५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ कालिका मन्दिरको अम्दानी साढे दुई करोड



फाईल फोटो
अ+ अ-

बलेवा । बागलुङ कालिका भगवती गुठीले एक वर्षमा रु दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो ।

माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो । अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अङ्कको आयव्याय भएको सार्वजनिक गरेको हो । खर्चतर्फ तलबका लागि रु १८ लाख ९१ हजार र बिजुली महसुल रु एक लाख १४ हजार खर्च भएको उल्लेख छ ।

हाल निर्माण सम्पन्न भएको सत्तलका लागि रु ६२ लाख ६५ हजार र पूजा खर्चतर्फ रु दुई लाख ९३ हजार देखाइएको छ । कर्मचारीको पोशाकका लागि रु तीन लाख ५९ हजार ६५०, मेसिनरी तथा उपकरण खरिद शीर्षकमा रु १२ लाख ४६ हजार खर्च गरेको देखिएको हो । खाद्यान्न तथा आवासतर्फ रु दुई लाख ४१ हजार, दैनिक भ्रमण भत्ता शीर्षकमा रु एक लाख ९६ हजार, सामान खरिदमा रु तीन लाख चार हजार र चैत्रास्टमी मेलाका लागि रु १८ लाख खर्च भएको हो ।

आम्दानीतर्फ भक्तजनले चढाएको चामलबाट रु दुई लाख ७९ हजार, बोकाको टाउको बिक्री रु सात लाख ३४ हजार, कुखुराको रु ८० हजार, राँगाको रु १७ हजार आम्दानी भएको हो । भाडामा दिएको सटरबाट रु १७ लाख ४७ हजार, आर्थिक सहयोगमार्फत रु १० लाख ७६ हजार कमाइ भएको देखिएको हो ।

आम्दानी र खर्चमध्ये बैंकमा रु ७८ लाख ९४ हजार र साना नगदी कोषमा रु आठ हजार ९०० रहेको देखिएको छ । उहाँले आजदेखि नै कालिका भगवती मन्दिरको गेट रातको समयमा बन्द गर्ने निर्णय गरेको सुनाउनुभयो । “अनधिकृत मानिस प्रवेश गर्ने, सुरक्षामा चुनौती” भएको र मन्दिरमा अन्य घटना पनि हुनसक्ने भन्दै गेट बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै हाल सवारीसाधन पार्किङ गरिरहेको स्थान मानव सेवा आश्रमको जिम्मामा दिने निर्णय गरेको छ । उक्त स्थानमा उठ्ने सवारी शुल्क आश्रमले व्यवस्थापन गरेर आम्दानीको रूपमा लैजान पाउने भएको हो । यहाँ शुल्क उठाउँदा बढी लिएको वा अन्य समस्या आएको भन्दै उजुरी आएपछि सेवामूलक काममा खर्चर्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

गुठीले मन्दिर परिसरभित्र रहेका पुराना जीर्ण संरचनालाई पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर सुविधासम्पन्न विद्याश्रम र धर्मशाला बनाउने, ऐतिहासिक धार्मिक सङ्ग्राहलय बनाउने योजना अगाडि सारेको छ । मन्दिर परिसरमा अखण्ड धुनी निर्माण गर्ने, काठबाट निर्मित हवन कुण्ड बनाउने, भक्तजनलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्ने, महिलामैत्री, फरक क्षमता भएका व्यक्तिको सहज हुने शौचालय बनाउने रणनीतिक योजना बनाइएको छ ।

नियमित भजनकीर्तनलाई निरन्तरता दिने, वेबसाइट निर्माण, भक्तजनको रेकर्ड सुरक्षित गर्न सकिने मेसिन जडान गर्ने, जङ्गली जनावरको संरक्षण गर्ने, गरिब जेहेन्दार, अनाथ र असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ । गुठीले सामाजिक एवं मानवीय हितका लागि कालिका भगवतीको नामअङ्कित गरेर एम्बुलेन्स, शववाहन तथा दमकलको व्यवस्थापन गर्ने लक्ष्यसमेत रणनीतिक योजनामा समावेश छ । यसअघिको समितिले बनाएको गन्तव्य कालिका अभियानलाई निरन्तरता दिएर बढीभन्दा बढी भक्तजन भित्र्याउनेसमेत लक्ष्य राखिएको छ ।