२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याबात क्यान्जिन !



अ+ अ-

हरेक अग्लो पहाडमाथी एउटा गोरेटो हुन्छ यद्यपि त्यो पहाडको फेदीबाट नदेखिएको पनि हुनसक्छ। हर अग्लो पहाड हुँदै गरिने यायावरिय यात्राहरुले मलाई यो एउटा भनाईलाई सधैं स्मरण गराउँछ। यात्रा त्यो कस्तो पवित्र शब्द? कोहि दु:ख भुलाउन यात्रा गर्छन्, कोहि सम्झना बनाउन यात्रा गर्छन्। अर्थात् सबै मानिस यात्रा गरिरहेका हुन्छन्। कोहि हिमाल यात्रामा हुन्छन्, कोहि तराई यात्रामा; कोहि उकाली कोहि ओरालो र कोहि जन्मको यात्रामा कोहि मृत्युको यात्रा ! जीवन मात्रै होइन मृत्यु पनि एउटा यात्रा हो भन्छन् जीवनको गहिराई नापेकाहरु।

बर्खाको मौसम छ। सेमेस्टर परिक्षा सकिएर बिदा पनि थियो। कतै यात्रा गर्न मन सार्है उत्साहित थियो। बर्खाको बेला एक्लै हिँडीहाल्न मन त्यति तयार पनि थिएन। भाइ र बैनीहरुलाइ समेट्ने प्रयास थियो।  यात्रा बारे सोच्दै गर्दा लाङटाङ जाने कुरो भयो। सुरुमा ४ जना जोडिएका मान्छे पछि १० जना भए। यसअघि गरिएका यात्रामा दीप दाइले सम्झिएनन् भन्ने तीन जना भाइहरुलाई पनि सम्झेर अटाइयो। र संगै बहिनीले ब्याचलर कटाएको खुशीयाली पनि थियो, यसरी त्यो एउट जम्बो टोलीको यात्रा जुर्यो भन्नै पर्ने हुन्छ।

भदौरे बर्खा अझै सकिएको थिएन तर यात्रा रोकिने वाला पनि थिएन। यात्रीले जुराएको यात्राहरु कहाँ यत्तिकै रोकिने वाला थिए र? सबै एकै ठाउँमा भिन्न अनुभूति बटुल्न तयार भएर निस्किसकेका थिए, मैले उनीहरुमा उत्साहको रापलाई देखिसकेको थिएँ, र मौसमलाई दोष लगाएर यात्रा रोक्ने मसङ्ग आँट थिएन। त्यसैले पूर्वनिर्धारित समयअनुरूप हामीले भदौ ९ गते बिहान ६:३० मा बालाजुमा भेट्यौं। केही दिन अगाडि नै मिलन भाईले स्याफ्रुबेशीसम्म पुग्ने सुमो रिजर्भ गरिसकेको थियो। बाटोभरी ड्राइभर दाइसङ्ग विविध प्रसङ्गहरुमा गफ मार्दै सयर गरियो। त्रिशुली नदी बडा शान्त भएर बगेको आभास मिलेको थियो।

भाइहरु ठट्टा गर्दै हाँस्दै थिए, बैनी मस्त तस्बिर हरु खिच्दै थिइन्। कुहिरोहरु पहाड पहाड डुलीहिँडेकका थिए, सडक हुस्सुले ढाकिएको थियो, जताततै झरनाको झरझर देख्न पाइन्थ्यो, हामी त्रिशुली भन्दा धेरै माथी थियौं। बर्खे पहाडी पृष्ठभुमिमा देखिने कुनै पनि दृश्यहरु कम थिएन। बाटाभरी रमाइला दृश्य हेर्दै झन्डै ८ घन्टाको यात्रा पछि हामी स्याफ्रुबेसी पुग्यौं। समय नघर्किसकेकोले हामी दोमेनतिर लम्कियौं। लाङटाङ त्रिशुली खोला तरेर लाङटाङको तिरैतिर हामी दोमेन पुग्यौं।

