• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

बेपत्ता परिवारले परिचयपत्र कहिले पाउँछन् ?



file

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बेपत्ता परिवारलाई चाँडोभन्दा चाँडो परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै उहाँहरुले बेपत्ता छानबिन आयोगबाट सिफारिस भएर आएका फाइल अघि बढाई पीडितलाई राहत दिन माग गर्नुभयो ।

सांसद आशाकुमारी विकले १७ वर्ष पुगिसक्दा पनि बेपत्ता परिवारले परिचयपत्र पाउन नसकेको भन्दै तत्काल परिचयपत्रको व्यवस्था गरी पीडितलाई राहत दिन सरकारसमक्ष माग गर्नुभयो । सांसद इन्दुकुमारी शर्माले अहिले नेपालमा पाँच लाखभन्दा बढी नेपाली गैरकानुनी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको र यसले बैंक तथा वित्तीय क्षेत्रमा पैसा अभाव हुन थालेको भन्दै यसलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद कमला रोक्काले रुकुमपूर्वको देउखोलादेखि चीनको नाकासम्म जोड्ने रणनीतिक महत्वको सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद कलिला खातुनले गण्डकी प्रदेशका हरेक क्षेत्रमा गरिएको कर वृद्धिले जनतालाई समस्या भएको भन्दै सङ्घीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर कर वृद्धि रोक्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद कुमारी मेचेले किसानलाई चाँडो मल उपलब्ध गराउन माग गर्नुभयो । सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँको नागर्जुन नगरपालिका–८ मा हालै चितुवाको आक्रमणबाट एकै परिवारका धेरै व्यक्ति घाइते भएको र उक्त क्षेत्रको बफरजोनको पर्खाल भत्किएकाले जङ्गली जनावार गाउँ पस्ने क्रम बढिरहेकाले मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कृष्णकुमार दाहालले काठमाडौँको वैकल्पिक राजमार्गका रुपमा रहेको कान्तिपथ निर्माणमा किन ढिलाइ भइरहेको छ भनी प्रश्न गर्नुभयो । सांसद कृष्णबहादुर राईले मतदाता नामावली सङ्कलन कार्यलाई सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद केदार सिक्देलले कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको चार वर्ष बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी कारबाही गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद खेमप्रसाद लोहनीले अरुण खोलाको बाढीबाट २४ वर्षीया शर्मिला रानामगरको निधन भएको भन्दै घटनाका पीडितलाई राहत दिन माग गर्नुभयो ।

सांसद गजेन्द्रबहादुर महतले सुर्खेत–जुम्ला सडक समयमै कालोपत्र गर्न माग गर्नुभयो । सांसद गणेशकुमार पहाडीले सार्वजनिक सुनुवाइलाई कागजरहित बनाउने चालु आवको बजेटमा व्यवस्था भए पनि अझै कार्यान्वयन नभएको भन्दै राहदानी, राष्ट्रिय परिचयपत्रलगायत महन्वपूर्ण कागजात पूर्ण डिजिटलाइज गर्नुपर्ने माग गर्नुभयो ।

सांसद गोमा देवकोटाले किसानले मल र विद्यार्थीले अझै पुस्तक नपाएको भन्दै तत्काल सहजीकरण गरिदिन सरकारसँग आग्रह गर्नुभयो । सांसद गङ्गा चौधरी सदगौवाले निर्मला पन्तको हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्न माग गर्नुभयो । सांसद घनश्याम खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाइनुर्नेमा जोड दिनुभयो ।