२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु

बुढ्यौलीमा पनि आरनकै भर

बुढ्यौलीमा पनि आरनकै भर
अ अ+ अ-

रामपुर (पाल्पा) । कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै हुनुहुन्छ अमरबहादुर विक । उहाँ उमेरले ६४ पुग्नुभयो । तर यो पेशाले अझै छोडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उहाँलाई भर आरनकै छ । त्यो हिजोभन्दा आज झन बढ्दो छ ।   
       
दिउँसोको चर्को घाममा आरनमा पसिना काढ्दै हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामका औजार बनाउने काममा उहाँको जीवनचर्या बितिरहेको छ । उमेरले बुढ्यौली टेक्यो, नातिनातिना, परिवारसँग घरमै आराम गर्ने बेलामा आरनमा बसेर घन ठटाउँदै हुनुहुन्छ । यो उहाँको रहर नभएर बाध्यता हो । 
       
रामपुर नगरपालिका–८ कुमराङ बस्ने विकले यसरी नै सानो झुप्रोमा बसेर घन ठटाएरै पाँचदशक बिताउनुभयो । जीवनको उत्तरार्दमा आइपुग्दा पनि आरन व्यवसाय धान्नु उहाँको बाध्यता नै भएको छ । उहाँ भन्नुहुन्छ, “मैले १४ वर्षको उमेरबाट नै घन ठटाएर आरनको काम शुरु गरेको हुँ, अहिलेसम्म पनि यो कामबाट मुक्ति पाउन सकेको छैन । पढाइलेखाइ नभएपछि आफूले जे जानियो त्यही काम समातियो ।”
       
घरमा बाउबाजेले धान्दै आएको आरन सीप र व्यवसायलाई उहाँले अहिलेसम्म निरन्तरता दिनुभएको छ । यस व्यवसायमा युवापुस्ताले भने चासो दिएका छैनन् । “जवानीमा त बिहानीको झिसमिसे उज्यालो हुन नपाउँदै आरन शुरु गर्थें, ग्राहक पनि भरिभराउ हुन्थे, काम राम्रै चलेको थियो, रात परेको पनि कामले पत्तो पाउँदैनथे यसरी नै काम गरेरै उमेर ढल्कियो”, उहाँले हिजोका दिन सम्झँदै भन्नुभयो ।
       
बिहान गाउँघरमा भाले बास्न नपाउँदै सबेरै उठेर आरन चलाउने विकको अहिले भने उमेर ढल्कँदै गएपछि जवानी अवस्थाकै जस्तै काममा छिटो, छरितो नभए पनि दैनिकी भने आरनमै बितिरहेको छ । पहिला तामाको पनि काम गर्ने विकले हिजोआज भने उमेर ढल्कँदै जाँदा फलामजन्य औजारको मात्रै काम गर्नुहुन्छ । फलामको कामबाट अहिले दैनिकजसो करिब रु एक हजार कमाइ गर्नुहुन्छ । ढल्कँदो उमेरमा पनि विकले व्यवसायलाई निरन्तरता दिनुभएको छ । 
       
रामपुर नगरपालिका–८ को कार्यालयले मुख्यमन्त्री रोजगार कार्यक्रमबाट गत आर्थिक वर्षको अन्तमा आरन व्यवसाय चालाउने व्यवसायीलाई विभिन्न सामग्री सहयोग गरेको छ । रु २० हजार बराबरको रकमबाट दुई जना आरन व्यवसायीलाई जस्तापाता, घन, चिम्टालगायतका सामग्री सहयोग गरेको वडाध्यक्ष बोमबहादुर नामजाली बताउनुहुन्छ ।
       
रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने ६२ वर्षीय इन्द्रबहादुर विकले पनि आजसम्म आरन व्यवसाय धानेकै हुनुहुन्छ । आफ्नै घरको एक छेउमा बसेर ग्राहकको रोजाइअनुसारका फलाम, तामा लगायतका सामग्रीलाई हातले कुँदेर तयार पार्नुहुन्छ । 
       
“हामी विश्वकर्मा समुदायको पुरानो पेशा सबैले गाउँमा छाड्दै गएका छन्, आरनमै बसेर पङ्खा घुमाएर नियमित काम गर्ने कमै छन्, हामीले त बाँचुञ्जेल सक्दासम्म दुःख सुखले व्यवसाय धानौँला, अबका सन्ततिले यसमा चासो भने दिँदैनन्”, उहाँले भन्नुभयो ।
       
विकले यो व्यवसाय गर्न थालेको चारदशक भयो, हिजोआज सबैले यो पेशा छाड्दै गए पनि उहाँले भने आफूले सकुञ्जेलसम्म व्यवसायलाई निरन्तरता दिने अठोट गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमै बसेर एक महिनामा रु २० हजार देखि रु ३० हजारसम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरुले व्यवसायलाई निरन्तरता नदिँदा हाम्रो पुख्र्यौली व्यवसाय नै सङ्कटमा पर्दै गएकामा दुःख लागेको छ ।”
       
हातले कुदेर बनाइएको कोदालो, बञ्चरो साइज हेरेर रु ६०० देखि एक हजार, हँसिया रु १०० देखि ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताउनुभयो । गाउँघरमा कोइलाको अभाव हुँदै जाँदा आरन व्यवसाय चलाउन समस्या परेको विकको भनाइ छ । 
       
हातले कुँदेर कलात्मक रुप दिइ गाग्री, ताउला, अम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसियालगायत विभिन्न सामग्री लामो समयसम्म टिकाउ हुने भएकाले पनि आरनबाटै तयार पारिएका सामग्री खोजी खोजी घर घरमा प्रयोग गरिन्छ ।
       
यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुँदै गएको छ । पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि रामपुर नगरपालिका–४ मा आरनसम्बन्धी औजार व्यवसायीलाई उपलब्ध गराइएको छ । 
      
वडाले बजेट विनियोजन गरी जस्तापाताको छानो, आरनमा काम गर्न प्रयोग हुने पङ्खालगायत सामग्री यसअघि नै व्यवसायीलाई सहयोग गरिएको वडा सदस्य सीमादेवी राना बताउनुहुन्छ ।
       
“आरन व्यवसायलाई संरक्षण गर्न वडाभित्र भएका व्यवसायीलाई विभिन्न आवश्यक सामग्री उपलब्ध गराइएको छ, यदि कोही व्यवसायी व्यवसाय गर्न चाहानुहुन्छ भने उहाँहरुलाई वडाले सहयोग गर्नेछ”, वडा सदस्य रानाले भन्नुभयो ।

युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लाग्नु, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा आरन व्यवसाय हराउँदै गएको पाकापुस्ता बताउनुहुन्छ । गाउँघरमा भने आरन चलाउने युवा कमै छन् । एक दशकअघि यस क्षेत्रमा ५० भन्दाबढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने कमैले मात्र व्यवसाय चलाएको पाइन्छ । (रासस)