लाङटाङ बडो बेगले हतारिएर बग्दै थियो, सायद उसलाई पनि समुन्द्र भेट्ने उत्कट चाहना हुँदो हो हगी? हामी झन्डै समसाँझमा दोमेन पुग्छौं। बायाँतिर उर्लदोँ लाङटाङ दायाँतिर घरै छोप्ने गरि खस्ला जस्तो पहाड देख्ता मन डराएको थियो। उसैपनी हेलम्बुको विध्वंसबाट उम्किएका हामी अगुल्टो हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ भने सरहको भएका थियौं। यिनै सेरोफेरोमा कुरो गर्दै मन एकतमास चिन्ताको बादलले घेरिन थाल्यो। गफिँदै गर्दा केही आर्मी दाइहरु हामी बसेको होटेलमा आइपुगेका थिए। मेसोमा गफ सुरु भयो।

 "भाईहरु लाङटाङ जान लाग्नुभा होला?"

"हजुर दाइ।"

"यो बाटो नजानु होला, १०/१५ दिन अघि रिम्चेको पहिरोमा परेर १ जना यात्रीले जीवन गुमाएँ। त्यो लास मेरै काँधले बोकेको, काँध अझै दुखिरहेको छ। हिँड्ने गोरेटो नभएकोले शेर्पागाउँ हुँदै आएको। तपाईंहरु जाने नै भए बरु अर्को रूट बाट जानुहोला। मेरो सल्लाह यहि हो।"

आर्मी दाइले यसो भन्दै गर्दा हामी बीच सन्नाटा छायो,   आँधीबेहेरी पछिको सन्नाटा जस्तै। सब चिन्तायुक्त भावले म तिर हेर्दै थिए। अनि म भने कैले होटेलका साहुनी कैले क्यान्जिन तिरकि दिदी लगायतसङ्ग सल्लाह लिन थालेँ। भाइहरु त मेरै निर्णयको पर्खाईमा जो थिए। बिहान कताबाट जाने, के गर्ने अनि निर्णय लिउँला भनेँ। खाना खाइवरी त्यो रात हामी दोमेनमै सुत्यौं। दोमेनमा मन दोमनले ग्रस्त भयो। बिहान चिया खाएपछि भाइहरुलाई बोलाएँ।

"जीवन भन्दा अमुल्य चीज केहि पनि होइन। जीवन छ भने अनगिन्ती ठाउँहरु घुम्न सकिन्छ। २ दिन छोट्याउने हिसाबले हामी पहिरोको बाटोको जोखिम लिँदा हाम्रा मध्ये कसैलाई अप्रिय घटना घट्यो भने त्यो जीवनभरीको घाउ हुन्छ। त्यसैले फर्किएर स्याफ्रुबेसी जाने र शेर्पागाउँको बाट समात्ने विचार आयो।" मैले यति भन्दै गर्दा भाइहरूले नाई भनेनन् र अन्ततः शेर्पागाउँ पुग्ने अठोटका साथ हामी लम्कियौं।

स्याफ्रुबेसीबाट झन्डै साँढे ३ घन्टाको उकालो उक्लेर सुन्दर गाउँ खाम्जिङ पुग्यौं। खाम्जिङ नाम सुन्दा कताकता चीनको नान्जिङ शहरको नामसङ्ग मिल्दोजुल्दो लागेको अनुभूति भयो। बाटामा भेटिएका गाउँले दाइहरुसङ्ग बात मार्दै, उकालो बाटोमा दाजुभाइ र बैनी संवाद गर्दै उक्लिरह्यौं। निक्कै माथीसम्म तिब्बतबाट बगिआएको खोला सुसाइरहेको थियो, पारीतिरका बस्तीहरुले हेरिरहेको अनुभूति भैरहेथ्यो। बादलुले ढाक्दै, उघार्दै गरेको लेकाली गाउँहरू वारि डाँडाबाट सुन्दर देखिन्थे। खाम्जिङ गाउँमा गएर खान भन्यौं। खाना खाइसकेर हामी फेरि शेर्पा गाउँ तिर लम्कियौं। सिमसिम पानी परिरहेको थियो। सबैले प्लास्टिक ओढाउ ओड्यौं।

