• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस

पहिराले पर्वतका चार परिवार विस्थापित, बस्ती जोखिममा



पर्वत । केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ ।

पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन् । करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । स्थानीय कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत् सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोले पुरिने डरले घर छोडेर छिमेकीकोमा शरण लिइरहेका छन् ।

त्यस्तै आसपासका ६४ परिवार रहेको बस्ती पहिराको प्रत्यक्ष जोखिममा छ । पहिराका कारण गाउँमा वितरित विद्युत्का पोलसमेत ढल्न थालेपछि स्थानीयले विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रलाई जानकारी गराएका छन । दुई वर्षअघिदेखि खेतको फाँटमा धाँजा फाटेको र गत सोमबारदेखि परेको वर्षापछि खेतसहित पहिरो बगेर बस्तीमा खस्न थालेको स्थानीय शङ्कर सुवेदीले बताउनुभयो ।

विद्युत्को तार घरमा आएर करेन्ट लाग्ने हो भन्ने त्रासले राति घरमा बस्न नसकिएको उहाँले बताउनुभयो । पहिरोले १२ रोपनी जग्गासमेत बगाइसकेको छ । स्थानीय खिमनाथ सुवेदीले धान खेतसमेत बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको बताउनुभयो । “अघिल्ला वर्षमै धाँजा फाटेको थियो”, वडाध्यक्ष रामचन्द्र सुवेदीले भन्नुभयो, “अहिले वरपरको थुप्रै खेतसहित बस्ती नै बगाउने गरी खसेको छ । अब तत्काल रोकथाम नगरे यो बस्तीका ६०–६५ परिवार विस्थापित हुनुपर्नेछ ।” नगरपालिका हुँदै प्रदेश र केन्द्रसम्म समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

पहिराले बस्ती नै बग्न थालेको जानकारीपछि कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, इन्जिनियरद्वय शिवप्रसाद बराल र सञ्जय लामिछाने, विद्युत् प्राधिकरणको कुश्मा वितरण प्रमुख शिवनारायण गोशली, भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापालगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनपश्चात् प्राविधिक टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभियन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख गोशलीले बस्तीमा जोखिम भएको विद्युत्का पोल फेर्न सुरु भइसकेको जानकारी दिनुभयो । “पहिरो खसेको स्थानमा तीन पोल जोखिममा छन् । एउटा पहिरोले बगाएर तल खसालेको छ”, उहाँले भन्नुभयो, “बाँकी दुई हटाउनुपर्ने छ ।”

गत वर्षजस्तो ठूलो वर्षा नभए पनि जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।