लाग्ने मेलम्ची नगरपालिकाका इञ्जिनीयर जीतबहादुर कार्कीले बताउनुभयो ।

बाढीका कारण मेलम्ची बजारमा पुल नहुँदा वैकल्पिक सडकको प्रयोग गर्दै आइरहेका पाँचपोखरीका स्थानीयलाई खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या परेको छ । गएराति भारी वर्षापछि आएको बाढीका कारण मेलम्ची हेलम्बु सडकखण्ड पनि अवरुद्ध भएको हो । मेलम्ची ११ सिमखेतमा खोलाले सडक कटान गर्दा यातायात सञ्चालन हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । त्यस्तै मेलम्ची १० रामपुरबेंसीमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।