काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको गुनासो गर्नुभएको छ । शनिवार पेशागत महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो 'मलाई घचेटेर अघि बढ भन्ने,पछाडि हेर्छु त कोही पनि छैन । म कसैको सहारा लिएर हिड्ने हो ? मेरो सहारा भनेका जिल्ला तहका कार्यकर्ता हुन् ।' एमालेको दोश्रो तहका नेताप्रति आक्रामक बन्नु भएका नेता नेपालले भन्नुभयो तिनीहरुका खुट्टा कामे काम्छन् म त अगाडि बढेँ ।
उहाँले उनिहरुले नै आफूलाई एमाले फुटाउन र केपी ओलीलाई सत्ताबाट ढाल्न उक्साएको तर पार्टी फुटाउन बेला खुट्टा कमाएको आरोप लगाउनु भयो । नेता नेपालले उनिहरुले एमाले फुटाउन निर्वाचन आयोगमा अरु दुईटा पार्टी पनि दर्ता गराएको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो 'म आज पहिलो पटक खुलासा गर्छु,कलम चिन्ह भएको नेकपा एकीकृत दर्ता गर्ने पनि दोस्रो पुस्ताका नेता हुन् । नेकपा लोकतान्त्रिक पनि उनीहरुले खोलेका हुन् । आज आएर अर्को पार्टी खोल्न पाइन्छ ? भनेर मलाई भन्ने ? केपी ओलीले बार्ददलीबाट भुकेपछि ज्ञान आयो ?'











