२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना



अ+ अ-

काठमाडौँ ।  रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिबार सुरक्षाकर्मी चढेको लु १ झ ६६० नम्बरको जीप सडकबाट झण्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको मृत्यु भयो भने केही गम्भिर घाइते भए ।

उनीहरुलाई सरकारले तत्कालै हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍यायो । भौगोलिक हिसाबले विकट क्षेत्रमा भएको उक्त दुर्घटनापछि तत्काल हेलिकप्टरबाट उद्धार नगरिएको भए अझै केही सुरक्षाकर्मीले ज्यान गुमाउन सक्थे ।

गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ स्थित लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुवाहक मोडिन नपाइ एक्कासी भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए । त्यस दुर्घटनामा धेरै यात्रु गम्भिर घाइते भएका थिए ।

स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा बस दुर्घटनामा परेको हो । प्रहरीले पनि सवारी साधनको कमजोर अवस्थाका कारण ब्रेकले काम नगर्दा यात्रुले अकालमै ज्यान गुमाउन पुगेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् । प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र मृत्यु तथा घाइतेको ग्राफ बढ्दो छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा सवारी दुर्घटना सङ्ख्या झण्डै तेब्बरले बढेको छ । दुर्घटनाबाट मानवीय क्षति ९मानिसको मृत्य० पनि निक्कै बढेको पाइएको छ ।

दश वर्षअघि ९आव २०६८र६९० को तथ्याङ्कमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार दुई सय ८७ सवारी साधन परेका थिए । दुर्घटनामा एक हजार आठ सय ३७ को मृत्यु र चार हजार १९ जना गम्भिर घाइते भएका थिए । ठिक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८र७९ को अभिलेखानुसार सवारी दुर्घटना ह्वात्तै बढेर २४ हजार पाँच सय ३८ पुग्यो । उक्त साल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल दुई हजार आठ सय ८३ जनाको मृत्यु भयो भने सात हजार दुई सय ८२ यात्रु गम्भिर घाइते भएका छन् ।

दश वर्ष अघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्याङ्क हेर्दा दुर्घटना सङ्ख्या १६ हजार चार सय ४६ ले बढ्यो भने मानवीय क्षति एक हजार ४६ ले बढी देखियो । ती दुर्घटनामा संलग्न रहेका सवारी साधान हेर्दा झण्डै आधा मोटरसाइकल परेको देखिएको छ । आर्थिक वर्ष २०७८र७९ का कुल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार नौ सय ७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ । त्यसपछि दोस्रोमा जीपरकार आठ हजार नौ सय ७५, त्यसपछि बस दुई हजार सात सय ८६ र चौथोमा ट्रकरट्याङ्कर दुई हजार चार सय ७६ दुर्घटना भएको अभिलेख छ ।

दुर्घटनामा परेका सवारी साधनमध्ये आधा मोटरसाइकल छन् । त्यसकारण यातायातका साधनमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जिपरकार रहेको विवरणले पुष्टि गर्छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह प्रहरीको दुर्घटना न्यूनिकरण अभियानका बीच नै दुर्घटना बढ्दो क्रममा रहेको बताउनुहुन्छ ।

प्रहरी प्रधान कार्यालयले हालै गरेको तीन महिनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गत वर्ष र अहिलेको वैशाख, जेठ असार – तीन महिनाको तुलना मा यसवर्ष सोही अवधिमा ६३.४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको मृत्यु ३१.५९ प्रतिशतले वृद्धि भएको छ । उक्त तथ्याङ्कले सवारी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रष्ट हुन्छ ।

विसं २०७२ पछि ह्यात्तै बढ्यो दुर्घटना

प्राप्त विवरणमा विसं २०७२ सालदेखि भने एक्कासी सवारी दुर्घटना र मानवीय क्षतिमा वृद्धि भएको तथ्याङकले देखाउँछ । विसं २०७५ सम्म सवारी दुर्घटना सङ्ख्या ११ हजार नाघेको थिएन । त्यसपछि भने दुर्घटना ह्वात्तै बढेको छ । आव २०७६र७७ मा तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा पाँच हजार बढी दुर्घटना भएका छन् । त्यसपछि हरेक आर्थिक वर्ष पाँच हजार कै हाराहारीमा दुर्घटना सङ्ख्यामा वृद्धि भएर दश वर्षको अन्तरालमा तीन गुणाले बढेको पाइएको हो ।

दुर्घटनाको खास कारण के हो, कसरी न्युनिकरण गर्ने ?

यातायात विज्ञ आशिष गजुरेल नेपालका यातायात विश्वसनीय, आरामदायी र सुरक्षित नभएको दाबी गर्नुहुन्छ । “सार्वजनिक सवारीमा यात्रु कोचाकोच गरेर राखिएको हुन्छ, कमजोर मेसिनरीको प्रयोग हुन्छ, राज्यको योगदान पनि कमजोर छ, नीजि क्षेत्रले चाहेका बेला निकाल्ने र थन्याउन सक्ने अवस्था छ, अनुगमनको संयन्त्र छैन”, गजुरेलले भन्नुभयो, “त्यसकारण पनि नेपालको यातायात क्षेत्र सुरक्षाका दृष्टिले कमजोर छ ।”

उहाँका अनुसार नेपालमा सवारी साधनको सङ्ख्या धेरै छ । उहाँले भन्नुभयो, “सडकको क्षेत्र साँघुरो छ, त्यसले जाम र दुर्घटना पनि बढाउने गरेको छ, फुटपाथ राम्रो छैन, ज्येष्ठ नागरिक, बालिबालिका, अपाङ्गता भएका व्यक्तिमैत्री सडक पनि छैनन् ।”

