२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका ३८५ घर डुबानमा, २४७ जनाको उद्धार



अ+ अ-

काठमाडौं । गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकामा ३८५ घर डुबानमा परेका छन् । २४७ जनाको उद्धार गरिएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौंको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिए । 

काठमाडौंबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उनले बताए । 

विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पशुपतिको गुह्वेश्वरी क्षेत्र, अनामनगर, शंखमुल, घट्टेकुलो, बानेश्वरका केही क्षेत्र पनि जलमग्न भएको छ । भारी वर्षा हुँदा सो क्षेत्र विगतमा पनि जलमग्न बन्ने गरेको थियो ।

बागमती किनार क्षेत्रमा सुकुम्बासी बस्तीहरुमा बाढी पसेको छ । वर्षापछि बागमतीमा ठूलो बाढी आउँदा किनारका बस्तीमा बाढी पसेको हो ।

यस्तै अविरल वर्षाले बागमतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । 

मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवंगत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका(४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । 

गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो ।

पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ ।  

जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । 

गोकर्णमुनिको बागमती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ । यसै गरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । 

आइतवार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।