• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता

चितवनमा रगतको अभावपछि काठमाडौँ र पोखराबाट ल्याइँदै



चितवन । जिल्लामा रगतको अभावपछि आज काठमाडौँ र पोखराबाट ल्याइँदैछ । पोखराबाट ४०० र काठमाडौँबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घसंस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् ।

यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो । रगत लिनका लागि गाडी पठाइएको उहाँले जानकारी दिनुभयो । साँझसम्ममा पोखराबाट ल्याउने रगत आइपुग्नेछ ।

त्यस्तै बिहीबार यहाँको चितवन मेडिकल कलेजमा एकजना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ । त्यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौँबाट ४५ युनिट रगत ल्याइँदैछ । एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो ।

काठमाडौँबाट जहाजमार्फत रगत ल्याउन लागिएको पौडेलले जानकारी दिनुभयो । रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ । केन्द्रले बोलाएपछि रगत दिनेहरु तीन हजार हाराहारी रक्तदाता रहेको पौडेलको भनाइ छ ।

जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ । रक्तक्यान्सर भएका एउटै बिरामीलाई ४०० युनिटसम्म रगत दिएको कार्यालयमा तथ्याङ्क रहेको पौडेलले बताउनुभयो । यहाँको आधा रगत क्यान्सरका बिरामीका लागि जाने गर्दछ ।

क्यान्सरका अतिरिक्त यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ । मेडिकल कलेजहरुमा अङ्ग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ । राजधानी काठमाडौँपछि धेरै प्रसूति भरतपुरमा हुने गर्दछन् । दुर्घटनाका बिरामीको सङ्ख्या पनि यहाँका अस्पतालहरुमा धेरै हुने गर्दछ । प्रसूति र दुर्घटनाका घाइतेहरुलाई पनि रगतको माग बढी हुने गर्दछ ।