सुबानीले बैनीले रेनकोट ओढेकी थिईन्। "सुबुलाई त मुमिनको सानुमाया जस्तै देखियो नि?" मैले ठट्टा गर्दै भनेँं। "अनि तिमी त मुमिन बा जस्तै।" उसको प्रतिउत्तरले भाइहरुबीच हाँसो गुन्जियो। सिमसिम पानीको तालमा जुकाहरु हामीलाई भेट्न आउँदै थिए, कतिले प्रीती गाँसे, कतिले हामीसङ्ग टाढाकै यात्रा गरे, कतिलाई हामी आफैंले प्याट्ट औंलाले हानेर मिल्कायौं। सुन्दर लेकाली सल्ला, धुपीहरुका जङ्गलहरुबीच हिँडेका गोरेटोहरु पछ्याएर हामी कुहिरोले लुकाएको गाउँहरु हुँदै हिँडिरह्यौ।

आकाश बादलले डम्म थियो, हामीसङ्ग कुहिरो बात मारिरहेथ्यो, हामी लुकामारी खेल्दै गरेको आभासमा थियौं। कहालीलाग्दो भीरहरु बीच खनिएका सडकहरु हुँदै, वेगले सुसाइरहेको लाङटाङ खोलाको आवाज सुन्दै झन्डै ३ घन्टाको यात्रा पछि हामी साँझमा शेर्पागाउँ पुग्छौं। विशाल पहाराबीच सदियौं देखि हिँडेको लाङटाङ पदयात्राको सुन्दर गोरेटो मासेर बनाएको गाडी नगुड्ने सडक कत्ति पनि मन परेन। बरु भासिएर तल्तिर पुग्ने हो कि भन्ने डरले हामीलाई सबैलाई गाँजिरह्यो। त्यो विशाल पहाडको छातीमा हुँदाछँदाको मान्छे र खच्चर हिँड्ने सुन्दर बाटो मासेर गाडी नगुड्ने सडक बनाउने मानिस को होला हगी भन्ने कुरोले मस्तिष्कमा डेरा जमाइरह्यो।

प्राकृतिक सम्पदाको त हामीलाई माया नै छैन? सम्पदाको संरक्षणमा हाम्रो भुमिका नै छैन। विकासको नाममा विनाश किन होला? मनभरी अनगिन्ती गफहरु खेलाउँदै खाम्जिङको दिदीले भनेकै नमस्ते होटेलमा पुग्यौं। ती आन्टीको बा तिब्बती सरणार्थी रैछन्। निक्कै मजाको गफ भयो। आगो ताप्यौं। भिजेका जुत्ता र मोजा हरु सुकायौं। झन्डै २५०० मि को उचाइमा रहेको गाउँमा लेकाली चिसो त हुने नै भयो। बाटाभरीका विविध कुराहरुमा रमाइलो गफ गर्यौं। सुबानी, सबिन, अंकित, अन्जन र प्रवेश ज्यादा सुन्थे। मिलन, विश्वास र एटम गफका भकारी थिए। म भने जता पनि ठिक्क थिएँ। यसरी आगो ताप्दै खाना खाएर हामी सुत्यौं।

बिहान सबेरै उठेर रोटी तरकारी खाजा खाएर हामी क्यान्जिन पुग्ने उद्देश्यले लम्कियौं। तर बाटो लामो थियो। झन्डै २२ किमी यात्रा तय गर्नुथियो। सुबानीको गती हिजोको उकालोले केही कमि भएको थियो। जिन्दगीको पैलो पदयात्रामा सुरुकै दिन ठाडो उकालो माथीको एकोहोरो हिँडाइले घरमा बनाएको आँटमाथी केही धक्का पुर्‍याएको थियो। बर्खाकोबाटोमा खच्चरहरुको लस्कर हिँडाइले बाटोको हिलो ग्याजेल ग्याजेल थियो।