सडक पुर्वाधार, सवारी साधनको अवस्था, कानुन र त्यसको कार्यान्वयन, सडक प्रयोगकर्ताको अनुशासन, तत्काल उद्धार र राहतको अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्ने तर नेपालको यातायात क्षेत्र त्यस्तो नहुँदा सुधार गरे मात्रै सुरक्षित सडक बन्न सक्ने उहाँ बताउनुहुन्छ ।

उहाँ नेपालको राजमार्ग शहरी क्षेत्रबाट लगिनु नै गलत भएको बताउनुहुन्छ । त्यसलाई शहरी सडक बनाएर राजमार्ग शहरभन्दा बाहिरबाट लैजानुपर्नेमा उहाँको जोड छ । ग्रामिण क्षेत्रमा डोजर इन्जिनियरिङ मात्रै रहेकाले जोखिम बढी छ । सडकमा रेलिङ मात्रै राम्ररी व्यवस्थापन गर्न सकिए धेरै दुर्घटना रोक्न सकिने गजुरेल सुनाउनुहुन्छ ।

दुर्घटना कम गराउन राज्यले कम्तिमा वर्षको दुई पटक सवारी साधनको अवस्था प्रमाणित गर्न लगाउनुपर्ने र कडाइका साथ नियम पालना गराउनुपर्ने उहाँको सुझाव छ । “हेल्मेट लगाउनु ट्राफिक प्रहरीका लागि हो भने जस्तो भएपछि कसरी दुर्घटना कम हुनु रु”, उहाँले प्रश्न गर्नुभयो ।

यस्तो छ १० वर्षको दुर्घटना र मानवीय क्षति

आर्थिक वर्ष २०७८/७९ को दुर्घटना

आव २०७८र७९ मा कुल २४ हजार पाँच सय ३८ दुर्घटना भए । ती दुर्घटनामा ३९ हजार तीन सय ७९ सवारी साधान संलग्न रहे । ती दुर्घटनाबाट कुल दुई हजार आठ सय ८३ जनाको मृत्यु भएको छ भने सात हजार दुई सय ८२ जना गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७७/७८
यस आवमा कुल २० हजार छ सय ४० दुर्घटनामा ३३ हजार नौ सय ३५ सवारी साधन परेको पाइएको छ । ती दुर्घटनामा दुई हजार तीन सयको मृत्यु भएको छ भने छ हजार चार सय ४८ जना गम्भिर घाइते भएका थिए ।

आर्थिक वर्ष २०७६/७७

यस आवमा कुल १५ हजार पाँच सय ५९ दुर्घटना भए । त्यसमा २५ हजार सात सय ८८ सवारी साधन परेका छन् । दुर्घटनामा दुई हजार दुई सय ८१ को मृत्यु र चार हजार छ सय १५ जना गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७५/७६

आव २०७५र७६ मा १० हजार तीन सय ६० सवारी दुर्घटना भएको तथ्याङ्क छ । त्यसमा २२ हजार ८७ सवारी साधन परेका पाइएको छ । ती दुर्घटनामा दुई हजार सात सय ८९ को मृत्यु भएको छ । चार हजार तीन सय ७६ गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७४र७५

यस आवमा कुल १० हजार नौ सय ६५ दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १८ हजार ३४ सवारी साधन परेका र कुल दुई हजार पाँच सय ४१ को मृत्यु भएको छ । अन्य चार हजार एक सय ४१ गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७३/७४

यस आवमा कुल १० हजार एक सय ७८ दुर्घटना भएकामा १५ हजार पाँच सय १५ सवारी साधन संलग्न भएका छन् । उक्त दुर्घटनामा दुई हजार तीन सय ८४ र चार हजार दुई सय ५० गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७२/७३

कुल १० हजार १३ दुर्घटना हुँदा त्यसमा १६ हजार पाँच सय दुई सवारी साधन परेको छ । ती दुर्घटनामा दुई हजार छ को मृत्यु भएको छ भने चार हजार एक सय ८२ जना गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७१/७२

कुल नौ हजार एक सय ४५ दुर्घटनामा १४ हजार आठ सय ३७ सवारी साधनमा क्षति भएको छ । ती दुर्घटनामा दुई हजार चारको मृत्यु भएको र चार हजार ५४ जना गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७०/७१

यस आवमा जम्मा आठ हजार चार सय छ दुर्घटना भएका छन् । त्यस दुर्घटनामा १३ हजार पाँच सय २९ सवारी साधान परेका छन् । दुर्घटनामा कुल एक हजार सात सय ८७ जनाको मृत्यु र तीन हजार पाँच सय १६ गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०६९/७०

यस आवमा जम्मा दुर्घटना आठ हजार चार सय ८४ भएका छन् । त्यस दुर्घटनामा १३ हजार पाँच सय ८२ सवारी साधान संलग्न भएको पाइएको छ । दुर्घटनामा कुल एक हजार आठ सय १६ को मृत्यु तथा तीन हजार नौ सय ८६ गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०६८/६९

यस आवमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार दुई सय ८७ सवारी साधन परेका छन् । दुर्घटनामा एक हजार आठ सय ३७ को मृत्यु र चार हजार १९ जना गम्भिर घाइते भएका थिए ।

नारायण ढुङ्गाना/ रासस