२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आतिथ्यतालाई संसारभर फैलाउन जरुरी: मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच साझेदारीकासाथ योजना कार्यक्रम अघि बढाइने भएको छ ।

उक्त प्रयोजनका निम्ति शैक्षिक उन्नयन तथा प्राज्ञिक जनशक्ति विकासमा प्रतिष्ठित दुवै संस्थाले सहकार्यको समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेती र विश्वविद्यालयका प्राध्यापक देवी विडारीले सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा पर्यटनमन्त्री श्रेष्ठले पर्यटन उद्योगलाई समृद्ध बनाउन नेपालको मौलिक आतिथ्यता (हस्पिटालिटी) र पहिचानलाई संसारभर फैलाउन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई संसारका पर्यटकको आकर्षक गन्तव्य स्थलका रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।

पर्यटनमन्त्री श्रेष्ठले सरकारले मुलुकको आर्थिक समृद्धिको तीनमध्ये पर्यटनलाई महत्वपूर्ण आधार मानेको भन्दै पर्यटन उद्योगको विकास गरी देशको अर्थतन्त्र बलियो बनाउन र विदेशी मुद्रा आर्जन गर्ने सरकारी नीतिअनुरुप बजेट तथा कार्यक्रम समावेश गरिएको बताउनुभयो । मन्त्री श्रेष्ठले दुई संस्थाबीच सहकार्यको सम्झौताले नेपालको पर्यटनको हस्पिटालिटी सेवा क्षेत्रलाई नयाँ उचाइमा पु¥याएको भन्दै उत्पादित जनशक्तिलाई संसारभर फैलने वातावरण बन्नु गौरवको विषय भएको बताउनुभयो ।

उहाँले कोभिड–१९ महामारीपछि शिथिल बनेको पर्यटनको पुनरुत्थानका लागि ७३ बुँदै कार्यक्रम घोषणा गरिएको भन्दै समयसापेक्ष नीतिगत सुधार र विदेशी पर्यटन बढाउने रणनीतिक योजनाका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा भोला थापाले दुई संस्थाबीच सहकार्यको साझेदारीपत्रको हस्ताक्षरले नेपालको उच्च शिक्षामा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयले विभिन्न सरकारी निकायसँग समन्वय र सहकार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र दक्ष जनशक्ति उत्पादन गरिरहेको भन्दै उहाँले नेपालको मौलिक आतिथ्यता र सीपलाई संसारभर फैलाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले अन्तर्राष्ट्रिय गुणस्तरयुक्त जनशक्ति उत्पादन गर्ने दुवै संस्थाको सहकार्यले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा पैदा भएको बताउनुभयो । उहाँले प्रतिष्ठानको सातै प्रदेशमा विस्तार भएको संरचना र उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गर्दै सेवा क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उप्रेतीले प्रतिष्ठानले रणनीतिक योजनाअनुसार साधन स्रोतलाई अधिकतम उपयोग गरी उच्चस्तरीय शैक्षिक कार्यक्रम विसतार गर्दै लैजाने उद्देश्यबाट त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिइ होटल व्यवस्थापनमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयका रजिस्टार सुबोध शर्माले १० वर्षे सम्झौताअनुरुप होटल व्यवस्थापन र पर्यटनका विभिन्न विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

सम्झौतामा के छ ?

होटल व्यवस्थापन र ट्राभल टुरिज्ममा नयाँ दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा परिचालन गर्ने धेयका साथ दुई संस्थाबीच साझेदारी गरिएको हो । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक जनशक्तिको उत्पादनका लागि सहकार्य गर्न काठमाडौँ विश्वविद्यालय (पहिलो पक्ष) र प्रतिष्ठान (दोस्रो पक्ष) ले समझदारीपत्रमा हस्ताक्षर गरिएको समझदारीपत्रमा उल्लेख छ ।

प्रतिष्ठानको प्रदेशमा विस्तारित संरचनामार्फत जनशक्ति उत्पादन गर्ने दुवैतर्फका विज्ञताको उपयोग गर्दै पर्यटन क्षेत्रलाई दक्ष र गुणस्तरीय जनशक्तिको सुनिश्चितता गरिने सम्झौतामा भनिएको छ । सम्झौताको उद्देश्यअनुरुप दुवै संस्थाले काठमाडौँ उपत्यका बाहिर आतिथ्य व्यवस्थापनमा उच्च शिक्षाको अवसर विस्तार गर्न हाललाई बागमतीबाहेक तीन वटा प्रदेशमा तालिम तथा शैक्षिक कणर्यक्रम तत्काल सुरु गरी क्रमशः अन्य तीन प्रदेशमा विस्तार गरिने जनाइएको छ । विश्वविद्यालयसँगको साझेदारीका माध्यमबाट आतिथ्य व्यवस्थापन विषयको अध्यय, अध्यापन र अनुसन्धान गर्ने, सम्बन्धित विषयमा प्राज्ञिक कार्यक्रम र पर्यटन उद्योग व्यवसायबीच कार्यक्रम चलाइनेछ ।

ब्याच्लर अफ हस्पिटालिटी म्यानेजमेन्ट/ब्याच्लर अफ प्रोफेशनल हस्पिटालिटी म्यानेजमेन्ट सञ्चालनका लागि काठमाडौँ विश्वविद्यालय सम्बन्धन तथा विस्तरित कार्यक्रममा सहकार्य गरिने सम्झौतामा भनिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रतिष्ठानको शाखा कार्यालय प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा सुुरु गरिएको छ । छिट्टै पोखरा, धनगढीमा पनि शाखा विस्तर गरिने प्रतिष्ठानले जनाएको छ ।