सुबानीको हिँडाई बिस्तारै बढेकोले मैले हिँड्न सक्ने ६ जनालाई सरासर हिँडाएर वुडल्यान्ड भन्ने ठाउँमा खाना भन्दै गर्नु भनेर पठाएँ। एटम, सुबानी, प्रवेश भाइहरुको हिँडाइको लागि म साथी थिएँ। म उनीहरुकै गतिमा चलेको थिएँ। "दाइ हिजोको हिँडाइले त मलाई चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भने सरह नै भयो नि। झरी परिरहेको छ, बीचतिर होटेल नि छैन। हिँडेको छ, हिँडेको छ, बेलुका होटेल बस्यो भिजेको मोजा र जुत्ता सुकायो। काम नै यत्ति भो यात्रामा।" प्रवेश भाइ ठट्यौली पारामा यसो भन्छन्। हामी ३ हाँस्छौं। "यात्रा भनेकै यस्तै हो, तिम्रो पैलो यात्रा भएकोले यस्तो लाग्नु स्वाभाविक हो।

काठमाडौ फर्किएपछि तिमीले यो यात्रालाइ मिस् गर्नेछौ भाइ।" मैले यसो भन्दा 'त्यो त हो दाइ।' भन्यो। हामी ३/४ घन्टाको हिँडाइपछी वुडल्यान्ड पुग्छौं। खाना पाकिसकेको हुन्छ। खाना खाएर हामी अझै पनि क्यान्जिन पुग्ने दृढताको साथ सिमसिम पानी, ग्याजेल ग्याजेल हिलो र धुम्म परेको आकाश केही नभनी हिंडीरहन्छौं। यसपल्ट पनि मिलन, अंकित, अन्जन, विश्वास, सबिन र एमेश भाइ हरुलाई म पैले नै पठाईदिन्छु।

उसैपनी उनीहरुको हिँडाइ हिमाली मानिसहरुको भन्दा कम थिएन। म भने सुबानीकै चालमा हिँड्छु। बाटाभरी मनमा आएका गफगरु फुकाउँदै गन्तव्य प्राप्तिमा हिँडीरहन्छौं। लाङटाङ पुग्दै गर्दा दिनले नेटो काट्दै गरेको पत्तो पाएपछी म भाइहरुलाई फोन गरेर मुण्डुमा नै बस्न भन्छु। यसबीच सुबानीलाई मलाई हामी पुग्ने ठाउँ कतिखेर पुग्छ भनेर सोधिरहन्छ। म भने "अब आइसक्यो, लाङटाङ आयो, अब गुम्बा आइहाल्छ, ऊ त्यहीँ त हो नि मुण्डु।" उसलाइ अझै आत्मविश्वासी बनाएर मुन्डुसम्म पुर्‍याउनु छ भन्ने मनमा लागिरहेको थियो।

हामी गुम्बामा केही बेर चिया खान रोकिन्छौ। त्यहाँका होटेलको परिवारसङ्ग नाकको दूधको चिया खाँदै गफिन्छौं। नाक अर्थात् चौंरीगाइ। चिया खाएर हामी मुन्डु लम्किन्छौ। झन्डै साँढे ६ बजे हामी मुन्डु पुग्छौं। वैशाखमा बन्दै गरेको भित्री कोठाहरु ऐले गज्जबका भएछन्। होटेलका दिदीसङ्ग यसअघि नै चिन्जान भैसकेको थियो।

झन्डै ३५५५ मि को उचाइमा रहेको मुन्डु पनि लाङटाङ पछीको अर्को सुन्दर गाउँ हो। आगो ताप्दै, गफिँदै, मोजा र जुत्ता सुकाउँदै, आफूलाई सेकाउँदै र रातको खाना खाएर हामी सुत्यौं। अर्को दिन खाना खाएर हामी दिउँसो झन्डै २ बजे तिर क्यान्जिनका लागि हिँड्यौं। झन्डै ३ घन्टाको यात्रा पछि हामी क्यान्जिन पुग्यौं। गत वैशाखमा जाँदा बसेकै पानारोमा होटेलमा बस्यौं। त्यो बेला लामा होटेल पुगेसी उर्गेन दाइले मलाइ बोलाएका थिए। म फर्केर दाइहरुभएको ठाउँमा पुगेको थिएँ।

