२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा



फाईल फोटो
अ+ अ-

टीकापुर I हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ ।

नदीको वहावले तटबन्ध नै भत्काउन थालेपछि टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक मनसुन अवधिभर त्रासमा बाँच्ने गरेका छन् । तीन दिनदेखि मनसुन सक्रिय भएको छ । नदीले कटानसमेत तीव्र पारेपछि यहाँका नागरिक रातिको समयमा राम्ररी निदाउन नसकेको बताउँछन् । टीकापुर–५ का सुन्दर थारुले टीकापुर पार्कको उत्तरतर्फ कर्णाली नदी कटान भइरहेकाले त्रास बढेको बताउनुभयो ।

टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कर्णाली नदीले कटान तीव्र बनाएको छ । त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ । कर्णालीले तटबन्ध र स्पर भत्काउन थालेपछि यहाँका नागरिकमा त्रास बढेको टीकापुर–५ बङ्गलापुरका चुनकानु थारुले बताउनुभयो ।

“यहाँ गत वर्षदेखि नै कटान सुरु भएको हो । यस वर्ष पनि कटान भइरहेको छ । अहिलेसम्म १५ फिट कटान भइसकेको छ”, उहाँ भन्नुहुन्छ, “नदीले कटान सुरु गरेपछि आफ्नो गाउँसम्म पनि असर गर्ने भएकाले त्रासमा बस्न बाध्य भएका नुक्लीपुरका बबिता घर्तीमगरले बताउनुभयो । “दैनिक वर्षा भइरहेको छ । नदीमा पानी बढ्यो या ठूलो वर्षा भइरहेको अवस्थामा हामीलाई त निद्रा लाग्दैन, नदी कटानको त्रासले भोक निन्द्रा हराएको छ”, उहाँ भन्नुहुन्छ, “कतिबेला आफ्नो घरसम्म बाढी आउँछ भन्ने डरले सताउन थालेको छ । नदी बस्तीमा पसे गाउँ नै सखाप हुन्छ ।”

कर्मीडाँडाका सिंहराज बुढामगर पनि मनसुनको समयमा बढी वर्षा हुने बित्तिकै निकै चिन्ता लाग्ने गरेको बताउनुहुन्छ । “यहाँ पटकपटक कर्णाली नदीको बाढी पसेर क्षति पुगाएको छ”, उहाँ भन्नुहुन्छ, “नदीमा पानीको बहाव बढ्न थालेपछि गाउँका बासिन्दा पटकपटक नदी किनारमा हेर्न जाने गरेर दिन बित्छ । नदीमा पानीको वहाव घटे मन शान्त हुन्छ । बाढी आउने डरले जहिले सताउँछ ।”

नुक्लीपुरका दुजबहादुर दर्लामीमगर भने कटानको जोखिम रहेका ठाउँमा बृहत र समयमै तटबन्ध बनाएको भए बस्ती सुरक्षित हुने बताउनुहुन्छ । “नदीको पानी बस्तीमा पसेपछि नुक्लीपुर र टीकापुर पार्कको त भविश्य नै रहने देखिँदैन”, दर्लामीमगर भन्नुहुन्छ, “नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पानीलाई छेक्न ठूला ठूला स्परसहितको तटबन्ध गरेको छ तर त्यहाँ पनि कटान सुरु भएकाले तटबन्धको स्वरुप परिवर्तन आवश्यक छ । अब तार जाली, ढुङ्गा राखेर गरिने तटबन्धले नदी नियन्त्रण गर्न सकिँदैन ।”

यहाँ नदी कटान भएर बस्ती पसेमा टीकापुरको नुक्लीपुर, बङ्गलापुर, शाहीपुर, सिम्रेनी, टीकापुर पार्कलगायत दक्षिणतर्फका वडा नम्बर ६, ७, ८ र ९ लाई असर पार्ने देखिन्छ । यहाँका नागरिकलाई बर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ । कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टीकापुर–५ को शाहीपुर क्षेत्र रहेको छ । यसका साथै रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ ।

कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ । टीकापुर–२ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विग वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन् । टीकापुर–७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ । वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्सनले काम सम्पन्न गर्न नसकेपछि सिँचाइ आयोजनाले ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का बदर गरेको छ । बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद यस वर्ष नदी कटान ठाउँ ठाउँमा भइरहेकाले थप जोखिम रहेको बताउनुहुन्छ । “समयमै काम नभएका कारण वन क्षेत्र कटान हुनुका साथै तल्लो क्षेत्रमा डुबानको जोखिम छ”, उहाँले भन्नुभयो, “सामुदायिक वनको पश्चिमतिरको हुलाकी सडक पनि कटानको जोखिममा छ । कर्णालीले टीकापुरको तल्लो क्षेत्रमा ठाउँ–ठाउँमा भङ्गालो बनाएको छ । थप जोखिम छ ।”

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ । तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरकफरक स्थानमा तटबन्ध भत्काउने गरिरहेका कारण समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठ बताउनुहुन्छ । “हामीले लामो सयमदेखि तटबन्धका कार्य गर्दै आएका छौँ, तटबन्ध बनाएको ठाउँमा नदीले धार परिवर्तन गर्दा तटबन्ध नै भत्काउने गरेको छ”, उहाँले भन्नुभयो, “आयोजनाले दर्जन बढी ठाउँमा नदी नियन्त्रणको काम गरेको छ ।”

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले नदीको त्रासमा आफूहरु पनि रहेको बताउँदै प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफँैले गर्न सक्ने ठाउँमा आफँैले काम गर्ने र नसकिने स्थानमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने योजना बनाएको बताउनुभयो ।

दुर्गा देवकोटा / रासस