८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा

बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा
अ+ अ-

गलेश्वर । दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिनुभएको छ ।

मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फुर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ । तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउनुहुन्छ पनाजु ।

शौचादी नित्यकर्मपछि घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोई घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्नुहुन्छ उहाँ । वल्लोपल्लो घरका छोरा, भतिजा र बटुवाहरुसँग हालखबर बुझ्दै सुस्तसुस्त पाइला अघि बढ्छन् वृद्ध पुर्जाका ।

गाउँ परको खोरियामा बुट्यान र झाडीलाई छिचोल्दै निगालो काटेर भारी बाँध्नुहुन्छ । निगालो काट्दा, भारी बाँध्दा र थकाइ मेटाउँदा करिब तीन घण्टा बित्छ । भारी बोकेर विस्तारै गाउँतिर झर्नुहुन्छ र घरमा पुगेर भारी बिसाएपछि आँगनमा रहेको ठूलो लाम्चो ढुङ्गामा एक छिन सुस्ताएपछि खाना खान घरभित्र पस्नुहुन्छ । दिनभर जङ्गलबाट ल्याएको निगालोको चोया बनाउन सुरु गर्नुहुन्छ ।

पुर्जाले चोयाबाट भकारी, मान्द्रो, डोकोलगायत घरायसी कृषि सामग्रीहरु बुनेर उनले बुढ्यौलीलाई भुलाइरहनुभएको मात्र छैन केही आम्दानी पनि गरिरहनुभएको नाति होमबहादुर बताउनुहुन्छ । पुर्जाको दैनिकी देखेर यहाँ पुग्ने पर्यटकहरुले उहाँको तस्वीर लिन्छन् । उपहार दिन्छन् र उहाँको प्रशंसासहित सुस्वास्थ्यको कामना गर्ने गर्छन् ।

बिहानको खानामा उहाँले सधैँ कोदो, मकै, गहुँ, जौको पीठोबाट बनाइएको ढिँडो उहाँको आहारा हो । ढिँडोसँगै उहाँलाई गेडागुडीको झोल र मोही अनिवार्य चाहिने पुर्जाका नाति होमबहादुर पुर्जाले बताउनुभयो । पुर्जा अझै पनि उकालो बाटो ठमठम हिँडेर जङ्गल र गाउँ बेँसीमा गर्नुहुन्छ । उहाँ एकछिन पनि बेफुर्सद हुन चाहनु हुन्न ।

आज बिहान रासससँग मोबाइलमा कुरा गर्दै १०५ वर्षीय पनाजुले भन्नुभयो, “उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रै छ ।” उमेरले ६० वसन्त पार गरेपछि मानिसहरु बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनतिर लाग्छन् । तर उहाँले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहनुहुन्छ ।

आफूलाई भेट्न आएका मानिससँग कुरा गर्दै काम गरिरहने पुर्जा कसैसँग कहिल्यै पनि नरिसाउने र रुखो नबोल्ने त्यसै गाउँका देवान छन्त्यालको भनाइ छ । उहाँलाई आफ्नो जीवन गोठ, जङ्गल र खर्कमा नै बितेकाले यसैमा आनन्द लाग्दछ । नाति होमबहादुरले भन्नुभयो, “नपुग्दो केही छैन, सबै चीज छ । तर हातखुट्टा चलुन्जेलसम्म काम गर्न छोड्नु हुँदैन भनेर काम गरिरहनुहुन्छ ।”

उहाँलाई अहिलेसम्म सामान्य रुघाखोकीबाहेक अरू जटिल कुनै रोग छैन । पछिल्लो समय कान अलि कम सुन्ने गर्नुभएका उहाँलार्ई अरू कुनै स्वास्थ्य समस्या छैन । उहाँले भन्नुहुन्छ, “जहिलेसम्म शरीर चल्छ, त्यतिबेलासम्म काम गर्न छोड्दिन, शरीर चल्नै छोड्यो भने त के गरी काम गर्ने हो र ?” कहिलेकाहीँ अलि दम बढेको जस्तो भयो भने उहाँ आफैँ जङ्गली लहरालाई थिचेर झोल बनाई पिउने गर्नुहुन्छ ।

गत जेठदेखि १०५ वर्षमा प्रवेश गर्नुभएका पनाजुको बालापन, युवावस्था र ८५ वर्षसम्मको वृद्धवय गाई भैँसीसँग गोठ बसेर धवलागिरि हिमालको फेदीमा रहेका खर्कहरुमा बित्यो । जङ्गली कन्दमूल, आँटो पीठो र दूध, दही, घीउ खाएको तन्दुरुस्त जीउ भएका पुर्जाको अनुहार चाउरिएर बुढ्यौलीको परिचय दिए पनि उहाँको जोस, मिजासिलो स्वभाव, हँसिलो व्यक्तित्व र जाँगरिलो आनीबानीले युवापनको आभास दिलाइरहने उहाँलाई चिन्नेहरु बताउँछन् । पचासी वर्षको उमेरसम्म खादीका कपडा मात्रै लगाउनुभएका पुर्जाले अहिले भने छोरा नातिले ल्याइदिएका न्याना कपडा लगाउने गर्नुभएको छ ।

पाँच छोरी र तीन छोराका पिता पनाजुकी श्रीमती ओममती अहिले ८६ वर्षकी हुनुभयो । लोग्नेभन्दा १९ वर्षले कान्छी ओममती घरको सबै काम गर्नुहुन्छ । खाना पकाउने, खुवाउने, भाँडा सफा गर्ने, श्रीमान्का कपडा धोइदिने सबै काम गर्न सक्नुहुन्छ । उहाँका छोरातर्फका १२ नातिनातिनी छन् । उनीहरु कोही अध्ययनका लागि सहरमा छन् त कोही रोजगारीका लागि विदेशमा । रासस