गफिँदै गएसी हाम्रो होटेलमा जानू, म मिलाएर गर्दिम्ला भन्नुभाथ्यो। बजेट झन्डै सकिन आँट्दा त्यो खाले बोलीले मनमा आशा जाग्यो। त्यसरी त्यो बेला पनि क्यान्जिनमा भव्य रमाइलो भएको थियो। यो चोटि त म उहाँहरुलाई नै सम्पर्क गर्दै क्यान्जिन लम्केको थिएँ। पानोरोमा होटेलका उर्गेन दाइ सङ्ग मेरो चाइनिज शब्द 'युआन फन्' को सम्बन्ध छ। उर्गेन दाइको र मेरो भेट प्रारब्धकै भेट हो भन्न सकिन्छ। क्यान्जिन पुग्ने बित्तिकै दाइ, भाउजू र बाहरुलाई नमस्कार गर्यौ। तातो चियाले भाउजुले स्वागत गर्नुहुन्छ।

अघिल्ला दिन जस्तै भाइहरु मोजा र जुत्ता सुकाउन आगो छेउ बस्छन्। उर्गेन दाइसङ्ग भालुको प्रसङ देखि मौसम, संस्कृति, यात्रा र जीवनका अनेकन आयाममा खुलेर गफिन्छौं। भाइहरु दङ्ग भएर सुन्छन्। आगो ताप्दै विविध विषयमा गफिन्छौ। विशेषगरि पछिल्लो समय हिमाली कालो भालुले लामाहोटेल छेउ छाउ मच्चाएको वितन्डालाई मैले खोतलिरहेँ।

भाइहरु बडा कौतुहुलताको साथ सुनिरहेका थिए। दाइको छोरी डेढ वर्षकी भैसकिछन्। निक्कै पोटिला आँखाले हामीलाई हेरिरहन्छिन्। झन्डै घन्टौं मिठा संवाद पछि हिमालमा फलेको काउली तरकारीसङ दाल र भात खान्छौं। र बिहान आकाश खुल्ने आकाशमा हामी सुत्छौं। बिहान आकाश अरु दिनभन्दा केही खुल्यो। लाङटाङ लिरुङ गज्जबको देखियो। माने भएको ठाउँसम्म पुगेर क्यान्जिन वरपर हेर्‍यौं। बडा मजा पनि आयो। खाना खाएर हामी क्यान्जिन बाट फर्किने मेसो गर्यौं। ओर्लने बित्तिकै चौरीगाइको दूधको चिया खायौं। केही बेर आगो तापेर खाना खायौं। जानू अघि उर्गेन दाइले हामीलाई लगाएको गुनप्रति म कृतज्ञ भएँ। म अत्यन्तै भावुक पनि भएँ।

अर्कोपटक आउँदा गाङ्जाला चढ्नुपर्छ भनेको छु। हामी त्यहाँबाट बिदा भएर मुन्डु आएर बस्यौं। मुन्डुबाट बिहानै उठेर उर्गेन दाइको मामाघर खाम्जिङमा बस्यौं। र भोलिपल्ट सबेरै उठेर स्याफ्रुवेसी झरियो। अघिल्लो दिन नै सुमोको लागि कुरो गरिसकेको भएकोले सुमोका दाइ हामीलाई पर्खेर बसेका थिए। खाम्जिङबाट बिहानीको सुन्दर दृश्यहरु हेर्दै हामी स्याफ्रु झर्‍यौं। र ७ औं दिन काठमाडौ फर्किने चाँजोपाँजो मिल्यो।

