५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचार अभावले ओझेलमा गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ (फोटोफिचर)



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको पुरानो बजार बनेपाबाट उत्तर–पूर्वितर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारको बीचमा रहेको सो ठाउँमा धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भले सो डाँडा निकै प्रसिद्ध छ ।

बजारको कोलाहलबाट नजिकै रहे पनि हरियाली वनजङ्गलको बीचमा रहेको अग्लो ठाउँ भएका कारण निकै शान्त, रमणीय र मनोरञ्जन लिनाका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने पवित्र ठाउँ भएकाले पनि आकर्षक केन्द्रका रुपमा रहेको छ । बनेपा नगरपालिका–६ मा पर्ने उक्त ठाउँमा पछिल्लो समयमा भने पर्यटकको आवागमन कम भएको छ । बनेपा–६ कार्की गाउँका अञ्जु बानियाँले कोरोना सङ्क्रमणको समययता निकै कम मात्रमा पर्यटक आउने गरेको बताउनुभयो ।

“पहिला पहिला काठमाडौँ उपत्यकालगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली लगायतका जिल्लाबाट समेत बनेपाको गोसाइँस्थानमा दर्शन गर्नका लागि दर्शनार्थी आउने गरेकामा कोरोना सङ्क्रमणकालयता भने धेरै कम भएको छ”, उहाँले भन्नुभयो, “यहाँका सडक सुविधा र थप भौतिक संरचना निर्माणले भने केही मात्रमा मानिसको आवागमन वृद्धि हुन थालेको छ ।”

गोसाइँस्थान जाने पदमार्ग

करिब चार वर्षदेखि गोसाइँस्थान डाँडामा सामान्य पसल राखेर पानी, बिस्कुट, चिया राखेर सामान्य व्यापार गर्दै आउनुभएका उहाँले त्यस ठाउँका बारेमा थप प्रचार गर्न सकेमा घुम्न आउनेको सङ्ख्यामा उल्लेख्य बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

गोसाइँस्थानमा प्रत्येक जनैपूर्णिमा पर्वमा विशेष मेलासमेत लाग्ने गरेको छ । सो ठाउँमा अरु समयमा भने दृश्यावलोकन स्तम्भ चढ्ने तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि शनिबार र बिदाका दिनमा भने मानिस पुग्ने गरेको उहाँको भनाइ छ ।

गोसाइँस्थान मन्दिर

कार्की गाउँकै अर्का बासिन्दा एवं गोसाइँस्थान मन्दिर संरक्षण समितिका उपाध्यक्षसमेत रहनुभएका दीपक कार्कीले गोसाइँस्थान र दृश्यावलोकनस्तम्भ क्षेत्र जाने सडक, सिँढी र अन्य थप भौतिक संरचना निर्माणको कार्यले तीव्रता पाएसँगै घुम्न जानेको केही मात्रमा वृद्धि हुँदै गएको बताउनुभयो । सो ठाउँमा अहिले पछिल्लो समयमा नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर, घण्टा राख्ने, रामायण भजन गर्ने भवन, पक्की शौचालय भवन बनिसकेको र अब उद्यान निर्माण हुने तयारीमा रहेको उहाँले बताउनुभयो ।

यसअघि भएको संरचनाको निर्माण गर्दा बाटोको सुविधा नभएको कारण अरनिको राजमार्गदेखि बोकेर त्यहाँ भएको संरचना निर्माण गरेकामा अहिले धुलिखेल–रविओपी–बाँशिभञ्ज्याङ हुँदै नगरकोट मार्गअन्तर्गत गोसाइँस्थान मन्दिर नजिकै भएर पक्की सडक निर्माणको कार्य अगाडि बढेपछि थप संरचना निर्माणका लागि र मन्दिर दर्शन गर्न तथा घुम्नका लागि पुग्ने पर्यटकलाई निकै सहज भएको उहाँले बताउनुभयो ।


गोसाइँस्थान मन्दिर संरक्षण समितिका अध्यक्ष भेषराज शाहले पछिल्लो दुई वर्षयता मात्रै करिब रु ८० लाख बराबरका भौतिक संरचना निर्माण गरिसकेकाले गोसाइँस्थान मन्दिर परिसरको मुहार फेर्दै गएको बताउनुभयो ।

रसुवाको गोसाइँकुण्डसँग यसको महत्व जोडिएका कारण पनि यसलाई धार्मिक दृष्टिकोणले महत्वपूर्ण रुपमा लिएको पाइन्छ । सो क्षेत्रमा नेवार समुदायले अन्तपात चढाउने, ब्राम्हण समुदायले जनै लगाउने र डोरो बान्ने तथा तामाङ समुदायको झाँक्रीले ढ्याङ्ग्रो बजाएर नाच्ने गरेर वर्षको एक पटक भव्य मेला लाग्ने गरेको पवित्र ठाउँ भएका कारण यस ठाउँलाई थप विकास गर्ने चरणमा लागिरहेको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा गोसाइँस्थान मन्दिर परिसरबाहेक नैमिषारण्य संस्कृत गुरुकूल, दृश्यावलोकन स्तम्भ, शहीद स्मारक र चण्डेश्वरी मन्दिर यसको वरिपरी रहेका छन् । यसरी वरिपरी अन्य महत्वपूर्ण धार्मिक आस्थाका केन्द्रले घेरिएको सुन्दर रमणीय ठाउँ भए पनि यहाँको प्रचारप्रसारमा कमि भएको कारण पछाडी परेको स्थानीय बासिन्दा बताउँछन् ।