काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आधा किलो बढी सुनसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ प्रहरीले डोल्पा ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय विष्णु बहादुर शाहीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको साथबाट अवैध रूपमा ल्याएको ७ सय ७० ग्राम सुन बरामद गरेको हो। फ्लाई दुबईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र रहेको इमरजेन्सी लाइटमा सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै प्रहरीले सुन लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भूपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