चिलिमे हाइड्रोपावारको पूल तरेर अलिक माथी गैसकेपछि सुमो फस्यो। झन्डै आधा घन्टा लगाएर हामी सबै मिलेर निकाल्यौ। विभिन्न पहिरो र हिलो बाटोहरु पन्छाउँदै हामी गुडिरह्यौं। ड्राइभर दाइका दिव्य वाणी सुन्दै हामी काठमाडौ तिर हुँकिरहयौ। बडा रमाइलो र सम्झनायोग्य यात्रा बनेको अनुभूति भयो। दाइले हामीलाई घरघर नै छाडिदिनुभयो। "दाइ जीवन के रहेछ ऐलेसम्मको बुझाइमा?" बिदाई हुनु अगाडि सोध्छु। एकैछिन टक्क अडिन्छन् अनि दाइ भन्छन्;"आफू जन्मेको आँगन देखि चितासम्मको यात्रा नै जीवन हो।" बडा गम्भीर अभिव्यक्ती दिन्छन्। र हामी सबै बिदाइ हुन्छौं।

शनिबारको दैनिकमा कतै पढेको सम्झन्छु;

“यो जीवन कुनै दौड होइन केवल यात्रा हो, कतै पुग्नैपर्छ भन्ने छैन, केही पाउनैपर्छ भन्ने छैन, वश अघि बढिरहेको अनुभूति पर्याप्त छ। कोही छिटो हिंडेर छुट्छन्, कोही ढिलो हिंडेर छु्ट्छन्, कोही सँगसँगै हिंड्दा–हिंड्दै बाटो बिराएर छु्ट्छन् तर अविरल यात्रा हो जीवन, जो मृत्यु शैयामा नपुगुन्जेल चलिरहन्छ, चलिरहन्छ।”वास्तवमा एक यस्तै भव्य र सम्झनायोग्य यात्रा बनेको अनुभूति भयो। हिमाल यात्रालाई यति भव्य र सम्झनायोग्य बनाउन मदत गर्ने सम्पूर्ण प्रति कृतज्ञ छु। कसैले सल्लाह, कसैले सहयोग र सबैले सकेको गरे, आखिर यात्राको मिठास यहि न हो। 

यात्राको मिठास गन्तव्य मात्रै होइन रहेछ, वास्तवमा हाम्रो सम्झनामा बाँच्ने त यात्राका क्षणमा हामीले बिताएका पलहरु रैछन्। यात्रा दौरान बीच हिँडेका उकाली, ओराएए, देउरालीहरु हुँदै लम्किएको यात्रा बीच मस्तिष्कले सयर गरेको अनुभूति र क्षणहरुले नै यात्रा जिवन्त बन्दो रहेछ। एक यात्री भएर यात्रामा लिन् हुनुको आनन्द बेग्लै छ।

यस्तो लाग्छ जीवन यात्राका देऊरालीहरूमा धेरै चीज त्याग्न सकिन्छ तर समयका पदचाप पछ्याउँदै गर्दा जुर्ने र जुराईने यात्राहरूलाई त्याग्न सकिन्न, पदयात्राका गोरेटोहरूमै हराऊँछु म; मानिसहरु बीचकै संवादमा भुल्छु म; अनगिन्ती कथाहरूमा रुमल्लिन्छु म। लाङटाङ क्यान्जिन यात्रामा हामीलाई हरतरहले सल्लाहसंगै साथ र सहयोग गर्ने हिमाली मनहरूप्रति आभारी छु। म यस यात्रामा केही दु:ख बिसाउन चाहन्थे। सुख जस्तो दुःख बाँड्न सकिन्न।

हुन त मानिसको जीवन आफैंमा एउटा दु:ख हो। हर यात्राले मलाई अझै जीवन्त भएर बाँच्न प्रेरित गर्छन्; यसैले पनि म एउटा जीवन अध्ययन, यात्रा र मानिसहरूको निमित्त बिताउन चाहन्छु। त्यसैले म हिँडीरहन्छु; म खोजीमा हुन्छु; खोजीमा हिँड्छु। र मलाई लाग्छ यात्रा मेरो जीवनको एक पर्याय हो; हर कुइनेटोको उर्जा हो !

तस्वीरमा लाङटाङ क्षेत्र 

तस्वीर –दीपकिरण खड्का